आत्मलापको प्रयोगबाट सरलकुमारद्घारा भोगिएको र देखिएको त्रासदपूर्ण साठी दिनको सन्त्रास निक्कै सकसको अवस्थामा ल्याएर पाठकलाई बाँधिराख्न सफल भएको छ।
‘सन्त्रास एउटा यस्तो भय हो, जसभित्र परेपछि मान्छेको बाँच्नु कठिनतर हुन जान्छ। मस्तिष्क सुन्न भएर रहन्छ। दैनिक भोगाइमा बाधा उत्पन्न हुन पुग्छ।’ प्रस्तुत वाक्यांशलाई सहजीकरण गर्दा यी कुरा पहिला त्रासबोध हुन आउँछन्, अनि समयको त्यस्तो अदृश्य भयलाई थाहा नपाइकनै अनुभूत गर्न पुग्छौं।
प्रस्तुत उपन्यासले बडो रोचक तरिकाले एक सीधा र सरल पात्र सरलकुमारको मानसिक ट्रमा अर्थात् अभिघातको पीडाजन्य स्थितिलाई चित्रण गरेको छ। उपन्यासमा चित्रित सन्त्रासका साठी दिन भए पनि पढ्दै जाँदा एउटा युग नै बिते झैं लाग्छ। यसका नायक पात्र न त राम्ररी निदाउन सकेको छ, न त उसले सोचेजस्तै गरेर पढ्न सक्छ, न आफूलाई आफू अनुकूल शान्त नै राख्न सक्छ। यहाँ पात्र मात्र होइन, उपन्यास पठन गर्दै जाँदा पाठक पनि त्यही बोध गर्न थाल्छ अर्थात् उपन्यासको मुख्य पात्र कति बेला आफूभित्र साधारणीकरण हुन पुगेको थाहै लाग्दैन, मानौं पठन गरिरहेका पाठक नै त्यो मुख्य पात्र सरलकुमार हो। यो अनुभूति उपन्यासकारको निजात्मक लेखकीय शक्ति र विशेष गुण हो।
एक निर्दोष व्यक्ति कसरी परिबन्दमा पर्दो रहेछ र समयको बन्दी बन्दो रहेछ भनेर उसले भोगेको त्यो साठी दिनको ट्रमाले पाठकको हृदयलाई समेत उकुसमुकुस बनाउने गरी स्थिति भोगेको चित्र आँखावरिपरि बिम्बित हुन्छ। निर्दोष सर्वसाधारणले जीवन बाँच्नलाई गर्नु परेको संघर्षमा सधैं आफूलाई एक्लो, असुरक्षित र त्रसित महसुस गर्छन्। वास्तवमा यस उपन्यासभित्रको मुख्यपात्र सरलकुमार त्यही सर्वसाधारण मान्छे हो, जो जीवन बाँच्नलाई सधैं संघर्ष गरिरहेको छ। उसको सरलपनाको फाइदा उठाएर उनका आफ्नै भन्ने निकट र साथीभाइले नै उसलाई त्रासदपूर्ण अवस्थामा पु¥याउँछन् र एक्लो अनि निरीहताको स्थितिमा ऊ आफूलाई एकदम सकसको तरंगमा मर्नु र बाँच्नुको दोसाँधमा आत्महत्याको सोचमा समेत पुग्न बाध्य हुन्छ, तर परिवारप्रतिको दायित्वले समालिन्छ।
हाल सबैलाई तरंगित पारिरहेको सहकारी संस्थाहरूका घटनाहरूले सर्वसाधारणको घरदेखि सदन र सरकारसम्मलाई हल्लाइरहेका छन्। सामान्य चिया बेच्ने, मकै पोलेर बेच्ने र खुद्रा पसलेहरूले दुःखजिलो गरेर कमाएको थोरै बचतसमेत यस सहकारी ठगीको चुंगलमा परेर समस्यामा छन्। उनीहरू आफूले दुःख गरेर खाइनखाई आफ्नो र आफ्ना सन्तानको भविष्यका लागि भनेर सञ्चित गरेको रकम सहकारी ठगीका कारणले यी सामान्य बचतकर्ताहरू ठूलो मारमा परेको सर्वविदितै छ। यस्ता खाले दारुणिक अवस्था घरघरमा छ। यस्ता खाले सहकारी ठगीका कारण थुप्रै नागरिक घरबारविहीन अवस्थामा समेत पुगेका छन्। वास्तवमा यस उपन्यास पढ्नुअघि यसरी कहिल्यै पनि सोचिएको थिइएन। सहकारीको वास्तविक पीडित भनेको त बचतकर्ता मात्र होलान् जस्तो बुझिरहेका हामीजस्ता पाठकका लागि वास्तवमै सहकारीभित्रको पनि भित्री कुराहरू बुझ्न निक्कै उपयोगी छ यो।
कतिपय भन्न खोजिएका कथालाई फरक शिल्प, शैली र ढाँचाहरूमा प्रस्तुत गरिएको छ। यसले यो उपन्यास प्रयोगधर्मी उपन्यास हो। ‘नीरव’को कथा प्रस्तुत गर्ने शैली पृथक् छ। उनी नितनवीन ढंगमा आख्यान सिर्जना गर्ने एक सशक्त सर्जक हुन्। उनको यो नवीन शैली यस उपन्यासमा पनि प्रचुर मात्रामा देख्न सकिन्छ। उनी थोरै शब्दमा बृहत् अर्थहरू पस्कन पोख्त छन्, जुन उनको सुन्दर लेखन पक्ष हो। यस समय जहाँ मानिसहरूको धैर्य गुम्दै गएको छ– पहिले घण्टौंघण्टा एक ठाउँमा बसेर तीन–चार घण्टाको सिनेमा हेर्ने कुरा घटेर अहिले एक मिनेटका क्लिपहरू हेर्ने समयमा यस्ता थोरै शब्द, बिम्ब र प्रतीकद्वारा धेरै भाव, कुराहरू प्रस्तुत गर्न सक्नु पनि उपन्यासकारको खुबी हो।
उपन्यासकारले सहकारी प्रकरणको पृष्ठभूमिमा यस्ता निर्दोष, सोझासाझा, सीधा मान्छेहरूको चित्रण गरेका छन्, जुन प्रतीकका रूपमा चित्रित छ। कसरी अपचलन गर्नेहरूले हिनामिना गरे र त्यसमा निर्दोष भएर पनि कसरी इमानदार मानिस पनि पीडित हुन बाध्य भएका छन्, यसबारेमा उपन्यासकारको कलम सशक्त ढंगले चलेको छ। त्यतिमात्र होइन, कसरी निर्दोष व्यक्ति साठी दिनको त्रासमा दिन बिताउन बाध्य हुन पुगेको छ भनेर उसको प्रत्येक दिनको मनोभावलाई कथाकृत गर्दा उपन्यासकारको आख्यानलेखन उल्लेखनीय रूपमा विन्यास भएको छ। केही नगर्दा पनि दोषको भागीदार भएर भागीभागी हिँड्न परेको पात्रको कथा छ यसमा। परिवारसँग टाढा बसेर तड्पिनु परेको पात्रको व्यथा छ यसमा। यी सबै घटनालाई बिम्बित गर्दा उपन्यासकारले कहिले विगतको स्मृतिलाई बिम्बित गरेर कथाभूमिलाई मलिलो पार्न पुगेका छन् त कहिले आगतका घटनालाई चित्रित गर्दा कविता जस्तै शब्दले संकेत गरेका छन् भने कहिले दैनिकीजस्तै भाव प्रकट गरे ० देखि सुरु भएर ६० दिनसम्मको ट्रमा भनौं या अभिघात, प्यानिक भनौं या सन्त्रास– यी सबैलाई यसरी प्रस्तुत गरेका छन् कि पठन गर्दै जाँदा पाठकसमेत पनि यसै ट्रमाभित्र उकुसमुकुस महसुस गर्छन्।
सरल तरिकाले बडो गहन विषयको उठान भएको यस उपन्यासले समग्रमा कानुनकर्ता वा कानुन–व्यवस्थामाथि नै प्रश्न उठाएको छ। वास्तवमा निर्दोष व्यक्तिले आफू निर्दोष हुनुको प्रमाण वा भनौं सत्य हुनुको प्रमाण असत्यहरूको भिडमा कतिसम्मको दुरुह कुरा हुन जान्छ, यस उपन्यासले उठान गरेको मुख्य विषय यही हो। उपन्यासमा पात्रले भोगेको नियतिलाई प्रतीकीकरण गरिनुका साथै तत्समयको राजनीतिक अवस्था र सांस्कृतिक चेतनालाई सूक्ष्म रूपमा उजागर गरिएको छ, जस्तो उपन्यासमा अन्त्यतिर बिम्बीकरण गरेको एक दृश्य छ– शिव ताण्डव, यहाँ उपन्यासकारले शिव ताण्डवको स्त्रोत आफैंले निर्माण गरेको हुनाले कथादृश्य अझ रोचक बनेको छ, त्यो पनि कसरी भने कुनै निर्दोषमाथि जब अन्याय हुन्छ, तब शिवको ताण्डव प्रकोपित भएको हाम्रो कथा–परम्परालाई उनले साधारणीकरण गरे जुन स्वाभाविक र सहज लाग्छ।
यसबाट के स्पष्ट हुन्छ भने निराशाले फतक्क गलेको बेला पनि आफूमाथि विश्वास भयो भने आफैंलाई पनि जित्न सकिन्छ, जहाँ सारा निराशा र त्रास हटेर आशा जगाइन्छ र सुनौलो भविष्यको मार्ग कोर्न सकिन्छ भन्ने आशय यहाँ थाहा लाग्छ। भाषाशैलीका हिसाबले यो उपन्यास बडो कलात्मक छ। यस्तो गुण उपन्यासकारले भर्बल आटर््स अर्थात् भाषिक कलाको रूपमा भरपूर प्रयोग गरेका छन्। थोरै शब्दहरूको कलात्मक प्रस्तुति जस्तै– कतै कवितात्मक, कतै स्वतन्त्र अप्रत्यक्ष कथन शैली, कतै सांस्कृतिक चेतना, कतैकतै अनौपचारिक लेखन शैलीको प्रयोग गरेर भाषिक कलाद्वारा उपन्यासकारले उपन्यासलाई सुन्दर बनाएका छन्।
उपन्यास एक प्रकारको आत्मलापको प्रयोगबाट सरलकुमारद्वारा भोगिएको र देखिएको त्रासदपूर्ण साठी दिनको सन्त्रास निक्कै सकसको अवस्थामा ल्याएर पाठकलाई बाँधिराख्न सफल भएको छ। नवीन ढाँचा र लेखनशैली प्रयोग गरेर उपन्यासकारले आफ्नो लेखनलाई सबल र सफल बनाएका छन्। यसरी सरल रूपमा नवीन प्रयोगपरक शैलीमा पात्र सरलकुमारद्वारा अभिव्यक्त गरिएको गहन प्रस्तुतिले उपन्यासलाई एउटा गहकिलो दस्तावेज बनाइदिएको छ।