त्रिशूलीको खोंचमा युवकको शव फेला
नुवाकोट : नुवाकोटको तारुकाघाटका युवकको शव त्रिशूली नदी किनारामा फेला परेको छ। घरबाट हराइरहेका स्थानीय युवकको शव तीन दिनपछि शंकास्पद रुपमा फेला परेको हो।
तारकेश्वर गाउँपालिका-२ तारुकाघाटका ४० वर्षीय चन्द्रमान चित्रकारको शव तारकेश्वर-४ ढोंडवेसीस्थित त्रिशूली नदीको किनारा खोंचमा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। असार ४ गतेदेखि हराइरहेका चित्रकारको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए।
उनका अनुसार चित्रकारको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ।