एक महिना अगाडि बनेको थियो क्याम्पस प्रमुख कुशवाहाको हत्या योजना
![एक महिना अगाडि बनेको थियो क्याम्पस प्रमुख कुशवाहाको हत्या योजना](https://annapurnapost.prixacdn.net/media/albums/hari_bhusan_kushwaha_7wUsBdVuam_NiyB4g0yh1.jpg)
सिमरा : बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या योजना एक महिनाअघि नै बनेको अुनसन्धानबाट खुलेको छ। जेठ ३२ गते भएको हत्या प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिबाट सो कुरा खुलेको हो।
आदर्श कोतवाल गाँउपालिका-३ बतरा टोलमा भएको उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकामध्ये पाँच जना क्याम्पस प्रमुख कुशवाहाकै गाउँ खजुरियाका छन् भने अन्य दुई जना कलैया र करैयामाईका छन्।
प्रहरीले अहिलेसम्म आदर्शकोतवाल २ खजुरियाका ३२ वर्षीय अवधलाप्रसाद कुशवाहा, २९ वर्षीय चांदसीप्रसाद कुशवाहा, ३४ वर्षीय राधेसकुमार पटेल, ५४ वर्षीय विनोद राउत कुर्मी, बतराका २७ वर्षीय श्रवणकुमार साह, कलैया उपमहानगरपालिका-१० मटिअर्वाका ५० वर्षीय ब्रम्हदेव राम र करैयामाई गाउँपालिका ७ पिपरा टोलका ५० वर्षीय मोतिलाल चौधरीलाई पक्राउ गरिसकेको छ। घटनामा संलग्न अन्य केही व्यक्ति अझै फरार रहेको र छिट्टै पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
प्रवक्ता न्यौपानेका अनुसार हालसम्मको अनुसन्धानका क्रममा घटनाको कारण घरायसी विवाद देखिएको छ। पक्राउ परेका व्यक्तिबाट घटनाको वास्तविक कारण र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गर्ने काम भइरहेको न्यौपानेले बताए। ‘हालसम्मको अनुसन्धानले घरायसी विवाद देखाएको छ। थप तथ्यका लागि हामी अनुसन्धान गर्दैछौं,’ न्यौपानेले भने, ‘तर केही समयदेखि योजना बनाएर हत्या गरेको देखियो।’
अनुसन्धानका क्रममा हतियार तथा सुटर व्यवस्थापन गर्ने, रेकी गर्ने, सुटरलाई भगाउने, मोटसाइकलको व्यवस्थापन गर्नका लागि चरणबद्धरूपमा समूहमा छलफल भएको समेत खुलेको प्रवक्ता न्यौपानेको भनाइ छ। अनुसन्धानबाट पत्ता लाग्ने गरी प्रमाण नछोड्ने हिसाबले योजना बनाएको भए पनि प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्ने काममा सफलता प्राप्त गरेको न्यौपानेले बताए।
‘अनुसन्धानबाट घटनामा संलग्न व्यक्तिको पहिचान नै नखुल्ने गरी योजना बनाउने प्रयास गरिएको थियो,’ न्यौपानेले भने, ‘तर अपराधीले अपराध गर्दा केही प्रमाण भने छोडेका हुन्छन्। त्यही प्रमाणबाट संलग्न व्यक्तिको पहिचान हुने काम भइरहेको छ।’
प्रहरीले हालसम्म तीन वटा मोटरसाइकल, ६ राउण्ड गोली, मोबाइल, ल्यापटप, नेपाली तथा भारतीय सिम बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)