गुल्मीका स्थानीय तहको बजेट छ अर्ब ७२ करोड
![गुल्मीका स्थानीय तहको बजेट छ अर्ब ७२ करोड](https://annapurnapost.prixacdn.net/media/albums/gulmi-budget_zLPci2Vz3L_3dJwioGa5n.jpg)
गुल्मी : आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि गुल्मीका स्थानीय तहले छ अर्ब बढीको अनुमानित बजेट ल्याएका छन्। जिल्लाका १२ वटै स्थानीय तहले कूल छ अर्ब ७२ करोड ५४ लाख ५७ हजार ६८२ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन्।
कृषि र पशुपंक्षी विकास, सहकारी, रोजगार, उद्योग तथा वाणिज्य, पर्यटन, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या, खानेपानी तथा सरसफाई, स्थानीय भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा आगामी वर्षको बजेट ल्याएका छन्। आगामी वर्षका लागि सबैभन्दा बढी बजेट रेसुङ्गा नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम इस्मा गाउँपालिकाले ल्याएको छ।
जिल्लाको रेसुंगा नगरपालिकाको १५ औं नगरसभाको दोस्रो बैठकमा नगरप्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्षका लागि ७८ करोड ३५ लाख ५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। जस अन्तर्गत चालु बजेट तर्फ ५६ करोड २० लाख ७८ हजार रहेको छ। पुँजीगत तर्फ २२ करोड १४ लाख २७ हजार रुपैयाँ रहेको छ। नगरपालिकाले स्वास्थ्य, शिक्षा र पर्यटनका क्षेत्रमा आमूल परिवर्तन ल्याउने नीति तथा कार्यक्रमकै आधारमा बजेट बाँडफाँडमा प्राथमिकता दिइएको छ। ‘गुल्मी अस्पताल मेरो अस्पताल’ भन्ने नाराको मुर्तरुप, तम्घास बजार उज्यालो सहरका रूपमा विकसित, हरियाली सहर र जनता केन्द्रित स्थानीय सरकार लगायतका कार्यक्रमहरूलाई अगाडि सारेको छ।
मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठले कूल ६९ करोड ६० लाख ९७ हजार ४५२ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन्। उपप्रमुख श्रेष्ठले जस अन्र्तगत चालु तर्फ ४७ करोड ७५ लाख ५८ हजार ४५२ र पुँजीगत तर्फ २१ करोड ८५ लाख ३९ हजार रुपियाँको बजेट नगरसभामा प्रस्तुत गरेकी छन्। आगामी वर्षको नीति तथा कार्यक्रमर्मा ‘कफि लगाऔं,आम्दानी बढाऔं, आफ्नै गाउँ फर्की आऊ,मेरो स्वास्थ्य मेरो जिम्मेवारी,निरन्तर रोजगारी,निरन्तर मर्मत तथा सुधार, वेरोजगारीलाई निकास,आफ्नै ठाउँको विकास, एक वडा एक लिडर विद्यालय,आधाभूत औषधी उपचार पाउने जनताको आधार, बस्ती बस्तीमा डाक्टरी सेवा,घरघरमा स्वास्थ्य स्याहार,विपत् र गरिबीमा हाम्रो नगरको भर, आवास क्षेत्र शैचालय सुधार घर नभएकालाई घर जस्ता नयाँ कार्यक्रम मुसिकोटले अगाडी सारेको छ।
मालिका गाउँपालिकाको १६ औं गाउँसभाको तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले आगामी वर्षको लागि ५५ करोड बढीको बजेट प्रस्तुत गरेका थिए। गाउँपालिकाले कुल ५५ करोड ९२ लाख ५४ हजार रुपैयाँ बजेट ल्याएको छ। चालुतर्फ ३४ करोड ४५ लाख ४२ हजार र पुँजीगत तर्फ २१ करोड ४७ लाख १२ हजार रुपैयाँ ल्याएको छ। मालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा वनमाराको झारबाट ब्रिकेट कोइला उत्पादनको नीतिलाई जोड दिएको छ। गाउँपालिका अध्यक्ष देविराम अर्यालले १९४ बुँदामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि,पर्यटन,रोजगारी,खानेपानी र शिक्षालाई प्राथमिकता दिएको छ।
मदाने गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ३८ लाख ९२ हजार रुपैयाँको अनुमानित बजेट सार्वजानिक गरेको छ। गाउँपालिका उपाध्यक्ष सरिता खड्का केसीले गाउँसभा १५ औं अधिवेशनको दास्रो बैठकमा प्रस्तुत गरेको बजेटले कृषि, पर्यटन , स्वास्थ्य, शिक्षा, र पूर्वाधार विकासलाई जोड दिइएको बताइन्। मदानेले चालु बजेटतर्फ ३० करोड २१ लाख ३५ हजार २ सय पुजिँगत तर्फ २० करोड १७ लाख ५६ हजार ८ सय बिनियोजन गरेको छ।
इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले आगामी आर्थिक वर्षका लागि ४५ करोड ५० लाखको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्। शिक्षक बैंक स्थापना, पढ्दै कमाउँदै कार्यक्रम, विद्यार्थीसँग गाउँपालिका,माध्यमिक तहको वेबसाइट निर्माण, बाँझो जग्गामा खेती गर्नेलाई अनुदान लगायतका कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए।
चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी कुल ५० करोड ३४ लाख १० हजार ३४२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १५ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले चालु खर्च तर्फ ३१ करोड ४१ लाख ७८ हजार ३९४ रुपैयाँ (६२.४१ प्रतिशत) र पुँजीगत बजेटतर्फ १८ करोड ९२ लाख ३१ हजार ९४७ रुपैयाँ (३७.५९ प्रतिशत) बजेट सभामा पेश गरेका थिए।
गाउँपालिकाले पर्यटन, कृषि, रोजगार, शिक्षा,स्वास्थ्य, स्थानीय उत्पादन प्रवर्द्धनमा गर्न आफ्नै उत्पादन खाऊँ, चन्द्रकोट मै रमाउँ लगायतका विशेष कार्यक्रमहरू ल्याएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए।
सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८५ लाख ८ हजार पाँच सय रुपैयाँ गाउँपालिकाको १५ औं अधिवेशनको पहिलो बैठकमा पेस गरेकी हुन्। उनले गाउँपालिकाले आगामी वर्ष शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि गर्न मेरो विद्यालय,मेरो दायित्व विद्यालयका लागि मेरो भूमिका, शैक्षिक कोष स्थापना,पालिकाभित्रका विद्यालयमा गूड फ्राईडे पर्यटन तर्फ पर्यटन पर्वद्धन गरौं,एकपटक सत्यवती र भार्से पुगौं,प्रत्येक शुक्रबार विद्यालयमा गुड फ्राइडे,समृद्धि सत्यवती,मरो एकदिनको लगानी कोष स्थापना लगायतका कार्यक्रमलाई आगामी वर्ष जोड दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १६ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मीनादेवी ज्ञवालीले आगामी आर्थिक वर्षका लागि कूल ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत भएको बजेटले भौतिक पूर्वाधार, कृषि, शिक्षा, खानेपानी, पर्यटन, विपद् व्यवस्थापन र स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेका छन्।
धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरीले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट गाउँसभामा पेस गरेकी हुन्। गाउँसभाको १५ औ अधिवेशनको तेस्रो बैठकमा उपाध्यक्ष गिरीले आगामी आर्थिक वर्षका लागि कूल ५६ करोड २५ लाख ९० हजार ८९२ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन्। वार्षिक बजेटसँगै धुर्कोट गाउँपालिकाको विनियोजन विधेयक २०८१ र आर्थिक विधेयक २०८१ समेत सभामा प्रस्तुत भएको थियो ।
कालिगण्डकी गाउँपालिकाले ५४ करोड ९ लाख ९७ हजार कुल बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १५ औं अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष मन्जुकुमारी दर्लामीले चालुतर्फ ३८ करोड ६६ लाख ९४ हजार र पुँजीगत तर्फ १५ करोड ४३ लाख तीन हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन्।
त्यस्तै छत्रकोट गाउँपालिकाले ५५ करोड ३६ लाख ८७ हजार ५ सय २३ रुपैयाँ बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८ औं अधिवेशको दोस्रो वैठकबाट उपाध्यक्ष सावित्रा ज्ञवालीले चालुतर्फ ३६ करोड ९९ लाख ६२ हजार पाँच सय २३ रुपैयाँ पुँजीगत तर्फ १८ करोड ३७ लाख २५ हजार प्रस्तुत गरेकी हुन्।
गुल्मीदरबार गाउँपालिकाले ४५ करोड ९३ लाख ८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ३४ करोड १५ लाख आठ हजार र पुँजीगततर्फ ११ करोड ७८ लाख बजेट प्रस्तुत गरेकी हुन्। गाउँपालिकाले खानेपानी तथा सरसफाइ, विपद् व्यवस्थापन, क्रमागत आयोजनाहरूको निर्माण कार्यलाई निरन्तरता, रोजगारी सिर्जना, पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षका नीति ल्याएको छ। आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरी १२ वटै स्थानीय तहले १० असारमा अनुमानित बजेट सार्वजनिक गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)