एमाले र कांग्रेस मिलेपछि माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
![एमाले र कांग्रेस मिलेपछि माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक](https://annapurnapost.prixacdn.net/media/albums/prachanda-avibadan_cLmHzhRpvt_sMo2bznorC.jpg)
काठमाडौं : नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। विकसित राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्।
पदाधिकारी बैठकमा एमालेले समर्थन फिर्ता लिने भएपछि राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा नै छलफल हुने एक नेताले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। राजिनामा नदिएको खण्डमा भने सरकार गठनको प्रक्रिया लम्बिने भएको छ।
संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो। स्रोतका अनुसार एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको र नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढेको जानकारी गराइसकेका छन्।
दुई दलको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि आगामी निर्वाचनसम्म देउवाले नेतृत्वमा सरकार बन्ने छ। हाल ओली सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय सम्हाल्ने छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)