अन्धविश्वासमा पर्दा आफन्तले नै ८ लाख 'सुपारी' दिएर गराए दुई जनाको हत्या

अन्धविश्वासमा पर्दा आफन्तले नै ८ लाख 'सुपारी' दिएर गराए दुई जनाको हत्या

वीरगन्ज : नेपाल-भारत सीमाको दशगजामा २३ दिन पहिले मृत अवस्थामा भेटिएका दुई व्याक्तिको हत्या अन्धविश्वासमा परेर आफन्तले नै गरेको खुलेको छ। 

नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा पर्ने पर्साको जगरनाथपुर गाँउपालिका-१ स्थित ओरिया खोलामा गाडिएको अवस्थामा गत जेठ २९ गते बाराको कलैया उपमहानगरपालिका-६ का ६० वर्षीय रामएकबाल पडित कुम्हार र बाराकै आदर्शकोतवाल गाउँपालिका-७ घर भई हाल कलैयामा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको थियो। सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्तीका क्रममा दुवै शव फेला परेका थिए। मृतकमध्ये दुवै जना झारफुक गर्ने धामीझाँक्रीको काम गर्ने व्याक्ति थिए। 

उनीहरूको हत्यामा संलग्नमध्येका तीन जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। हत्यामा संलग्नमध्येका मृतक रामएकबालका भतिज बाराको कलैया-५ का ३३ वर्षीय लक्ष्मण प्रजापति कुम्हार, ज्वाँई पर्साको जगरनाथपुर-५ का ३२ वर्षीय सन्तोष कुम्हार र जगरनाथपुर-५ कै महादेव महत्तो नुनियालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेका तीनै जना हत्याको मुख्य योजनाकार रहेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। 

हत्या किन र कसरी गरियो? 
मृतकमध्येका रामएकबालले गाँउघरमा झारफुक गर्ने धामी झाँक्रीको काम गर्दै आएका थिए। उनको औषधि पसल पनि थियो। त्यस्तै अर्का मृतक सुरेशले पनि झारफुक गर्ने धामी झाँक्रीको काम गर्दै आएका थिए। रामएकबाल र उनका भतिज लक्ष्मणबीच जग्गाको विवाद पनि अदालतमा चल्दै आएको छ।

झारफुक गरेर धामी झाँक्रीको काम गर्दै आएका रामएकबालले तन्त्रमन्त्र गरेर आफ्नो घरपरिवारमा हानी पुर्‍याएको रिसमा उनका भतिज लक्ष्मण र जवाँइ स्न्तोष दुवैले मिलेर रामएकबालको हत्याको योजना बनाएका थिए। त्यही योजनाअनुसार दुवै जनाले एक जनाको झारफुक गर्नुछ भनेर रामएकबाल र सुरेशलाई पर्साको जगरनाथपुर गाँउपालिका-१ बिसुनपूर्वास्थित ओरिया खोलामा जेठ २५ गते राति बोलाएका थिए। त्यही दिन साँझ बाराको कलैयाबाट बस चढेर वीरगन्जको पावरहाउस चोक आइपुगेका रामएकबाल र सुरेश त्यहाँबाट गाडी चढेर पर्साको विन्दबासीनी चोक पुगेका थिए। विन्दबासीनी चोकबाट ती दुवै जनालाई एक जना व्याक्ति (हत्यामा संलग्न)ले आफ्नो मोटरसाइकलमा राखेर बिसुनपूर्वास्थित ओरिखोला (घटनास्थल)मा राति पुर्‍याएका थिए। ओरिया खोलाको दशगजा क्षेत्रमा राति पुगेकै बेला त्यहाँ लक्ष्मण र सन्तोषले हत्या गर्नका लागि ८ लाख रुपैयाँ (सुपारी) दिएर खटाएका व्याक्तिहरूले गम्छाले दुवै जनाको घाटीमा बेरेर घाँटी थिचेर हत्या गरेको र शव बालुवामा गाडेर फरार भएका थिए। 

हत्यामा अहिले पक्राउ परेका तीन जना योजनाकार रहेको भन्दै प्रहरी नायब उपरीक्षक भारतीले भने, ‘आठ लाख रुपैयाँ सुपारी लिएर हत्या गर्ने मान्छेहरू अरु नै छन्। उनीहरूको पहिचान भइसकेको छ। घर छाडेर फरार रहेकाले उनीहरू अहिलेसम्म पक्राउ परिसकेका छैनन्। प्रहरीले उनीहरूरुको खोजी गरिरहेको छ।’

हालः पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.