जसले शरीरभित्र निलेर ल्याए ४ करोड ३७ लाख बराबरको कोकिन

काठमाडौं : तान्जानियाका ४६ वर्षीय रामाधानी सिम्वा म्बाम्बा र ५२ वर्षीय ट्वालीब क्पिभु पशुवा १२४७ ग्राम कोकिनसहित पक्राउ परेका छन्। तान्जानीयामा सामान्य खेतिकिसानी गर्ने उनीहरू पाँच सय डलरको प्रलोभनमा शरीरभित्र कोकिन निलेरै नेपाल आउन राजी भए।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई ठमेलको एक होटलबाट नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीहरू असार ९ गते कतार एयरलाइन्सको उडानबाट नेपाल आएका थिए। तान्जानियाबाट इथियोपिया, कतार हुँदै उनीहरू कोकिन बोकेर नेपाल आए।
कार्की भन्छन्, 'उनीहरूको यात्रा विवरण हेरेर निगरानी गर्ने क्रममा ब्युरोको टोलीले तान्जानियाका नागरिकमाथि निगरानी बढाएको थियो। भिजिट भिसामा घुम्न नेपाल आएका उनीहरूको नेपाल बसाइ ३ दिनको मात्रै थियो। उनीहरूले निलेरै शरीरभित्रै कोकिनको क्याप्सुल बोकेकाले प्रहरीले उनीहरूलाई विमानस्थलमा पत्ता लगाउन सकेन। विमानस्थलमा मानिसको शरीरको स्क्यानिङ गर्ने मेसिन छैन।'
प्रहरीका अनुसार उनीहरूले पटक-पटक एक भारतीय नागरिकसँग कुराकानी गरिरहेका थिए। उनीहरूको विवरण केही शंकास्पद लागेपछि प्रहरीले पछ्याउँदै ठमेलको एक होटलमा निगरानी बढाएको थियो।
काठमाडौं-१६ ठमेलमा रहेको एक होटलमा उनीहरूलाई लागुऔेषध कोकिनको ७२ वटा क्याप्सुलसहित पक्राउ गरिएको थियो।
इथियोपियाको एअरपोर्टमा उनीहरूले कोकिन पेटमा निलेका थिए। ठमेलस्थित एक होटलमा पुगेर कोकिन निकालेर होटलमा राखेका थिए। एक किलो दुई सय ४७ ग्राम कोकिनको बजार मूल्य ४ करोड ३७ लाख रुपैयाँ रहेको छ।
ब्युरोका प्रवक्ता कार्कीका अनुसार उनीहरूसँग कोकिन लिन आउने भारतीय नागरिकको पर्खाइमा प्रहरीले थप २ दिन होटलमा नै रेकेर राखेका थिए। प्रहरी निगरानीको सुइको पाएका भारतीय नागरिकले एक जना तान्जानियन नागरिकलाई घर फर्किनु भन्दै टिकट पठाएका थिए। एक जनालाई होटलमा नै बस्नु, २/४ दिनमा सामान लिन आउँछु भन्दै म्यासेज गरेका थिए।
प्लाष्टिक कोटेट कोकिनका क्याप्सुलहरु तान्जानियामा नै बनाइएको र भारतीय ग्राहकसम्म पुर्याउन नेपालको बाटो प्रयोग गरेको प्रहरीको अनुमान छ। नेपाललाई ट्रान्जिटको रूपमा अन्तर्राष्ट्रिय तस्करहरूले पटक-पटक प्रयोग गर्दै आएका छन्। पक्राउ परेको तान्जानिया नागरिकलाई लागुऔषध ऐन, २०३३ बमोजिम आवश्यक कारबाही भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
