नक्कली छोरा बनेर सम्पत्ति हत्याउन खोज्दा...

नक्कली छोरा बनेर सम्पत्ति हत्याउन खोज्दा...
सांकेतिक तस्बिर।

हेटौंडा : दिवंगत महिलाको नक्कली छोरा बनेर किर्ते कागजात बनाइ जग्गा हडप्ने प्रयास गरेको अभियोगमा पक्राउ परेका पूर्णबहादुर ब्लोनलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ। 

न्यायाधीश पूर्णिमा कोइरालाको इजलासले शुक्रबार ४६ वर्षका ब्लोनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतले किर्ते कागज बनाउन सघाउने ५६ वर्षका रामबहादुर न्यासुरलाई समेत पुर्पक्षका लागि थुनामा पठाएको छ। 

बकैया गाउँपालिका–४ निवासी ब्लोनले स्याङ्जाकी उमादेवी गुरुङको नाममा ललितपुर र चितवनमा रहेको केही रोपनी जग्गा र कृषि फर्म उनको नक्कली छोरा बनेर आफ्नो नाममा हत्याउने प्रयास गरेका थिए। त्यस्तै न्यासुरले सो घटनामा ब्लोनलाई सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

स्याङ्जाको मेथाभुरुङमा जन्मिएकी गुरुङको २०७४ भदौ २६ गते नै मृत्यु भएको थियो। गुरुङको मृत्युपश्चात् उनको नाममा रहेको सम्पत्ति हत्याउन गुरुङकै आफन्तसहित गिरोह नै परिचालित भएको खुलेको छ। गिरोहले मकवानपुरको थाहा नगरपालिका–१२, बकैया गाउँपालिका–४, स्याङ्जाको बिरुवा गाउँपालिका–७ बाट ३ पटक नक्कली छोरा बनाएर उमादेवीको मृत्यु दर्ता, नाता प्रमाणितलगायत किर्ते कागजात तयार पारेको भेटिएको छ। त्यस्तै कीर्तिपुर नगरपालिका–१० र भरतपुर महानगरपालिका–१९ बाट पनि झुटो विवरण पेस गरी सिफारिस बनाएको खुलेको छ। 

सम्पत्ति हत्याउन वडाध्यक्षको मिलेमतो 

 

nullवडाध्यक्ष राजन दंगाल

 

उमादेवीको सम्पत्ति हत्याउन परिचालित गिरोहसँग बकैया–४ का वडाध्यक्ष राजन दंगालको पनि मिलेमतो देखिएको छ। वडाध्यक्ष दंगालले १८ मंसिर २०८० मा पूर्णबहादुरलाई उमादेवीको नक्कली छोरा बनाएर मृत्युदर्ता र नाता प्रमाणितलगायतका कागजात तयार पारिदिएका थिए। 

स्थानीय रामबहादुर न्यासुरसहित ५ जनालाई साक्षी राखेर उमादेवी र पूर्णबहादुर (आमा–छोरा) हुन् भनी सर्जमिन मुचुल्का तयार पारी झुटो कागजात तयार पारिएको खुलेको छ। मृतक उमादेवीको सम्पत्ति हत्याउन वडा कार्यालयबाट पटक–पटक सिफारिसका कागजातसमेत तयार पारिएको छ। 

सम्बन्धित मालपोत कार्यालयबाट सम्पत्ति नामसारीको प्रक्रिया अघि बढाउँदै गर्दा घटना बाहिरिएपछि वडाध्यक्ष दंगालले उक्त गिरोहसँग  आफ्नो मिलेमतो नदेखाउन आफैंले प्रहरीमा उजुरी दिएको अनुसन्धानबाट खुलेको छ। 

झुटो विवरणसहितको नक्कली कागजात तयार पारेको अभियोगमा आफू फस्ने निश्चित भएपछि वडाध्यक्ष दंगालले आफू उम्किने प्रयास गरेका छन्। दंगालले आफूलाई पूर्णबहादुर ब्लोनले झुटो विवरण पेस गरेर नक्कली कागजात तयार पार्न लगाएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पूर्णबहादुरमाथि कारबाहीको माग गर्दै आफैंले निवेदन दिएका हुन्। 

प्रहरीले पूर्णबहादुरलाई २८ जेठ २०८१ मा पक्राउ गरी लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो। शुक्रबार जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए। प्रहरीले पूर्णबहादुरकोे बयानका आधारमा सर्जमिन मुचुल्कामा बस्ने ५६ वर्षका रामबहादुरलाई पक्राउ गरेको थियो। आफूलाई नक्कली छोरा बनेर कागजात बनाउन रामबहादुरले सहयोग गरेको भन्दै पूर्णबहादुरले बयान दिएपछि रामबहादुर फन्दामा परेका हुन्। उनलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। 

वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ‘वडाध्यक्षज्यूसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। ‘उहाँहरू फरार हुनुहुन्छ, प्रहरीले उहाँहरूलाई खोजिरहेको छ,’ प्रवक्ता भण्डारीले भने।

वडाध्यक्ष दंगालले भने उक्त घटनामा आफ्नो मिलेमतो नरहेको र आफूमाथिको आरोप झुटो भएको प्रतिक्रिया दिएका छन्। ‘सर्जमिन मुचुल्काको आधारमा कागजात बनाइदिएको हुँ मेरो मिलेमतो छैन। प्रहरी अनुसन्धानलाई सघाउन तयार छु, प्राविधिक कारणले वडा कार्यालय नगएको हुँ। फरार भएको होइन,’ वडाध्यक्ष दंगालले भने।

नक्कली छोरा बनेर सतराजले हत्याए ९९२ वर्गमिटर जग्गा 

मकवानपुरको थाहा नगरपालिका घर भई काठमाडौंको कपन बस्ने सतराज गुरुङले यसअघि नै उमादेवी गुरुङको नाममा काठमाडौंको कीर्तिपुरमा रहेको ९९२ वर्गमिटर जग्गा नक्कली छोरा बनेर आफ्नो नाममा गरिसकेका छन्। 

उनले मकवानपुरकै थाहा नगरपालिका–१२ बाट झुटो कागजात बनाएर उमादेवीको कीर्तिपुरमा रहेको जग्गा आफ्नो नाममा नामसारी गरेका थिए। सो घटनामा संलग्न सतराजलाई ३२ साउन २०८० मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको थियो। 

उमादेवीका श्रीमान् एमसी परेराले ८ साउन ०७७ मा कलंकी मालपोत कार्यालयमा उमादेवीको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न निवेदन दिए। कलंकी मालपोतमा १४ मंसिर २०७८ मा पुनः नामसारी गरी जग्गाधनी पुर्जाका लागि निवेदन दिए। सोही दिन नामसारी मिसिल खडा गरेर जग्गाको श्रेस्तामा समेत जनाउ गरे। जग्गा के–कस्तो स्थितिमा छ भनी ७ जेठ २०८० मा कलंकी मालपोतमा बुझ्न जाँदा उमादेवीको नक्कली छोरा बनेर सतराजले जग्गा हत्याइसकेको थाहा पाए। 

सरकारी, सार्वजनिक लिखत किर्ते गरेको अभियोगमा कलंकी र मकवानपुरको सिखरबोट मालपोत कार्यालयका कर्मचारीहरू, मकवानपुर थाहा नगरपालिका–१२, कीर्तिपुर नगरपालिका–१० का जनप्रतिनिधिहरू र स्थलगत सर्जमिन मुचुल्का बस्नेहरूविरुद्ध उमादेवीका श्रीमान् परेराले ‘संगठित रूपमा सम्पत्तिको आपराधिक उपयोग र लिखतसम्बन्धी’ कसुरमा प्रहरीमा उजुरी दिएका थिए। 

अनुसन्धानको क्रममा कलंकी मालपोतका अधिकृत कृष्णप्रसाद गौतम, नायब सुब्बाहरू गेहेन्द्रराज तिम्सिना, गुरुप्रसाद घिमिरे, ईश्वर ढुंगाना र खरिदार पूर्णराज बरालले सरकारी कार्यालयहरूबाट प्राप्त भएका कागजात, सर्जमिन मुचुल्का, नाता प्रमाणपत्र, मृत्यु दर्तालगायत कागजातहरूबाट उमादेवीको छोरा सतराज गुरुङ खुल्न आएकाले जग्गा नामसारी गरिदिएको भन्दै बयान दिएका छन्। 

त्यतिबेला जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले मकवानपुरको थाहा नगरपालिका–१२ का तत्कालीन वडाध्यक्ष टीकाराम स्याङ्तान र स्थानीयहरू माइली स्याङ्तान, सानुकान्छा स्याङ्तान, श्याम गोले, बमबहादुर गुरुङ, राजु गुरुङ, ओबजंगबहादुर रोकाया, चन्द्रकुमार मुक्तान, रामशरण गुरुङ, कृष्णबहादुर गुरुङ, सुकुमान स्याङ्तान, रामबहादुर स्याङ्तान, नरेश घलान, मालपोत कार्यालय सिखरबोट मकवानपुरका खरिदार सुदीप ढकाल, कीर्तिपुर–१० का वडाध्यक्ष नरेश महर्जन, रुपेश श्रेष्ठ, देवचन्द्र महर्जन, विनोद मानन्धर, सञ्जयरत्न बज्राचार्य, तीर्थकुमार प्रधान गरी २१ जनाविरुद्ध ‘संगठित रूपमा सम्पत्तिको आपराधिक उपयोग र लिखतसम्बन्धी’ कसुरको अभियोग लगाएको छ।

गिरोहसँगको मिलेमतोमा जग्गा हत्याउन आफन्त नै सक्रिय

भारतको कर्नाटकमा जन्मिएका एमसी परेरा २०३६ सालमा चितवनमा कृषिसम्बन्धी काम गर्न नेपाल आएका थिए। उनी कृषि विज्ञ हुन्। एमसीले ७ माघ २०३८ मा उमादेवीसँग विवाह गरे। चितवनको तत्कालीन शारदा नगर गाउँ पञ्चायतमा उनीहरूको विवाह दर्ता भएको थियो। एमसीलेसन् १९८३ अगस्ट २६ मा आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमासमेत दर्ता गरेका थिए। 

उमादेवी कृषिसम्बन्धी जानकार थिइन्। उनी सोही विषयको शिक्षण गर्थिन्। चितवनको रामपुरको त्रिवि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा उनले २०४१ देखि २०४४ सम्म सहायक प्राध्यापकका रूपमा काम गरेको र त्यसअघि पनि उनी कृषिकर्ममा थिइन्। उमादेवीकै नाममा चितवनमा नमुना कृषि फर्म पनि सञ्चालनमा थियो। कृषि कर्ममा भेट हुँदा नजिकिएको उमादेवी र परेराको सम्बन्ध विवाहमा परिणत भएको थियो। 

उनीहरूको ३ जना सन्तान छन्। २६ भदौ २०५० मा जन्मिएका अमोन परेराको चितवन शारदानगर गाविसमा २०५१ पुषमा जन्मदर्ता भएको देखिन्छ। छोरी आलरिया परेरा १४ भदौ २०४३ मा शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं र अर्की छोरी डेरेने प्रिया परेरा गुरुङ २२ माघ २०३८ मा चितवनमै जन्मिएको अभिलेख छ। 

६४ वर्षको उमेरमा उमादेवीको मृत्यु भएपश्चात् एमसीको परेराको स्थायी बसोबास चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा छ। छोरा अमोन र छोरीहरू डेरेने र आलरिया अमेरिकामा बस्दै आएका छन्।  

उमादेवीको नाममा ललितपुर महानगरपालिका–५ मा कित्ता नं. ३५३ मा ०–८–०–०, कित्ता १४८ मा १–०–०–०, सैबुमा कित्ता २१३ मा १–४–२–० र सुनाकोठीमा कित्ता २४० मा ५–१५–०–० क्षेत्रफलको जग्गा छ भने चितवनमा पनि केही रोपनी जग्गा रहेको छ। काठमाडौंको कीर्तिपुरमा रहेको ९९२.७० वर्गमिटर क्षेत्रफलको जग्गा भने मकवानपुरका सतराज गुरुङले नक्कली छोरा बनेर हत्याइसकेका छन्। बाँकी जग्गा हत्याउन आफन्तसहितकै गिरोह सक्रिय देखिएको छ। 

उमादेवीको मृत्युपश्चात् जग्गा हक हस्तान्तरण र नामसारीका लागि परिवारका सदस्यले मालपोत कार्यालयमा निवेदन दिएका थिए। तर, बिचौलिया र जग्गा कारोबारीसँगको मिलेमतोमा आफूहरूको जग्गा हडप्ने प्रपञ्च सुरु भएको छोरा अमोनले बताएका छन्। 

५ साउन २०७७ मा मालपोत कार्यालय लगनखेलमा दिएको निवेदनको कारबाही बुझ्न एमसीले ३ मंसिर २०७८ मा पुनः निवेदन दिएका थिए। त्यतिबेला मात्रै पत्नी उमादेवीको नाममा भएका जग्गा माइतीतर्फका दिदी पूर्णिमा गुरुङ र बहिनी मीरादेवी गुरुङले हकदाबी गरेको एमसीले थाहा पाए। पूर्णिमाले आमाबुबाको पहिल्यै मृत्यु भइसकेको, बहिनी उमादेवी अविवाहित रहेको, उनको पालनपोषण, औषधोपचार तथा मृत्युपश्चात् काजकिरिया आफूले गरेको भन्दै उमादेवीको नाममा रहेको ललितपुरको चार कित्ता जग्गा आफूहरूकोे नाममा संयुक्त नामसारी गर्न निवेदन दिएको एमसीले थाहा पाए। 

छोराछोरीसँग सल्लाह गरी एमसीले ‘पूर्णिमा गुरुङ र बहिनी मीरादेवी गुरुङको नाममा तत्काल जग्गा नामसारी तथा हक हस्तान्तरण रोक्का गरिपाऊँ’ भनी जिल्ला अदालत ललितपुरमा १४ मंसिर ०७८ मा निषेधाज्ञा रिट दर्ता गरे। मंसिर १५ को पेसी आदेशले दाखिल खारेज तथा नामसारी गर्नेलगायतका कुनै पनि कार्य नगर्नू÷नगराउनू भनी अन्तरिम आदेश जारी गरेपछि पूर्णिमा र मीरादेवीको नाममा जग्गा हस्तान्तरण भएन। त्यसपछि जग्गा कारोबारीसहितको गिरोह र आफन्त नै उमादेवीको सम्पत्ति हत्याउन सक्रिय छन्। उमादेवीका आफ्नै दिदीबहिनीले ललितपुरको ९ रोपनी तीन आना दुई पैसा जग्गा हडप्ने जालझेल रचेका छन् भने किर्ते कागजात जुटाएका नक्कली आफन्तले कीर्तिपुरको एक रोपनी १५ आना ३.५ दाम जग्गा हडपिसकेका छन्। उमादेवीको नक्कली छोरा बनेर सतराजले कीर्तिपुरको कित्ता २०३ को ९९२.७० वर्गमिटर जग्गा नामसारी गरी धनीपुर्जा लिइसकेका छन्। 

सतराजले जग्गा हत्याउन बमबहादुर गुरुङलाई बुबा, उमादेवी गुरुङलाई आमा, राजु गुरुङलाई दाइ, रीता लामा गुरुङलाई पत्नी, अम्मर गुरुङलाई छोरा र देवकी गुरुङलाई जेठी आमा भनी थाहा–१२ को वडा कार्यालयबाट नाता प्रमाणित गरेका थिए। 

६८ वर्षीय एमसी यता जग्गा जोगाउन न्यायिक निकाय धाइरहेका छन् भने अमेरिकामा रहेका छोराछोरीहरू बुबाको सुरक्षालाई लिएर चिन्तामा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.