विपद् क्षेत्रमा स्वास्थ्य जोखिम

पानीजन्य रोग संक्रमणको उच्च जोखिम

विपद् क्षेत्रमा स्वास्थ्य जोखिम

काठमाडौं : निरन्तरको वर्षाले तपाईंको धारा, इनारको पानी धमिलो एवं दूषित भएको हुन सक्छ ! यो बेला शुद्धीकरण नगरी पानी पिउँदा झाडापखाला, हैजा, आउँ, टाइफाइडदेखि विभिन्न छालाजन्य समस्या निम्तिन सक्छ। 

दूषित पानीको उपभोगले विभिन्न रोग संक्रमणको उच्च जोखिम हुने विज्ञहरू बताउँछन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, दूषित पानी पिउँदा हैजा, झाडापखाला, आउँ, टाइफाइड रोगको जोखिम उच्च हुन्छ। बाढी प्रभावितलाई हेपाटाइटिस ए र ई लगायतका स्वास्थ्य समस्याले सताउँछ। त्यस्तै नुहाउन र कपडा धुनका लागि फोहोर पानीको प्रयोग गर्दा छालाजन्य समस्याहरू लुतो, दाद, घाउखटिरा र आँखा पाक्ने रोगले पनि पिरोल्न सक्छ।

‘अहिले बाढी, पहिरोका कारण पिउने पानी दूषित भइरहेको हुन्छ। दूषित पानी पिउँदा पानीजन्य समस्याहरू देखिन सक्छन्। झाडापखाला हुने, ज्वरो आउने, वान्ता गराउने खालका संक्रामक रोगको जोखिम उच्च हुन्छ,’ डा. पुन भन्छन्, ‘यी पानीजन्य समस्या र रोगको संक्रमणले बाढी प्रभावित मात्र नभई जो कोहिलाई सताउन सक्छ। यस्ता लक्षण देखिनेबित्तिकै विशेष सावधानी अपनाउनुपर्छ। यस्तो बेला घरमा नबसी अस्पताल गएर उपचार सुरु गरिहाल्नुपर्छ।’ बाढी प्रभावित क्षेत्रका बासिन्दा र विस्थापितहरू पानीजन्य रोग संक्रमणको उच्च जोखिममा रहेकाले पानी उमालेर पिउन पर्ने डा. पुनको सुझाव छ। 

 

वर्षातको पानी बिसर्जन नहुँदा खाल्डाखुल्डी, सवारीसाधनका टायर एवं गमलामा जमेर बसेको हुन्छ। त्यस खालको पानीमा लामखुट्टे, भुसुनाहरू हुर्कने र कीटजन्य रोग उत्पन्न गर्ने जोखिम हुने डा. पुन बताउँछन्। ‘वर्षात रोकिएको केही समयपछि कीटजन्य रोगहरूको पनि जोखिम झन् बढ्न सक्छ,’ डा. पुन भन्छन्, ‘समयै सजग नहुने हो भने यस वर्ष कीटजन्य समस्याले झन् बढी सताउन सक्छ।’ लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ७३ जिल्लामा संक्रमितहरू पाइएका छन्। त्यस्तै कीरा (माइट) को टोकाइबाट हुने स्क्रब टाइफसको पनि जोखिम हुने विज्ञहरू बताउँछन्। 

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मरासिनीका अनुसार विपद््को बेला स्थानीय निकाय बढी सक्रिय हुनुपर्छ। ‘पिउने पानीको शुद्धीकरण गर्नमा ध्यान दिनुपर्छ। नियमित रूपमा क्लोरिन झोल वा ट्याब्लेट हालेर वा उमालेर पानीलाई शुद्धीकरण गरी पिउने व्यवस्था मिलाउनुपर्छ। यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविकालाई यथाशीघ्र परिचालन गर्नुपर्छ,’ डा. मरासिनीको सुझाव छ, ‘पिउने पानीको स्रोत (मुहान)हरू सफा नगर्ने हो भने कीटाणुहरू घरघरमा पुग्छन्। यस काममा जनप्रतिनिधि एवं विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू परिचालित हुनुपर्छ।’ 

 घरका नल्का, एवं इनारमा भलको पानी पसेको छ भने क्लोरिन राखेर मात्र पिउन योग्य हुने डा. मरासिनी बताउँछन्। ‘क्लोरिन झोल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धीकरण गरेपछि मात्र पिउनुपर्छ। शुद्धीकरण गरेको पानी सधैं सफा भाँडामा छोपेर राख्नुपर्छ। पानी निकाल्ने भाँडा सधैं सफा राख्नुपर्छ,’ डा. मरासिनी भन्छन्, ‘वर्षातको बेला सडेगलेका, बासी र झिंगा भन्नेको खानेकुराहरू खानु हुँदैन। काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुराहरू पनि सफा पानीले धोएर खानुपर्छ।’

सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार, रुखाखोकी,झाडापखाला, हैजा, आउँ, निमोनिया तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न जानुपर्ने सुझाउँछन्। 

कस्तो सावधानी अपनाउने ? 

  • पानी उमालेर मात्र पिउँ ।
  • क्लोरिन झोल वा ट्याब्लेट हालेर शुद्धीकरण गरिएको पानी पिउँ ।
  • सडेगलेका, बासी, झिंगा भन्नेका खानेकुरा नखाऔं ।
  • जथाभावी दिसा पिसाब नगरौं, नगराऔं ।
  • चर्पीमा मात्र दिसापिसाब गरौं। 
  • बच्चाको दिसा चर्पिमै बिसर्जन गरौं ।
  • फोहोरलाई निश्चित ठाउँमा सहि तरिकाले व्यवस्थापन गरौं ।
  • खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले नाक,मुख छोपौं ।
  • रुघाखोकी, झाडापखाला, हैजा, आउँ, निमोनिया, टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा जचाऔं। 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.