पहिरोको त्रासले रातभर जाग्राम
सरस्वती जैसी । गत कात्तिक १७ गते गएको जाजरकोट भूकम्पमा परी ३ नातिनातिना र एक बुहारी गरी ४ जनाको घटनास्थलमै ज्यान गयो । घर भत्किएपछि म काठको मुनि परेर बचेँ । छोरो कालापार गएकाले बच्यो । दुई आमाछोरा अस्थायी टहरा बनाएर बसेका छौं । हिउँदभरि टहरमा चिसोले सतायो । केही समय अघिसम्म गर्मीले सतायो ।
अहिले वर्षातले सताउन थालेको छ । ठूलो हावाहुरी सहितको पानी आउँदा टिन चुहिएर बस्नै सकिँदैन । अस्थायी घरको डिलैबाट पहिरो जान थालेको छ । भेरी नदीको किनारमा पारि जाजरकोट र वारि रुकुमपश्चिम पर्छ । वरिपरि अजंगका पहाड छन् । पहाड भूकम्पले हल्लाएको छ । कतिवेला पहिरो खस्छ भनेर रातभर निद्रै लाग्दैन । जाग्राम बस्ने गरेका छौं । अहिलेसम्म पुनर्निर्माण भइसक्नुपर्ने हो तर अस्थायी टहरामै बस्न बाध्य छौं ।
सरकारले घर बनाइदिएको भए ढुक्कसँग बस्न पाइन्थ्यो । भूकम्पा बाँचे पनि यो वर्षातमा बाँच्न गाह्रो छ । भूकम्पले थिलोथिलो भएका बस्ती निकै जोखिममा छन् । भिरालो जमिन, भूकम्पले हल्लाएको, विकासको नाममा डोजरले जथाभावी बाटो खनेको, बन फडानी आदि कारणले जाजरकोट र रुकुमपश्चिमका धेरै बस्ती पहिरोको उच्च जोखिममा रहेको कुरा भूगर्भविद्ले भनेका छन् । धेरै मानिसहरू पहिरोको त्रासमा छन् । घर छोडेर जाने ठाउँ पनि कतै छैन ।
त्यसैले हामी जस्ता निमुखाको जीवन रक्षाका लागि सरकारले समयमै आवश्यक पहलकदमी लिनुपर्छ । संकटको घडीमा नागरिक जोगाउनु तीनै तहका सरकारको कर्तव्य हो ।
(जैसी आठबीसकोट नगरपालिका १४ छेपारे निवासी भूकम्पपीडित हुन् ।)