तस्करी विवादमा सशस्त्रका एसपी, छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति

तस्करी विवादमा सशस्त्रका एसपी, छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति

विराटनगर : तस्करीको लाइन चलाएको विवादमा मुछिएका सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्कामाथि छानबिन एवं अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ। 

सशस्त्र प्रहरी बल मुख्यालयले सीमा विभागका डीआईजी लक्ष्मणबहादुर सिंहको संयोजकत्वमा ३ सदस्यीय छानबिन एवं अनुसन्धान समिति बनाएको हो। एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी समितिको सदस्य छन्। हाल सशस्त्रको सीमा विभागको नेतृत्व एआईजी नारायणदत्त पौडेलले गरिरहेका छन्। 

सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी कुमार न्यौपानेले सीमा विभागबाटै समिति बनाएर एसपी खड्कामाथि छानबिन एवं अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनका अनुसार गत आइतबार बनाइएको समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने छ। ‘समितिले फिल्डमा पुगेर काम सुरु गरिसकेको छ। के भएको रहेछ र तस्करीमा एसपीको संलग्नता छ कि छैन भनेर वास्तविकता बुझ्दै छ,’ डीआईजी न्यौपानेले भने, ‘समितिको प्रतिवेदन अध्ययनपछि अरु प्रक्रिया अघि बढ्छ। दोषी देखिएमा एसपी खड्कामाथि कारबाही हुन्छ।’

प्रतिवेदनका आधारमा एसपी खड्कामाथि कारबाही हुने कि नहुने भन्ने टुंगो लाग्ने उनले बताए। ‘आरोप लागेका सबै विषयमा छानबिन हुन्छ। अबको दुई/तीन दिनभित्रमा समितिले प्रतिवेदन बुझाउँछ। त्यसपछि मात्रै खड्काले तस्करीमा सहयोग गरेको हो कि हैन भनेर यकिन हुन्छ,’ न्यौपानेले भने। 

२०८० साल फागुन पहिलो साता मोरङ हाजिर भएका एसपी खड्कामाथि तस्करको समूहसँग मिलेमतो गरी नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाएर अवैध असुली गरिरहेको आरोप लागेको छ। तस्करी गरेर नेपाल भित्राइएका सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप पनि छ। विराटनगरका व्यापारी विनोद केशरीले लगभग १ महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी नियन्त्रणमा लिएको भएपनि रकम लिएर त्यत्तिकै छाडिदिएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालयमा उजुरी परेको उच्च स्रोतले बतायो। 

तस्करीसँग साँगगाँठ गरेर असुली गरेको र तस्करीको चिनी छाडेको उजुरी परेपछि एसपी खड्कालाई गत बिहीबार नै हेडक्वार्टर (सशस्त्र प्रहरी मुख्यालय) तानिएको छ। स्रोतका अनुसार खुलेआम तस्करी चलाउन थालेको उजुरीपछि उनी हेडक्वार्टरको निगरानीमा थिए। ‘मोरङ आएयता तस्करी गरिरहेको समूहसँग खड्काको सम्बन्ध राम्रो थियो,’ स्रोतले भन्यो, ‘लाइन चलाउन सहयोग गरिदिएवापत तस्करीमा संलग्नबाट उनले मोटो रकम बुझ्ने गरेका थिए।’ 

चोख्याउन चलखेल, मोरङ नै फिर्ता पठाउने तयारी 

विवादमा परेका एसपी खड्कालाई चोख्याउन चलखेल भइरहेको पाइएको छ। विवादबाट चोख्याएर उनलाई मोरङ नै फिर्ता पठाउने तयारी भइरहेको हो। सशस्त्रका प्रवक्ता न्यौपाने छानबिनबाट गल्ती गरेको नभेटिएमा खड्कालाई मोरङ नै फिर्ता पठाउने र दोषी देखिएमा भने कारबाही हुने बताउँछन्। एसपी खड्कामाथि छानबिन गर्ने समितिको नेतृत्व गरेका डीआईजी लक्ष्मणबहादुर सिंह मोरङ आएका छैनन्। जबकि समितिले प्रतिवेदन बुझाउनुपर्ने समय १ साताको मात्रै छ। 

स्रोतका अनुसार एसपी माधव रेग्मी मात्रै मोरङ आएर केही व्यक्तिहरुसँग कुरा बुझेजस्तो गरेका छन्। सबै पक्षसँग गहिरो ढंगले कुरा बुझ्ने र वास्तविकता पहिल्याउने प्रयास नै नगरिएको स्रोतको भनाइ छ। विवादमा परेका खड्का र छानबिन समिति सदस्य रेग्मी ब्याजी हुन्। स्रोतका अनुसार २०६० सालमा सशस्त्रको इन्सपेक्टरमा सँगै भर्ना भएका दुवै जना एकअर्कालाई खुलेर सहयोग गर्छन्। 

‘छानबिन समिति डीआईजीको नेतृत्वमा छ। तर, एसपीले गरेको बदमासीको छानबिन गर्न एसपीलाई मात्रै फिल्डमा पठाइनु जायज भएन,’ मुख्यालयका एक उच्च अधिकारीले भने, ‘छानबिन समिति नै झारो टार्नका लागि बनाएजस्तो देखियो। छानबिन गरेजस्तो देखाएर एसपी खड्कालाई विवादबाट चोख्याउँदै पुनः मोरङ पठाउन चलखेल भइरहेको छ।’ उनका अनुसार खड्कामाथि कारबाही गर्ने पर्याप्त आधारहरु हुँदा पनि केही नगरिकन मोरङ पठाउन खोजिनुले गम्भीर आशंका उब्जिएको छ।  

समिति संयोजक डीआईजी सिंहले आफू काठमाडौंस्थित कार्यालयमै रहेको बताए। ‘म अर्को काममा लागेको छु। केही कुरा बुझ्न एसपीलाई मात्रै त्यहाँ (मोरङ) पठाइएको हो। प्रारम्भिक चरणको छानबिन चलिरहेको छ। बुझ्ने काम भइरहेको,’ उनले भने, ‘हामीले धेरै चिजहरु हेरिरहेका छौं। सबै कुरा बुझ्न फिल्डमै आउनुपर्छ भन्ने छैन। कुनै ‘लेभल’मा काम भइरहेको छ। एक जनाले मात्रै नभएर यो टिमले गर्ने काम हो।’ 

समितिले विभिन्न कोणबाट छानबिन एवं अनुसन्धान गरिरहेको भन्दै सिंहले अन्त पनि निरीक्षण गर्नुपर्ने भएकाले आफू मोरङ आउने/नआउने कुरा निश्चित भइनसकेको बताए। ‘म अहिले व्यस्त भएकैले आउन पाइन। छानबिन एवं अनुसन्धान कसरी र के गर्ने भन्ने हाम्रो काम हो। त्यो कुरा छाड्नुहोस्,’ उनले भने। 

सशस्त्रका अधिकारीहरु एसपी खड्कामाथिको छानबिन फितलो हुने निश्चित भएको र उनलाई कारबाहीबाट जोगाउने प्रयास भइरहेको बताउँछन्। छानबिन प्रभावित पार्न र सामान्य प्रतिवेदनकै भरमा उन्मुक्ति दिनका लागि एसपीलाई मात्रै फिल्डमा पठाइएको उनीहरुको बुझाइ छ। शंकास्पद छानबिनले पनि त्यसको पुष्टि हुन्छ। 

सशस्त्रका पूर्वडीआईजी सुरज श्रेष्ठ छानबिन समितिका संयोजकले फिल्डमा पुगेर सबै कुरा नबुझिकन छानबिन टुंगोमा नपुग्ने बताउँछन्। ‘वास्तविक कुरा बुझ्नलाई त संयोजक आफैं फिल्डमा पुग्नु पर्‍यो नी। अनि पो सबै कुरा थाहा हुन्छ,’ उनले भने, ‘एसपीको छानबिन गर्न एसपीलाई मात्रै फिल्डमा पठाउँदा काम निष्पक्ष हुँदैन। समान हैसियतकालाई पठाउँदा त्यसले राम्रो सन्देश पनि दिँदैन।’  

संयोजक फिल्डमा नपुग्दा अनुसन्धान एवं छानबिन प्रभावित भई शंका गर्ने पर्याप्त आधारहरु तयार भएर गलत अभ्यासको सुरुवात हुने श्रेष्ठको भनाइ छ। संगठनको नीति एउटा र व्यक्तिको स्वार्थ अर्कै हुँदा काममा तारतम्य नमिलेर प्रतिफल प्राप्त नहुने उनले बताए। ‘छानबिन समितिमा रहेका सबैले फिल्डमै पुगेर वास्तविकता केलाउनुपर्छ,’ पूर्वडीआईजी श्रेष्ठ भन्छन्, ‘छानबिन स्वार्थ बाझिने खालको हुन हुँदैन।’

डीआईजीमाथि नै तस्करी चलाएको आरोप 

कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी शम्भु सुवेदीमाथि नै तस्करीको लाइन चलाएको आरोप लागिरहेको छ। पछिल्लो समय कोशीका झापा, सुनसरी र मोरङमा तस्करी अचाक्ली बढेको छ। सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको हो। भारतबाट धान, गहुँलगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्राउने गरिएको छ।
 
सशस्त्रको कोशी प्रदेश प्रमुख हुँदा डीआईजी अन्जनीकुमार पोखरेलले संस्थागत रूपमा हुने तस्करी ठप्प पारेका थिए। तर, डीआईजी सुवेदी आएदेखि नेपाल–भारत सीमा क्षेत्रमा तस्करको चलखेल व्यापक बढेको छ।  लाइन चालु भएपछि वैशाखयता खुलेआम तस्करी भइरहेको छ। तर, सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी अनदेखा गरिरहेको छ। 

तस्करको समूहसँग लाभ लिएर लाइन चलाएको आरोप सुवेदीमाथि लागेको हो। यस विषयमा पटकपटक सार्वजनिक हिसाबले कुरा उठिरहेको छ। तस्करी नियन्त्रणको प्रयास भने भएको छैन। ‘तस्करी रोक्नुपर्ने निकाय नै अवैध धन्दा चलाउनेहरुसँग मिलिरहेको पाइन्छ। व्यापक मात्रामा रातारात तस्करी भइरहेको छ,’ सीमा क्षेत्रका एक जना वडाध्यक्ष भन्छन्, ‘रोक्नका लागि पटकपटक हामीले आग्रह गर्दा पनि बेवास्ता गरिन्छ। मिलेमतोमै काम भइरहेकाले कसैको केही नलाग्ने रहेछ।’ 

उनले सशस्त्र, भन्सार, राजस्व अनुसन्धानलगायतका निकायको ‘सेटिङ’मा तस्करीको धन्दा चल्दा राज्यको राजस्व संकलनमा असर परिरहेको बताए। यस विषयमा बुझ्न खोज्दा डीआईजी सुवेदी र सशस्त्रका प्रदेश प्रवक्ता एसएसपी मनिष थापा सम्पर्कमै आउन चाहेनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.