युद्धबाट उठेर विश्व कीर्तिमान

युद्धबाट उठेर विश्व कीर्तिमान
सुन्नुहोस्

युक्रेनी खेलाडी यारोस्लावा महुचिखले विश्व एथलेटिक्समा ३७ वर्ष पुरानो कीर्तिमान तोडेर संसारभर चर्चा बटुलेकी छन् ।

पेरिस : पछिल्लो समय युक्रेन युद्धमा फसेको छ। रुसको लगातारको आक्रमणबाट युक्रेनका अग्ला भवन र सुन्दर सहर भग्नावशेषमा परिणत भएको छ।

विगत दुई वर्षदेखि चल्दै आएको युद्धले युक्रेन नराम्रोसँग थलिएको छ। त्यही युद्धबाट उठेकी एक युक्रेनी खेलाडीले विश्व एथलेटिक्समा ३७ वर्ष पुरानो कीर्तिमान तोडेर संसारभर चर्चा बटुलेकी छन्। हाई जम्पकी २२ वर्षीया युक्रेनी खेलाडी यारोस्लावा महुचिखले फ्रान्सको पेरिसमा आयोजना भएको डायमन्ड लिगमा कीर्तिमानी प्रदर्शन गर्दै आफ्नो नाम लेखाएकी हुन्।

यारोस्लावाले आफ्नो स्पर्धामा २.१० मिटर (६.८८ फिट) उफ्रिएकी हुन्। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिक अघि उनले गरेको अस्वभाविक प्रदर्शनले निकै चर्चा बटुलेको छ। यसअघि यो कीर्तिमान बुल्गेरियाकी खेलाडी स्टेफ्का कोस्टाडिनोवाको नाममा रहेको थियो। कोस्टाडिनोवाले सन् १९८७ मा इटालीको रोममा सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपमा २.०९ मिटरको प्रदर्शनसहित उक्त कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्। 

अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो नाममा विश्व कीर्तिमान लेखाएपछि यारोस्लावा निकै भावुक बनेकी थिइन्। ‘यो प्रतियोगितामा सहभागी हुनु नै मेरा लागि ठूलो उपलब्धि हो। मैले २.७ मिटर जम्प गर्न सक्छु कि भन्ने सोचेको थिएँ। तर, मैले आफ्नो सोचभन्दा माथिको प्रदर्शन गर्न सकें’, उनले भनिन्, ‘हामी खेल मैदानमा पनि आफ्नो देश, आफ्ना नागरिक र आफ्ना सैनिकका लागि लडिरहेका छौं। हामी कुनै पनि क्षेत्रमा हार मान्दैनौं भन्ने कुरा सिंगो विश्वलाई देखाउन चाहन्छौं। यो प्रदर्शनले त्यसलाई प्रमाणित गर्न पनि सफल भएँ।’

२२ वर्षीया यारोस्लावा र विश्व इन्डोर च्याम्पियन निकोला ओलेआस्लेगर्सले दोस्रो जम्पमा २.०१ को दूरी तय गरेका थिए। विश्व इन्डोर च्याम्पियन निकोला ओलेआस्लेगर्सले तेस्रो पटकमा २.०३ जम्प गर्दा यारोस्लावाले विश्व कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भइन्। यारोस्लावाले सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिकमा पनि कांस्य पदक जितेकी थिइन्। उनले अब आफ्नो लक्ष्य पेरिस ओलम्पिकमा केन्द्रित भएको बताएकी छन्। 

आफ्नो देश युक्रेन लामो समयदेखि युद्धको चपेटामा परेकाले यारोस्लावाले डायमन्ड लिग र पेरिस ओलम्पिकको तयारी विदेशमा गरेकी थिइन्।रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै उनले उनले आफ्नो गृहनगर डीनिप्रो छाडेकी थिइन्।

युक्रेनका अन्य खेलाडीसँगै उनले पनि विदेशमै प्रशिक्षण गरेकी थिइन्। उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रुस र बेलारुसलाई ओलम्पिकमा सहभागी हुनबाट रोक लगाएर राम्रो निर्णय गरेको प्रतिक्रिया पनि दिएकी छन्। ‘हामी सबै विदेश बसेर पनि आफ्नो देशका लागि लडिरहेका छौं। हामी देखाउन चाहन्छौं कि युद्धको चपेटामा परेको युक्रेनका खेलाडी पनि विश्व खेल जगतमा उदाउन सक्छन्’, उनले भनेकी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.