लिखुभुजीले जित्यो हाङथुम कप
संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा सम्पन्न ४६औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिताको उपाधि लिखुभुजी युवा क्लबले जितेको छ। शनिबार भएको फाइनलमा रामेछापको लिखुभुजीले सुनसरीको सिर्जना युवा क्लब धरानलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
पहिलो हाफको खेल गोलरहित बराबरी रहे पनि दोस्रो हाफको ७९औं मिनेटमा लिखुभुजीका करण मगरले गरेको गोल नै निर्णायक बनेको थियो। पेनाल्टीलाई सदुपयोग गर्दै मगरले गरेको गोलले लिखुभुजी उपाधि दिलाएको हो।
उपाधिसँगै लिखुभुजीले नगद २ लाख २० हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गर्यो। उपबिजेता सिर्जना युवा क्लबले १ लाख १० हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिर्जना युवा क्लबका नगेन राईले घोषित भए। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाए। यसैगरी उत्कृष्ट गोलरक्षक लिखुभुजीका मिलन श्रेष्ठ, सर्वाधिक गोलकर्ता चुलाचुली स्पोर्टिङ क्लबका तीर्थ बस्नेत र लिखुभुजीका विच लिम्बूले घोािष्त भए। उनीहरूले जनही नगद ५ हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !