दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधी राईलाई
सिन्धुपाल्चोक : पाँचौ लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस –२०८१ को उपाधी त्रिभुवन आर्मी क्लबका कास राईले जितेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –३ मा रहेको तातोपानी सुख्खा बन्दरगाहबाट लिस्तीकोटहुँदै दुगुनागढीसम्मको २४ दशमलव ५ किलोमिटर दूरी २ घण्टा ८ मिनेट ४१ सेकेण्डमा पार गरी राई विजयी बनेका हुन् ।
२ सय २४ प्रतिस्पर्धी धावकलाई उछिन्दै पहिलो बनेको उनले १ लाख १० हजार रुपैयाँसहित शील्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै सोही क्लबका होमलाल श्रेष्ठले २ घण्टा १० मिनेट ३८ सेकेण्डमा दूरी पार गरी दोस्रो र करण राउतले २ घण्टा १३ मिनेट १६ सेकेण्डमा सो दूरी पार गरी तेस्रो स्थान हासिल गर्न सफल भए ।
उनीहरूले क्रमसः ७५ हजार रुपैयाँ र ५० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लबबाट सुनसरी रोकायले २ घण्टा ४८ मिनेटमा दूरी पार गरी प्रथम हुन सफल भइन् ।
त्यस्तै जुम्लाकी कल्पना बुढाले २ घण्टा ५१ मिनेटमा दूरी पार गरी द्वितीय र खोटाङकी प्रिती राईले २ घण्टा ५५ मिनेटमा दूरी पार गरी तृतीय स्थान हाँसिल गरिन् । विजेताहरूले क्रमसः ७० हजार, ५० हजार र ३० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै, भोटेकोशी गाउँपालिकास्तरीय प्रतिष्पर्धामा ३ घण्टा १२ मिनेटमा दूरी पार गरी कुमार तामाङ प्रथम,३ घण्टा २५ मिनेटमा दूरी पार गरी मोहन भण्डारी द्वितीय र ४ घण्टा २ मिनेटमा दूरी पार गरी फुर्वा तामाङ तृतीय भए ।
उनीहरूलाई क्रमसः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी हुने प्रत्येक धावकको दौड अवधिभरका लागि निःशुल्क दुर्घटना बिमासमेत गरिएको थियो ।
विजयी खेलाडीहरूलाई नेपाली सेना उपत्यका पृतनापति उपरथी विष्णु राउत, २६ नं. बाहिनीपति सहायक रथी अशोक गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा,प्रमुख जिल्ला अधिकारी किरण थापा, इन्द्रध्वज गणका गणपति धर्मेन्द्र भण्डारीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सिन्धुपाल्चोकको ऐतिहासिक स्थलहरूको पहिचान दिलाउन, साहसिक खेलकुदको विकासका साथै सैनिक–नागरिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले दुगुनागढी माउन्टेन ट्रेल रेस सञ्चालन गर्दै आएको इन्द्रध्वज गणका सेनानी अनिलकुमार बस्नेतले बताए । ‘सन् १८५५ मा नेपाल तिब्बत युद्धको समयमा दुगुनागढी किल्लाबाट विजय हाँसिल गरिएका कारण दुगुनागढी ऐतिहासिक स्थल हो’,बस्नेतले भने,' ‘तसर्थ यस्ता ऐतिहासिक स्थलको संरक्षण,सम्वर्द्धन गर्न हामीले हरेक वर्ष माउन्टेन ट्रेल रेस गर्दै आएका छौं ।’
प्रतिक्रिया दिनुहोस !