अन्नपूर्ण पदमार्गमा सार्वजनिक शौचालय

अन्नपूर्ण पदमार्गमा सार्वजनिक शौचालय
सुन्नुहोस्

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको मौरिस हर्गोज पदमार्गमा एक प्रवासी युवतीले दाताको सहयोग जुटाएर पूर्वाधार निर्माण गरेकी छिन्। 

रघुगंगा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाले दाताको सहयोग जुटाएर अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने मौरिस हर्गोज पदमार्गको सन्धिखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानीलगायतका पूर्वाधार निर्माण गरेकी हुन्। 

‘अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाँदा सार्वजनिक शौचालय, खानेपानी सुविधा र फोहोर व्यवस्थापनको आवश्यकता महसुस गरेको थिए,’ ललिताले भनिन्, ‘शौचालय बनाउन सामाजिक सञ्जालमार्फत गरेको अपिलमा दाताहरूले सहयोग गर्नुभयो र बर्खा यामको बाबजुद पनि निर्माण गर्न सफल भइयो।’

अध्ययनका लागि अस्टे«लिया गएकी शेरपुञ्जा हाल सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ मा भाग लिन नेपाल आएकी छिन्। शौचालय निर्माणका लागि मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङ र नारच्याङका तम चोचांगी पुनलाई शेरपुञ्जाले ४ लाख ६० हजार रुपैयाँ पठाएकी थिइन्। ललिताको शौचालय अभियानमा अन्य दाताहरूले पनि सहयोग गरेका थिए। 

शेरपुञ्जाले पठाएको रकमबाट १५ दिनसम्म ८ जना मजदुर परिचालन र निर्माण सामग्री खरिद, ढुवानी गरी शौचालय, खानेपानी आपूर्ति र फोहोर व्यवस्थापन गर्ने खाडल बनाएको चोचांगीले बताए। सार्वजनिक शौचालयको अभावमा पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरहरूलाई असहज भएको थियो। वातावरण प्रदूषण न्यूनीकरण, सरसफाइ कायम र पर्यटकको सुविधाका लागि सार्वजनिक शौचालय बनाएको ललिताले बताइन्। 

८,०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण दलको नेतृत्व गरेका फ्रान्सका मौरिस हर्गोजको सम्मानमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्गको नामकरण गरिएको छ। अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक मानव पाइला परेको हिमाल भएकाले यसको नेपालको आरोहण पर्यटनमा महŒव छ। सन् १९५० जुन ३ गते अन्नपूर्णको सफल आरोहण भएको थियो। 

प्रथम आरोही मौरिसको पाइला पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा पहिचान भएको पदमार्ग विसं २०७७ देखि सञ्चालन भएको थियो। नारच्याङदेखि २० किलोमिटर टाढा हुमखोलासम्म नीलगिरि खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग छ। हुमखोलादेखि आधार शिविर जोड्ने २२ किलोमिटर लामो पदमार्ग, खोलाहरूमा झोलुंगेपुल, आश्रयस्थल निर्माण गरिएको छ। एकै दिनको पैदलयात्रामा आधार शिविर पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको छ। 

सन्धिखर्क, धरमढुंगा, भुसकेट, गुफाफाँट, हुमखोला र छोटेपामा ७ वटा आश्रयस्थल निर्माण भएको छ। होटल तथा लजको सुविधा नभएको यो पदमार्गमा क्याम्पिङ गर्नका लागि खाने बस्ने सामग्री लिएर जानुपर्छ। अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधारशिविर पुग्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.