भानुभक्त र तुलसीदासको दृष्टिमा रामकथा

भानु जयन्ती

भानुभक्त र तुलसीदासको दृष्टिमा रामकथा

दुइटै महान् कवि भानुभक्त र तुलसीदासको उद्देश्य राम कथा हो। दुइटैको अभीष्ट पनि इष्टदेव राम हुन्।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य। अनि, हिन्दी भाषाका महाकवि तुलसीदास। दुवैको दृष्टिमा रामकथा लेखनको परम्परा लामो छ।

दक्षिण एसियामा रामकथाको लामो परम्परा रहिआएको छ। यो सर्वविदित तथ्य हो। श्री रामकथाको अद्भुत विशेषता के छ भने छिमेकी मुलुक भारतमा मात्र होइन, अपितु संसारको हरेक देशमा यो लोकप्रिय एवं कर्णप्रिय रहेको छ।

आज यसको स्वरूपमा अन्तर्राष्ट्रिय आयाम स्वतः जुड्न गएको देखिन्छ। दक्षिणपूर्व एसियामा थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया आदि देशहरूको साथसाथै मध्य–एसिया, चीन, युरोप, रुसदेखि फ्रान्स, इंग्ल्यान्ड र अमेरिकासम्म यसको विश्वव्यापी दिग्दर्शन गर्न सकिन्छ सजिलोसित।

विशेषतः दक्षिणपूर्व एसियामा श्री रामकथा कुन किसिमबाट जनजीवनलाई प्रेरित एवं प्रभावित गरेको छ कि यहाँको सांस्कृतिक र सामाजिक जीवन यसबाट आजपर्यन्त सञ्जीवनी शक्ति ग्रहण गरिरहेको पाइन्छ। नेपाल र भारत दुइटै देशहरूमा रामायणी संस्कृतिको प्रभाव अद्भुत एवं आश्चर्यजनकबाट सदियौंदेखि रेखांकित गर्न सकिन्छ।

नेपालका आदिकवि भानुभक्त तथा हिन्दी साहित्यका महाकवि तुलसीदास दुइटैको मूल उद्देश्य रामकथालाई लिपिबद्ध गर्नु नै रहेको छ। यी दुइटै महान् कविहरूको उच्चतम काव्य प्रतिभाको दिग्दर्शन यहाँ सजिलोसित रेखांकित गर्न सकिन्छ। यसमा काम, अर्थ, धर्म र मोक्षको सुन्दर संयोग पाइन्छ। यिनका उदाहरणीय र अनुकरणीय आदर्श पात्रहरूको प्रसंगबाट अद्यपि लोकमानस प्रभावित र प्रेरित हुँदै आएको छ।

अति पावन रामकथा वास्तवमा लौकिक जीवनको समस्त पाप–ताप, दुःख दरिद्रय एवं संकट–संकष्टलाई हरण गर्ने खालको मानिन्छ। तुलसीदासले त यसलाई ‘दैहिक दैविक, भौतिक तापा रामराज काहु नही व्यापा’ भनेर प्रस्ट पारेका छन् भने भानुभक्त आचार्यले आफ्नो रामायणको प्रारम्भ नै यस प्रकार गरेका छन् :
‘एकदिन नारद सत्यलोक पुगिगया लोकको गरुँ हित भनी’ 
‘तुलसीदासले नारद जानेउ नाम प्रताप’ भनी।

महाकवि तुलसीदासले रामचरित मानसको प्रारम्भ प्रथम सोपान बालकाण्डबाट गरेका छन् भने आदिकवि भानुभक्त आचार्यले श्लोकबाट गरेका छन्। तुलसीदास माथि संस्कृत भाषाको अत्यधिक प्रभाव प्रतिलक्षित हुन्छ किनभने उनले बालकाण्ड सुरु गर्दा संस्कृतका ६ श्लोकबाट गरे भने भानुभक्त आचार्य स्वयं र यिनका पूर्वज संस्कृतका प्रकाण्ड विद्वान् थिए। तर यी दुइटैले आआफ्नो मातृभाषा क्रमशः अवधी र नेपाली भाषाको प्रयोग गरेर प्रशंसनीय काम गरे।

भानुभक्त आचार्यले रामको वचपनको वर्णन धेरै सहज एवं सरल ढंगबाट गरेका छन् भने तुलसीदासले सविस्तार यथा :
‘बालककाल वितिगयो प्रभुजीको सब बालालीला गरी 
कौमारमा व्रतबन्ध भो पढी सक्या सब शास्त्र खुब क्षोद गरी।’
भानुभक्त – ‘नौमी तिथि मधुमास पुनीता सुकल पक्ष अभिजीत हरि।
मध्यदिवस अति सित न घामा। पावनकाल 
लोकप्रीत विश्रामा।’

महाकवि तुलसीदास रामको बाललीला वर्णन गर्दै रामायणको रचनामा अग्रसर हुनुहुन्छ – 
‘ठुमुकी चलत रामचन्द्र बाजत पैजनिया’
आदिकवि भानुभक्तले हतारहतार गरेर बालवर्णनलाई कलात्मकता दिएका छन्।

तुलसीदासले मिथिलाको प्राचीन राजधानी जनकपुुरको अप्रतिम र अद्वितीय सौन्दर्य वर्णन गरेका छन् भने आदिकवि भानुभक्तले सिर्फ जनकपुरको विवाह मण्डपको यथा :  
‘जो मण्डप छ विवाहको तस उपर झम्का हीराका खुल्या
मुगा, मोती त और जनकपुर सहरका घर घरैमा झुला।’

आदिकवि भानुभक्तले संस्कृतका आदिकवि बाल्मीकिको आध्यात्मिक सामायणको आधारमा रामकथालाई अग्रसारित गरेका छन् जुन उनको मौलिक उद्भावना भन्न सकिन्छ जब कि महाकवि तुलसीदासले जनकपुरको अद्वितीय सौन्दर्यको वर्णन गर्दा गर्दा थाक्दैनन्। यथा :  
‘भूप बागु बर देखेउ जायी, जहाँ बसन्त ऋतु 
रही लोभाई 
लगे विटप मनोहर नाना। बरन बरन बर 
बोले विताना।’

दुईटै महाकविको आआफ्नो वर्णन शैली छ, जुन सर्वथा स्वाभाविक हो। आदिकवि भानुभक्त आचार्यले आफ्नो रामायणको संयोजन यस ढंगबाट गरेका छन् जुन बाल्मीकिकृत अध्यात्म रामायणमा पनि पाइन्छ। जस्तो बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, किस्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्ड। तर महाकवि तुलसीदासले यस प्रकार : बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, लंकाकाण्ड, उत्तरकाण्ड र लवकुशकाण्ड।

वन प्रसंगमा तुलसीदासले रामचन्द्रको सौन्दर्य वर्णन आलंकारिक ढंगबाट गरेका छन् जस्तो : ‘कोटी मनोज लजावनी निहारे, सुमुखी कहहु को अही तुम्हारे।’

आदिकवि भानुभक्तले रामचन्द्रको वनवासको प्रसंग सविस्तार कथात्मक शैलीमा वर्णन गरेको पाइन्छ। अरण्यकाण्डमा भानुभक्तले भक्तिभावनाको आधिक्य वर्णन गरेका छन् :
‘हे लोक हो रघुनाथका चरणको भक्ति छ मुक्ति दिन्या।’

तर महाकवि तुलसीदासले भक्तिको आधिक्यको अतिरिक्त दार्शनिक चिन्तन मनन्लाई प्रमुखता दिएका छन् जस्तो :
‘धर्म तें विरति जोग मे ग्याना। 
ग्यान मोक्ष प्रद वेद बखाना 
जानते बेगी द्रवउँ मै भाइ। 
सो मम् भगती भगत सुखदायी।’

जगद् जननी जानकीमा राजनीतिक संचेतना थियो सजको संकेत तुलसीदासले यसरी दिएका छन् :
‘नाना विधि कहीँ कथा सुहाई।
राजनीति भय प्रीति देखाई।’

रावणले राजनीतिक प्रपञ्च गरेर सीतालाई मोहित गर्न चाहे तर सीता उसको राजनीतिक प्रपञ्चमा फसिनन्। भानुभक्त चाहिँ राजनीतिक पचडामा नफसीकन भक्तिभावनाबाट पे्ररित एवं प्रभावित भएर सोझै उद्घोष गरे–
‘हे लोक हो रघुनाथका चरणको भक्ति छ मुक्ति दिन्या, 
यो जानीकन कामधेनु सरिका राम हुन मनैमा लिन्या। 
क्या गर्छौ अरू मन्त्र यन्त्रहरूले छोडेर सब राममा 
तन मन लाऊ अवश्य जान मनले सार मिल्छ 
यै काममा।’

किस्किन्धा काण्डको अन्तमा महाकवि तुलसीदास र आदिकवि भानुभक्त दुइटैलाई समान अनुभूति हुन्छ। दुइटै रामको प्रति समर्पित कवि व्यक्तित्वको रूपमा आमुन्ने सामुन्ने देखा पर्छन् :
‘नीलोतपल तन स्याम काम कोटी शोभा अधिक 
सुनिअ तासु गुन ग्राम जासु नाम अघ खग वधिक।’

आदिकवि भानुभक्तले पनि आफ्नो भक्तिभाव यसरी अभिव्यक्त गरेका छन् :  
‘श्री रामका चरणारविन्द मनमा धर्‍या नडरदा 
जसै बोल्या। 
श्री हनुमानले यति कुरा श्री जाम्बवानले तसै भन्दछन् 
श्री हनुमानलाई हनुमान भेट मात्र एहले गरी फर्की 
आउ सीताजीको खबर ली यो छैन लडन्या धरी।’

आदिकवि भानुभक्तले हनुमानको अपार शक्तिको वर्णन यसरी गरेका छन्– लंका दहन पश्चात् :
‘धन्य हुन हनुमान इशरीको 
छैन भक्त अरू कोही हरिको 
भक्ति खुब गरी त काख पनि पाया 
लोकमा अधिक धन्य कहाया।’

 

  • नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य। अनि, हिन्दी भाषाका महाकवि तुलसीदास। दुवैको दृष्टिमा रामकथा लेखनको परम्परा भने निकै लामो छ। 
  • नेपालका आदिकवि भानुभक्त तथा हिन्दी साहित्यका महाकवि तुलसीदास दुइटैको मूल उद्देश्य रामकथालाई लिपिबद्ध गर्नु नै रहेको छ। यी दुइटै महान् कविहरूको उच्चतम काव्य प्रतिभाको दिग्दर्शन यहाँ सजिलोसित रेखांकित गर्न सकिन्छ। 

यस्तै महाकवि तुलसीदासले लंकादहनपश्चात् हनुमान भगवान रामसित भेटपछि राम उनलाई पटकपटक उठाउन चाहन्छन् तर प्रेममा मग्न हनुमानलाई उठ्न राम्रो लाग्दैन। प्रभुरामको करकमल हनुमानको टाउको माथि छ। त्यस स्थितिलाई हेरेर शिव पनि प्रेम मग्न हुनपुगे। यसको वर्णन तुलसीदासले यसरी गरेका छन् :  
‘संविधान मन करी पुनि शंकर। 
लागे कहन कथा अति सुन्दर। 
कपी उठाई प्रभु हृदय लगावा। 
कर गहि परम निकट बैठावा।’

आदिकवि भानुभक्तले रामको अपार शक्तिको वर्णन यसरी गरेका छन् :  
‘श्री रामजीसित विरोध किन हो ह्याको 
श्री रामचन्द्र कन सक्छ जित्न कसले 
माया खर–त्रिशि–दूषण वीर जसले।’

आदिकवि भानुभक्त आचार्यले सुन्दरकाण्डपश्चात् युद्धकाण्डको विस्तृत वर्णन गरेका छन् तर तुलसीदासले यस काण्डको नामकरण लंकाकाण्ड गरेका छन्। यसमा रामचन्द्रको राज्याभिषेकपछि कैकेयी र भरतले मिलेर रामलाई राजगद्दी समर्पित गरेका छन्। यसको वर्णन भानुभक्तले यसरी गरेका छन् :
‘कैकेयी र भरत मिलेर रघुनाथज्यूका चरणमा परी।
हात जाडीकन राज्य अर्पण गर्‍या बिन्ती बहुतै गरी। 
राजाराम भई बस्नु जब भयो प्राणी प्रजा खुश भया। 
जो पथ्र्या अघि ताप अनेक तरहका ती सब प्रजाका गया। 
गर्दैन विधवा विलाप मुलकमा लाग्दैन रोग व्याध पनि। 

सब डाँकु दिनमा परेन केही ताप यो चीज हराये भनी।’

राज्याभिषेकपछि राम–सीतासहित पुष्पक विमानमा चढेर गंगाजीलाई नाघेर र गंगाजीको पूजाआजापश्चात् उनको चरणमा गए। तुलसीदासले लेखे –
‘यह कली काल मलयातन मन गरी देखु विचार
श्री रघुनाथ नामु तजी नाहिन अन्य आधार।’

आदिकवि भानभुक्तले राम कथाको महत्त्व युद्धकाण्डमा यसरी गरेका छन् :  
‘श्री रामका यति कथाकन जो कन्छन्,
सबथोकले ती जन पूर्ण भइरहन्छन्। 
धन–पुत्र–राज्यहरू कमी हुँदैन केही,
पाप हर्नलाई मुख्य छ धर्म यही।’

उत्तरकाण्डमा आदिकवि भानुभक्तले शम्भूको मुखबाट राज्याभिषेकको कथा सुन्ने इच्छा प्रकट गर्छिन् पार्वतीले। तदुपरान्त शम्भु सविस्तार यो कथा भन्नुहुन्छ र पार्वती ध्यानमग्न भएर सुन्नुहुन्छ। यसै प्रसंगमा यस काण्डको प्रारम्भ हुन्छ र यसमा लवकुशको संक्षिप्त चर्चा गरिन्छ :
‘सीताका पनि दुई पुत्र सुकुमार जम्ल्याहा पैदा भया। 
बाल्मीकि ऋषिले ती पुत्र दुईको नाम कर्म गर्दा भया। 
जेठाको कुश नाम धरया, लव भनी जुन चाहिँ कान्छा थिया। 
तिनको नाम धरया क्रमैसित अनेक शास्त्रै पढाइ दिया।’

महाकवि तुलसीदासले यस प्रसंगको उल्लेख गरेर उत्तरकाण्डमा समाहित गरेका छन् :
‘उमा अवधवासी नर–नारी कृतारथरूप, 
ब्रम्हा सच्चिदानन्द धन रघुनायक जहँ भूप।’

महाकवि तुलसीदासले कलियुगका कुरीतिहरूलाई सविस्तार वर्णन गरेका छन्, जुन आजको सन्दर्भमा पनि शतप्रशित घटित भइराखेको छ। एउटा वानगी :  
‘सोई सयान जो परधन हारी।
जो कर दम्भ सो बड आचारी 
जो कर झूठ मसखरी जाना।
कलियुग सोइ गुनवंत बखाना।’

निष्कर्ष : दुइटै महान् कविहरूको उद्देश्य राम कथा हो। दुइटैको अभीष्ट पनि इष्टदेव राम हुन्। यसप्रकार आचार्य भानुभक्तको रामायण र महाकवि तुलसीदासको राम चरित मानस अहिलेको सन्दर्भमा वैश्विक र सांस्कृतिक दूतको भूमिका सफलतापूर्वक निर्वाह गरिराखेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.