जसले होटललाई सांस्कृतिक सम्पदा बनाइन्
काठमाडौं : पर्यटन व्यवसायी एवं महिला उद्यमी अम्बिका श्रेष्ठको निधन भएको छ। बत्तीसपुतलीस्थित द्वारिकाज होटलकी अध्यक्ष श्रेष्ठको बिहीबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ। श्रेष्ठ लामो समयदेखि निमोनिया र बाथरोगबाट ग्रसित थिइन्। उनको शनिबार अन्तिम दाहसंस्कार गरिने होटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सन् १९३३ फेबु्रअरीमा भारतको सिक्किममा जन्मिएकी अम्बिका नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विवाह गरेपछि काठमाडौं छिरेकी थिइन्। श्रेष्ठ दम्पती मिलेर बत्तीसपुतलीमा गोठबाट व्यवसाय सुरु गरे। उनीहरूले नेपाली कला र संस्कृतिलाई होटल व्यवसायको माध्यमबाट विश्वभर चिनाउने भूमिका निर्वाह गरे।
द्वारिकाज होटल सम्पदा होटलका रूपमा नेपालमा मात्र नभई विश्वमा प्रसिद्ध छ। श्रीमान्को मृत्युपछि अम्बिकाले हरेस खाइनन्। बरु द्वारिकाजलाई नयाँ उचाइमा लैजान सफल भइन्।
उनले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरताको प्रवर्द्धनमा आफ्नो जीवन समर्पित गरिन्। फरकपनकै कारण द्वारिकाज होटलमा बस्न मात्रै पनि विदेशीहरू नेपाल आउने गरेको अन्य पर्यटन व्यवसायी बताउँछन्। पुराना वस्तुहरूको जगेर्ना गर्दै नेपाली संस्कृतिलाई द्वारिकामा आकर्षक ढंगले सजाइएको छ। नेपालको पहिलो बुटिक होटलका रूपमा पनि द्वारिकाज मानिन्छ।
नेपाली कला र संस्कृतिको संरक्षणमा परम्परागत नेपाली वास्तुकला र समर्पणका लागि प्रख्यात काठमाडौंको हेरिटेज होटल द्वारिकाजको अध्यक्षको भूमिकाका लागि उनी चर्चित छिन्। परम्परागत नेवारी वास्तुकला र आधुनिक विलासिताको अनुपम मिश्रणका लागि प्रसिद्ध द्वारिकाज होटल परिसरमा धेरै सम्पदा भवनहरू समावेश छन्। ती भवनहरू उत्कृष्ट काष्ठकला, टेराकोटा, र इँटा शिल्प कौशलद्वारा सज्जित छन्।
होटलमा प्रयोग गरिएका काठको कामको प्रत्येक टुक्रा सावधानीपूर्वक पुनस्र्थापना गरिएको छ । द्वारिकाजसँगै होटलका रिसोर्ट तथा रेष्टुँराहरू पनि सञ्चालनमा छन्। स्वास्थ्यमा समस्या आउन थालेपछि उनकी ठूली छोरी संगिता श्रेष्ठ र नाति विजयले अहिले होटलको व्यवस्थापन हेर्दै आएका छन्। कान्छी छोरी विनिता श्रेष्ठ भने अमेरिकामा छिन्।
श्रेष्ठको निधनप्रति होटल संघ नेपालले गहिरो दुःख प्रकट गरेको छ। श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियन्ता गुमाएको होटल संघ नेपालका अध्यक्ष विनायक शाह बताउँछन्।
श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शाह अम्बिका श्रेष्ठले यस क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताउँछन्। ‘होटल व्यवसाय धेरैले चलाएका छन्। तर, उहाँले कला, संस्कृतिलाई जोडेर नयाँ प्रयोग गर्दै द्वारिकाज होटललाई अघि बढाउनुभयो,’ शाह सम्झिन्छन्। श्रेष्ठले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई संसारका आकर्षक र महँगा गन्तव्यमा बजारीकरण गर्न आवश्यक भएको बताउने गरेको शाह सुनाउँछन्। होटल व्यवसायमा मात्र नभई ट्राभल एन्ड टुरलगायतका दर्जनभन्दा बढी संघ–संस्थालाई हाक्न पनि सफल भइन्।
सफल महिला उद्यमीको रुपमा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन्। अम्बिका श्रेष्ठको कृतिले नेपालको सांस्कृतिक परिदृश्यमा अमिट छाप छोडेको छ। द्वारिकाज होटलमा उनको नेतृत्व र विभिन्न सामाजिक पहलहरूमार्फत उनले नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेकी छिन्। उनको विरासतले उद्यमशीलता, आतिथ्य र सांस्कृतिक संरक्षणको क्षेत्रमा धेरैलाई प्रेरणा दिइरहेको छ र दिइरहने छ।