चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन्। गत आर्थिक वर्षमा एक लाख ७६ हजार तीन सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। आव २०७९/८० मा दुई लाख पाँच हजार ६ सय पाँच आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए। गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ तथा आव २०७९/८० मा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए। अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९/८० मा ५५ हजार आठ सय ७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए। आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए।
यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो। आव २०७६/७७ मा १९ करोड ९२ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो। निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि पर्यटकको तथ्याङ्क राख्न थालिएको हो। सो आवमा आठ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्याङ्क छ। सो आवमा एक लाख ४० हजार राजस्व सङ्कलन भएको थियो। आव २०३२/३३ मा दुई हजार दुई सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा दुई लाख एक हजार राजस्व सङ्कन भएको थियो।
सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताए। भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनले उल्लेख गरे। रासस
प्रतिक्रिया दिनुहोस !