पर्सामा सवारी दुर्घटनाबाट एक वर्षमा ५१ जनाको मृत्यु
वीरगन्ज : पर्सामा सवारी दुर्घटना बढेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ६६ प्रतिशतले बढी सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। यस्तै सवारी दुर्घटनाको संख्यासँगै मृत्यु हुने र घाइते हुनेको संख्या पनि बढेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा पर्सामा ५ सय ४४ वटा सवारी दुर्घटना भएको र त्यसमा ७ सय ९६ वटा सवारी साधन परेका छन्। ती दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको छ भने ८ सय ४ जना घाइते भएका छन्। ८ सय ४ जना घाइतेमध्ये गम्भीर घाइतेको संख्या ८४ र सामान्य घाइते हुनेको संख्या ७ सय २० रहेको छ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पर्सामा ३ सय ५९ वटा मात्र सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ४ सय ६ वटा सवारी साधन परेका थिए। अघिल्लो आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा परेर ३९ जनाको मात्रै मृत्यु भएको थियो भने ४ सय ९९ जना घाइते भएका थिए।
गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा सबै भन्दा बढी ५ सय ५४ वटा मोटरसाइकल परेका छन्। यस्तै ५७ वटा टेम्पु, ५४ वटा कार/जीप, २९ वटा ट्याक्टर, २९ वटा ट्रक ,२८ वटा ट्याक्टर र १० वटा बस दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए।
पर्सामा सवारी दुर्घटनाको संख्या बढ्नुमा दुई/तीन वटा कारणहरू रहेको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले बताए। उनले भने,‘पहिले पहिले गाउँहरूमा हुने ससाना दुर्घटनाको रेकर्ड प्रहरी रेकर्डमा आउँदैनथ्यो। तर अचेल कुनै पनि ठाउँमा साना सानो दुर्घटना हुँदा पनि त्यसको रेकर्ड प्रहरीसम्म आइपुग्छ।यही कारणले हाम्रो डाटामा दुर्घटनाको संख्या ह्वात्तै बढेको देखिन गएको हो।’
अर्को जिल्लामा सवारी साधनको संख्या पनि थपिँदै गएकाले दुर्घटनाको संख्या पनि बढ्न थालेको उनले बताए। यसका साथै गाउँ गाउँमा नयाँ सडक बन्दै गएको र त्यहाँ सवारीसाधनको आवागमन बढेका कारणले पनि दुर्घटनाको संख्या बढ्न थालेको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले तर्क दिए।
जिल्लामा दुर्घटनाको संख्या न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघसंस्थाको समन्वयमा समुदाय, विद्यालय र सडकमै पनि ट्राफिक नियम पालनासम्बन्धी सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न थालेको उनले बताए।