दुप्चेश्वरमा १० लाख भेटी
नुवाकोट : दोस्रो पशुपतिनाथको रूपमा पुजिँदै आएको नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा दैनिक रुपमा तीर्थालु पुग्ने क्रम बढिरहेको छ। भक्तजनले चढाएको भेटीसमेत दैनिक रूपमा गणना गरिँदै आएको छ।
दुप्चेश्वर गाउँपालिका–६ रामती पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा गत वैशाख १ गतेदेखि दैनिक रुपमा भक्तजनहरूले चढाएको भेटी गणना गरिँदै आएको छ। हिन्दू तथा वौद्धमार्गीहरु सो मन्दिरमा पुग्ने गरेको मन्दिरका संरक्षक तथा दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा बताउँछन्।
उनका अनुसार दुप्चेश्वरमा दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्। दुप्चेश्वरमा देश तथा विदेशबाट सर्वसाधारण मन्दिर पुगि दर्शन गर्दै दुप्चेश्वरमा दूधका साथै भेटी चढाउने गरेका छन्।
दुप्चेश्वरमा तीन महिनामा १० लाख ५८ हजार पाँच सय ८७ रुपैयाँ संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।