मध्यपहाडी लोकमार्ग फेरि बन्द
रुकुम पूर्व : बुधवार साँझदेखि मध्यपहाडी लोकमार्ग फेरि बन्द भएको छ। बुधवार साँझ झरेको पहिरोका कारण मध्य पहाडी लोक मार्ग बन्द भएको हो।
मध्यपहाडी लोक मार्गको रुकुम पूर्व खण्ड बन्द भएपछि रुकुमकोट रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ नेपालगन्ज तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने गाडीहरू ठप्प भएका छन्।
जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित रानीकोट भन्ने स्थानमा पहिरो झरेको छ। सडक माथिबाट ठूलो पहिरो झरेको कारण तत्काल सडक सञ्चालन गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।
शर्माका अनुसार सडक खुलाउन प्रयास गरिएको र वर्षा नभए दिउँसोसम्म सडक सञ्चालनमा आउने बताए।
मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने रुकुम पूर्वको रानिकोट र रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को किटिनीमा बारम्बार पहिरो झर्दा यात्रुहरूले दुख पाउने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !