आफूलाई दाग लाग्न नदिने मुख्यमन्त्री लामाको प्रतिबद्धता
![आफूलाई दाग लाग्न नदिने मुख्यमन्त्री लामाको प्रतिबद्धता](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_5jFMOy7Q90_EawMut6WkD.jpg)
नुवाकोट : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजनीतिमा आफूलाई दाग लाग्न नदिने प्रतिबद्धता जनाएका छन्। आफूले लगाएको सेतो दौरा सुरुवाल र नेपाली ढाका टोपीको गरिमा राखेर आफूले कुनै पनि किसिमको दाग लाग्न नदिने प्रतिवद्धता जनाएका छन्।
नुवाकोटको कोलोनीमा शुक्रवार त्रिशूली अस्पतालको ६० औं वार्षिकोत्सव तथा सिटिस्क्यान मेसिनको उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले आफूले सदा जनपक्षीय काम गर्ने बताए। बागमती प्रदेशको नेतृत्व कांग्रेस र एमालेको सहकार्यमा आफूले गरेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले आफ्नो कार्यकालमा प्रदेशमा केही न केही गरेरै देखाउने दावी गरे।
उनले आफूले सुशासन र वित्तीय नियन्त्रण अर्थात् अनुशासनलाई पहिलो प्राथमिकतामा राखेको ठहर गर्दै यसबाटै परिवर्तनको सुरुवात गर्ने समेत ठहर गरे। आफूले नुवाकोट २ को ख बाट निर्वाचन जितेकोमा मतदाताहरूलाई धन्यवाद दिँदै माग र आवश्यकताको पहिचान गरि विकास, निर्माण, स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्ने बताए। उनले शिक्षा र स्वास्थ्य मानवको पहिलो आवश्यकता भएका कारण यसलाई बिग्रिन नदिने बताए।
यसअघि मुख्यमन्त्री तामाङलाई विदुरस्थित पार्टी कार्यालयमा कांग्रेस क्षेत्रीय समिति, नुवाकोट निर्माण व्यवसायी संघले स्वागत तथा सम्मान गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)