पर्साको ग्रामीण भेगबाट चरेस र गाँजासहित तीन भारतीय पक्राउ
![पर्साको ग्रामीण भेगबाट चरेस र गाँजासहित तीन भारतीय पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_77BfqgkbHc_ukgBnfREWi.jpg)
वीरगन्ज : पर्साको ग्रामीण भेगबाट नेपालबाट लागू औषध चरेस र गाँजा तस्करी गर्दै गरेको अवस्थामा तीन जना भारतीय पक्राउ परेका छन्।
पोखरिया नगरपालिका-१ बनकटवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध चरेससहित भारत बिहारको पश्चिम चम्पारण जिल्लाको विसुनपुर मटेर्वाका १८ वर्षीय कुञ्जन कुमार महतोलाई पक्राउ गरेको हो।
पोखरियास्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको महतो सवार बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा मोटरसाइकलको डिक्कीभित्र र सिटमुनी लुकाएर राखिएको २४ प्याकेटमा रहेको १२ केजी चरेस बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।
चरेस र मोटरसाइकल पक्राउ परेका महतोलाई आवश्यक कारबाहीका लागि आइतबार इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको जानकारी उनले दिए। यस्तै पर्साकै जगरनाथपुर गाउँपालिका-२ दसौतास्थित सीमा क्षेत्रबाट पनि लागूऔषध गाँजासहित दुई भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारकै पश्चिम चम्पारण जिल्लाको मझरिया जमुनिया गाउँका ३२ वर्षीय सुरेश साह र तेलुवा गाउँकी सुगान्ती मलाहा रहेका छन्।
पर्साको भीखमपुरस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआ २२ बीजे ३८९५ नम्बरको मोटरसाइकल दसौता गाउँमा रोकेर चेकजाँच गर्दा झोलबाट ४ केजी गाँजा फेला परेपछि चालक सुरेश र उनीसँगै मोटरसाइकलमा सवार रहेकी सुगान्तीलाई नियन्त्रणमा लिएको हो।
दुवैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरीयामै बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)