प्रतिपक्षमा रहेर पनि जनताकै पक्षमा

पुस्तक

प्रतिपक्षमा रहेर पनि जनताकै पक्षमा

कविता कविता नभएर जीवनका पोट्रेटजस्ता लाग्छन्। यी कविताको भाषा बेजोड छ। भाव चामत्कारिक छ। विषय स्वादिष्ट छ अनि विचार स्पष्ट छ।

लहना भनेको के हो सर ? हातमा ‘लहना र तीर’ पुस्तक देखेपछि कक्षा ११ मा पढ्ने विद्यार्थीले सोधे। मेरो उत्तर नकुरी अर्को विद्यार्थी लालबुझक्कडको शैलीको प्वाक्क बोल्यो– लहना भनेको गहना हो। 

तीर भनेको शिर हो। जे पायो त्यै शैलीमा अनुप्रास मिलाउने अल्लारे बुद्धिले हैरान हुन्छु। उनीहरूलाई अर्थ स्पष्ट पार्नेतिर नलागी त्यसको अन्तर्यतिर घोत्लिन थाल्छु जुन २०८० असोजमा प्रकाशित भएको हो।

किताबमा ४९ ओटा कवितालाई चार खण्डमा विभक्त गरिएको छ। ‘बागी कवि’, ‘पण्डित र नगरवधू’, ‘अस्मिताको प्रेमगीत’ र ‘लहनामा सूर्योदय’ गरी कविताका चार खण्ड, चार हिस्सा वा चार भाग छन्। यी चारै उपशीर्षकमा उनिएका कवितामा जादुयी रैथाने स्वाद छ। यी कविता कविता नभएर जीवनका पोट्रेटजस्ता लाग्छन्। यी कविताको भाषा बेजोड छ। भाव चामत्कारिक छ। विषय स्वादिष्ट छ अनि विचार स्पष्ट छ। सरल बिम्बभित्र गहन प्रतिबिम्ब छ। बडो धैर्य गरेर, बडो हिफाजतसाथ, बडो लगन र परिश्रम लगाएर लेखिए झैं लाग्ने बुक हिलद्वारा प्रकाशित संग्रहभित्रका कविता कुशल कालिगडको कलाजस्ता जीवन्त छन्।

कविले जे भने पनि उनका कवितामा न विचारको भारीभड्कम बोझ देखिन्छ, न कलाको असुहाउँदो लेपन र शृंगारपटार। बरु सन्तुलित विचार र सुस्वाद कलाले परिपूर्ण लाग्छन् उनका कविता। पढिनेभन्दा सुनिने, सुनिनेभन्दा हेरिने अनि हेरिनेभन्दा प्रदर्शित हुने वर्तमान कविताको दौडमा अभयका कविता एकान्तमा बसेर पढ्न लेखिएका हुन्। ‘वागी कवि’ कविता खण्डमा समाजको पिँधमा बसेका मानिसका हुँकार छन्। यी कवितामा गहिरो दर्शन छ। जीवनप्रतिको मोह छ। आशावादिताको आवाज छ।

सकारात्मक ऊर्जाले भरिएका यस खण्डका कविता पढिसक्ता शब्दामृतले पखालिए जस्तै गरी तनमन महकिन थाल्छ। यहाँ संलग्न साढे आठ जोर कविताका स्वाद, शैली र भंगीमा फरक छन्। तिनका आकार–प्रकार र लम्बाइ–चौडाइ पनि फरक छन् तर तिनका गहिराइ अनन्त छन्। तिनले बोक्ने अर्थ गहिरोसँग दिलमा गाडिन्छन्। तिनले दिने स्वादले दिल तृप्त हुन्छ। अनि भन्न मन लाग्छ– वाह कवि ! ग्रिसेली कथाबाट प्रेरित एक कविताले भन्छ–
के ठान्यौ तिमीले हामीलाई ?
सायद अछूत प्रेमी ठान्यौ
र जिउँदै पुरी दियौ
हामी बिउ थियौं र उम्रियौं।

(दलन, पृष्ठ ३७)

किताबको ‘पण्डित र नगरवधू’ कविता खण्डमा नारी संवेदनाका स्वरहरू छन्। नारीहरूलाई रुढिग्रस्त समाजले देवी, सती र सावित्री भनी भनी शोषण गर्‍यो। सृष्टिकी मुहान, आदर्शकी प्रतिमूर्ति, सहनशीलताका खानी भनी भनी जुलुम गर्‍यो। अभयले पाखण्डको लेपभित्र छिपाइएको नारी शब्दको गहनतालाई काव्यिक चेतको सरसता खन्याएर उजिल्याउने प्रयास गरेका छन्।

यस खण्डका नोरादेखि नगरवधूसम्म, देवीदेखि हेलेन मोलरसम्म, वादी युवतीदेखि भिक्षुणीसम्म अनि आम नारीदेखि आमासम्मका अनेक उच्छवासहरू पोखिएका छन्। यस लोकको सर्वस्वीकार्य मान्यता के हो भने ‘संसारमा सन्तानबिनाका आमा हुन सक्छन् तर आमाबिनाका सन्तान हुन सक्दैनन्।’ अभयले कवितामा नारीको यही सर्वमान्य भावलाई वैचारिक रसायनमा घोलेर जीवनको रङसित मिसाएका छन्।
‘जुनसुकै आमा किन ओर्लिन्छन् धरतीमा
आमाकै देह र चित्तको अंश भएर ?
एकपल्ट आमाको आँखाको ऐनामा 
आफ्नै आँखालाई नियालेर हेर।’

(सुश्री आमा सुन्दरी, पृष्ठ ४३)

कविताको अर्को खण्ड हो, ‘अस्मिताको प्रेमगीत’। यस खण्डमा जन्मनु र मर्नुबीचको अस्तित्व खोजिरहेका मानिसका भावना मुखरित भएका छन्। यहाँ पाँचजोर कविता समाहित छन्। यी कविताले यस धर्तीमा कर्मशील मानिसले बगाएको रगत र पसिनाको, श्रम र सीपको अनि आँसु र दुःखको हिसाब किताब मागेका छन्। साथै निस्वार्थ पे्रम र समर्पण भावको मान्यताको अपेक्षा गरेका छन्। इतिहासदेखि वर्तमान समयसम्म गरिखाने मानिसलाई ठगीखाने मानिले जिल्याइरहेका छन्। साथै यहाँ शासक र शासित, उच्च र निम्न, साना र ठूला अनि कुलीन र मलिन नागरिकबीच विभेदको पर्खाल ठडिएकै छ। न्याय, समानता र अधिकारका जति नै कुरा गरे पनि यहाँ शक्तिशालीले शक्तिहीनलाई पेलेको पेलै छन्।

किताबको अन्तिम खण्डमा ‘लहनामा सूर्योदय’ उपशीर्षकका दस कविता छन्। यहाँ सत्यलाई साक्षी, आज्ञाकारी कमरेड आँखा खोल्छ र क्रान्तिको पाठशालाजस्ता बलशाली कविता छन्। राम्रो कवि नाम, दाम र शक्तिको पछि लाग्दैन। बरु शासन र सत्ताका असंगत पक्षमाथि कटाक्ष गर्छ। अभयका कविता सदा प्रतिपक्षमा रहेर शासनको शकुनी नाच हेरिरहेका जनताका पक्षपाती हुन्। यिनी समयलाई धोका दिने शासक गणका कुकृत्यमाथि खबरदारी गरिरहेका छन्। अभय सत्य, न्याय र समताका आवाज उरालिरहेका छन्। भन्छन्– ‘अब सत्यलाई पनि सत्य सावित हुन साक्षी चाहिन्छ।’ समग्रमा उनका कवितामा विचारलाई कलाले पोतिएको हुन्छ। कवितामा गहन दर्शन पनि भेटिन्छ।

अभयका कविताका पनि केही सीमा छन्। नारी अस्मिताको सन्दर्भ उठाउँदै गर्दा नारीमाथि प्रयोग भएका वेश्या... नगरवधू ...जस्ता शब्द केही ठाउँमा भद्दा लाग्छन्। उनका कवितामा शुकरात र बुद्ध पुनरावृत्त भइरहन्छन्। हुन त राम्रो कविता कुनै वादको राजमार्गमा दौडिँदैन तर पनि माक्र्सवादी कवि भनेर चिनिएका अभयका कवितामा कताकति पूर्वीय दर्शन र संस्कृतिको मोह देखिन्छ। यसो हुनु आफैंमा नराम्रो भने कदापि होइन। कसैले यसलाई विरोधाभाष पनि भन्न सक्छन्।

‘लहना’को शब्दकोशीय अर्थ ‘ब्याज, मुनाफा आउने गरी रकम लगाउने, लगानी हो। साथै लेनदेनको व्यवहार अथवा भाग्यभोग पनि हो। तर नेवारी सभ्यतानुसार लहना भनेको सभ्यता हो। तीर भनेको बाँण वा काँडा हो। हाम्रो सभ्यतामाथि तीर प्रहार भइरहेको अवस्थामा यसको शीर्षक अझ प्रिय लागेर आउँछ। निष्कर्षमा के भन्न सकिन्छ भने मेरो विद्यार्थीले जानी नजानी लहना भनेको ‘गहना’ हो भने झैं लहना र तीर नेपाली कविता फाँटको एक गहना नै हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.