आङ खस्ने समस्यामा दोषी को ?
पहाडी जिल्लाका महिलाको पीडा आजसम्म घट्न सकेको छैन। सुदूरपश्चिमका महिला देशको अन्य भागका महिलाभन्दा बढी पीडित छन्। सामाजिक संरचना पितृसत्तामा आधारित रहेको यथार्थ महिलाले दोस्रो दर्जाको नागरिकसरह व्यवहार पाउनुले स्पष्ट पार्छ। महिलाको मानव अधिकारमध्ये प्रजनन स्वास्थ्यको अधिकार संविधानको मौलिक हकमा उल्लेख छ। तर, पनि यी जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भोग्न बाध्य छन्।
महिलाका तमाम समस्यामध्ये अति जटिल र संवेदनशील हो, पाठेघर खस्ने समस्या। पाठेघर खस्नुअघिको हेलचक्र्याइँ र पाठेघर खसिसकेपछि उचित उपचार नपाउनाले महिला पीडित रहेको छर्लङ हुन्छ। पाठेघर खस्ने समस्याले महिलाको प्रजनन स्वास्थ्यमा प्रत्यक्ष असर पार्नुका साथै सामाजिक, शारीरिक र पारिवारिक दाम्पत्य जीवनसँगै भावनात्मक विकार पैदा हुन्छ। यसरी, जीवन नै निरर्थकतामा परिणत भएका थुपै्र उदारण हाम्रा सामु छन्।
बझाङ देउलीकोट गाविसकी ५५ वर्षीया पवि पुजारा (नाम परिवर्तन)को पाठेघर खसेको २२ वर्ष भयो। उनका १ छोरा, २ छोरी छन्। उनको पहिलो बच्चामै पाठेघर खसेको हो। सुरुमा उनको पाठेघर अलिकति मात्र खसेको थियो। बर्सेनि बच्चा पाउँदा, उचित खानपान र आराम नपाउँदा उनको पाठेघर पूरै खस्यो। पहिला उनले छोरी पाइन्। भन्छिन्, ‘छोरो होला भन्ने सोचेको छोरी नै भई।’ बोझिलो काम गर्दा पाठेघर खस्यो। पाठेघर खस्दा धेरै दुःख भयो उनलाई तर पीडाभन्दा पनि लाज ठूलो हुने। अपमानित हुन्छु कि भनेर उनले श्रीमान्लाई पनि भनिनन् कैयौं समय।
बझाङ कोटभैरवकी ४४ वर्षीया मन्जु भण्डारी (नाम परिवर्तन)को समस्या सुन्दै कहालीलाग्दो छ। भन्छिन्– ३ बच्चाको असुरक्षित गर्भपतन गराउँदा पाठेघर खस्यो। ५ छोरा र २ छोरी जम्मा ७ सन्तान छन्। इच्छा त थोरै सन्तान मात्र जन्माउने थियो, तर सुरुमा छोरीमात्र जन्मी र छोरोको आशामा धेरै सन्तान जन्मन पुगे। अप्रेसन गर्न श्रीमान्ले मान्नु भएन र परिवार नियोजनका अस्थायी साधन पनि प्रयोग नगर्दा नचाहँदा नचाहँदै यस्तो भयोे। ‘गाउँघरको जडिबुटी प्रयोग गरीे तीनवटा बच्चा गर्भपतन गरे। दोस्रो बच्चा गर्भपतन गराउन स्वास्थ्यचौकी गएँ, तर पैसा लाग्ने भनेका कारण तीनवटै बच्चाको गर्भपतन पाठेघरमा आफैं जडिबुटी राखेर गराएँ’, उनको भनाइ छ।
यसरी परम्परागत शैलीमा असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या प्रशस्त भेटिन्छ। सुरक्षित गर्भपतन गराउने कानुनी व्यवस्था हुँदाहँुदै कतिपय महिलामा कानुनी सेवाका बारेमा जानकारी नहुँदा समस्या भोगिरहेका छन्। कतिपय महिला आफ्नै हेलचेक्र्याइँका कारणले मृत्युको मुखमा पुग्न बाध्य छन्। गाउँघरमा अझै पनि असुरक्षित गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव हुने, पाठेघरमा घाउ भई क्यान्सरसम्म हुने, पाठेघर खस्ने, तल्लो पेट दुख्ने, अकालमा मृत्यु हुने र बाँझोपनकोे सम्भावना हुन्छ। असुरक्षित गर्भपतन गराउँदा हुने जोखिमका बारेमा पर्याप्त जानकारी नहुनु र सुरक्षित गर्भपतन गराउने सेवामा महिलाको सहज पहुँच नभएका कारण अझै महिला असुरक्षित गर्भपतन गराइराखेका छन्। महिलाको पाठेघर खस्नुका कारणमध्ये असुरक्षित गर्भपतन एक हो।
बाजुरा मार्तडीकीे रानी खड्का (नाम परिवर्तन)को कथा अझ मार्मिक छ। छोराको आशामा धेरै बच्चा जन्मिए। १४ वर्षमा विवाह भयो। १५ वर्षमा छोरी पाइन्। १० बच्चा पाइन्, ७ को निधन भयो। पाँचौं बच्चामा पाठेघर खस्यो। श्रीमान्ले उनको समस्या बुझेनन्। सन्तानलाई पढाउन सक्ने अवस्था छैन। सानै उमेरमा बच्चा जन्माउनु परेको र बच्चा पाइसकेपछि पनि उचित आराम र राम्रो खानपान नपाएकाले पाठेघर खसेको उनको भनाइ छ। ‘हिँड्डुल गर्न गाह्रो, अलिकति काम गर्दा पनि ढाड दुख्ने, दिसापिसाब गर्न गाह्रो हुने, के गर्ने ? जति पीडा भए पनि काम नगरी खान पुग्दैन’, उनी भन्छिन्।
यस्तै दुःखदायी कथा छ– अछाम सिउडी गाविसकी जुना साउद (नाम परिवर्तन) को। जुनाका तीन छोरा छन्। पहिलो बच्चापछि उनको पाठेघर खसेको अहिले २५ वर्ष भयो। सुत्केरी अगाडि र पछि आराम र खानपानमा ध्यान दिनुपर्छ भन्ने चेतनाको कमीका कारण उनको पाठेघर खसेको हो। सुत्केरी भएको १० दिनमै ओखलमा धान कुट्नु पर्दा पाठेघर खसेको उनको भनाइ छ। २०६६ फागुनमा जाँच गराउँदा उनलाई अप्रेसन गर्न जान सल्लाह दिइयो। शल्यक्रियाका लागि लाग्ने खर्च एउटा संस्थाले ब्यहोर्ने भनिए पनि सँगै जाने साथी कोही नभएका कारणले जान पाइनन् उनी। हुनतः उनका छोरा, बुहारी र श्रीमान् छन् तर १२ छोरा १३ नाति, घरको काम महिला माथि भने झैं छ।
अछाम साँफेबगर नगरपालिका–१२ खप्तडकी ५० वर्षीया पार्वती विकको पनि यस्तै दर्दनाक कथा छ। पाठेघर खसेर हिँड्डुल गर्नै गाह्रो छ। श्रीमान् छैन, छोरो नोकरीको सिलसिलामा भारतमा छ। पोहोर साल छोराले औषधि गर्दिएला भन्ने थियो उनलाई। त्यही आशमा भारत पुगिन् तर छोराले अप्रेसन गरिदिएन। रुँदै घर फर्किइन् उनी। अछामको बयालपाटा पनि पुगिन्, उताबाट पनि त्यसको उपचार हुँदैन, धनगढी या नेपालगन्ज जानुपर्छ भने। उनीसँग त पैसा पनि थिएन। कसरी उपचार गरून् ?
पाठेघर खसेर महिलालाई समस्या हुँदाहुँदै पनि समाज र परिवारबाट अपहेलित भइन्छ कि भनेर कसैलाई नभनेर लुकाएर राख्ने परम्पराले गर्दा यो समस्या जटिल बन्दै गएको हो। ग्रामीण क्षेत्रमा यसरी पाठेघर खसेर मरणतुल्य हँुदाहँुदै पनि घरको सम्पूर्ण काम गर्नुपर्दा महिलाको स्वास्थ्य स्थिति झन् नाजुक बन्दै गइरहेको छ। सदियौंदेखि समाजमा जकडिएको देखिने र नदेखिने महिनावारी विभेदले निर्माण र सबलीकरण गरेको पितृसत्तात्मक समाजका कारण महिला अनेक समस्या व्यहोर्न बाध्य भएको देखिन्छ।
सानै उमेरमा विवाह हुनु, सानै उमेरमा बच्चा जन्मिनु, छोराको आशामा धेरै छोरी जन्मिनु, जन्मान्तर पनि छोटो हुनु, गर्भवती समयमा राम्रो खानपान नहुनु, सुत्केरीको १०–१५ दिनमै ओखलमा धान कुट्नुपर्ने लगायत बोझिला घरायसी कार्यले महिलामा धेरै समस्या देखिएको र बढेको पाइन्छ। दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु र अन्य घरेलु हिंसाका कारण महिलाको पाठेघर खसेको पाइन्छ। समाजमा अन्य महिलाको पनि पाठेघर खसेको छ। यो समस्या सबैमा छ मेरो पनि यस्तै त हो भनेर कसैलाई पनि नभनी लुकाउने कारणले मूलतः महिलाहरू सदियांैदेखि पीडित बन्दै आएको देखिन्छ।
महिलालाई बच्चा पाउने र काम गर्ने मेसिनको रूपमा मात्र हेरिएको छ। महिलाको पाठेघर खस्नु एउटा संवेदनशील र जटिल समस्या हो। हिमाल, तराई, पहाड जता पनि यो समस्या छ। महिला स्वास्थ्यको अधिकार र पाठेघर खस्ने सवाललाई गम्भीर रूपमा लिई चेतना जगाए मात्र पाठेघर खस्नेको संख्यामा कमी आउने छ। अन्यथा महिला स्वास्थ्यको बिग्रँदो स्थिति देशले ब्यहोर्नु पर्ने छ। यसले विकासको गतिलाई समेत असर पार्ने छ। अतः राज्यले यस सवाललाई सरकारी नीतिमा पारेर शल्यक्रियात्मक उपचारका साथै पाठेघर खस्न नदिने प्रभावकारी उपाय अपनाउन जरुरी छ।