कपिलवस्तुको हथिहवा सीमा क्षेत्रबाट कवाडी सामानको तस्करी बढ्दो

कपिलवस्तुको हथिहवा सीमा क्षेत्रबाट कवाडी सामानको तस्करी बढ्दो
विभिन्न स्थानबाट संकलन गरी ल्याएको नेपाल भारत सीमा नजिक कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.५ गनवरियामा स्टक गरी राखिएको कवाडी सामानहरू। तस्बिर : फोटो गोपाल भण्डारी

कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका क्षेत्रको नेपाल भारत सीमाबाट कवाडी सामानहरूको भारततर्फ तस्करी बढेको छ । कवाडी व्यवसायीहरूले पछिल्लो समय शुद्धोधन गाउँपालिका वडा नम्बर ५ को गनवरियामा कवाड सामग्रीहरू संकलन गरी राखेका छन् । 

कारोवारीहरूले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सेटिङ मिलाएर भारततर्फ निकासी गर्दै आएका छन् । शुद्धोधन गाउँपालिकाको गनवरिया गाउँनजिकै स्टक गरेको कवाड सामग्रीहरू ट्याक्टर, ठेला र मोटरसाइकलमा सीमा पार गरी भारतीय क्षेत्रसम्म पुर्‍याइने गरेको पाइएको छ।

काठमाडौं, पोखरा, नारायणगढलगायतका स्थानबाट ट्रकमा लोड गरेर यहाँ प्लाष्टिक र फलामजन्य कवाड वस्तुहरू ल्याइन्छ । यहाँ ल्याइएका कवाड सामग्रीहरूलाई बोरामा प्याक गरेर सीमा पार गर्न स्थानीय सर्वसाधारणलाई समेत मिलाइएको छ । नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल विओपी हथिहवा भने अवैध धन्दा  भइरहे पनि मौन देखिएको छ । 

कवाड सामाग्री भारत तर्फ निकासी गर्ने ठेकेदार भारतीय नागरिकले भने आफूले सबैलाई मिलाएर काम गरिरहेको बताए । स्थानीय प्रहरी चौकी, सशस्त्र प्रहरीलगायत सबैलाई मासिकरुपमै केही रकम दिएर कारोवार सञ्चालन गरेको उनले दाबी गरे । मासिक के कति रकम कसलाई दिएको भनेर सञ्चारकर्मीहरूले सोध्दा उनले भने,'यसरी दिएको रकम म खोल्दिन,कसैको मान प्रतिष्ठा र गोप्यताको कुरा हुन्छ ।' तर सबैलाई खुशी गराएर काम गरेको छु,'उनले भने ।

सशस्त्र प्रहरी बल नेपाल हथिहवा विओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुधिर बहादुर खड्काले भने अवैध ढंगबाट कवाड भारत निकासी प्रकरणमा आफूहरूको संलग्नता नभएको दावी गरे । तर उनले यस्तो दावी गरे पनि यहाँबाट निरन्तररुपमा अवैध ढंगबाट ट्याक्टरमा लोड भएर यहाँ डम्पिङ गरिएको कवाड सीमा पार गरी भारततर्फ पुगिरहेको छ ।

भारतीय बजार धनगढवा नजिकै करिब ५ सय मिटर पश्चिम दक्षिण तर्फको एक बगैचामा लगेर कवाड संकलन गरी राखिएको छ । यसरी भारतीय बजार धनगढवा पुगेको कवाडलाई भारतीय व्यवसायीले कवाड प्रशोधन गरिने भारतीय उद्योगसम्म पुर्‍याउने गरेका छन् ।

नेपालका काठमाडौं,पोखरा,नारायणगढलगायतका स्थानबाट संकलन गरिएको कवाडलाई अवैधरुपमा भारतीय बजारसम्म पुर्‍याउने यो कार्यमा विशेष गरी भारतीय व्यवसायी संलग्न छन् । उनले नवलपरासीका कवाड व्यवसायी सुरज चमारको नाममा फर्म दर्ता गरेर नेपालतर्फ कवाड सामग्री संकलन र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ५ गनवरिया नजिक सीमा क्षेत्रसम्म ल्याउने गरेका छन् । नेपाली व्यवसायीको आडमा भारतीय व्यवसायीले सीमा क्षेत्रमा खटिएको प्रहरी प्रशासनलाई मिलाएर ठूलो धन्दा नै चलाएका छन् । 

नेपाल तर्फबाट अवैध ढंगबाट कवाड लोड गरेर सीमा पार गर्दै गरेको दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिइ भारतीय सीमा सुरक्षा वलको सीमा कार्यालय कक्रहवा बुझाएको सीमा क्षेत्रमा खटिएका एक एसएसवीका अधिकारीले बताए । 

केही दिन यता पानी परेका कारण सीमा क्षेत्रको बाटो हिलाम्य भएका कारण भने अहिले कारोवार केही दिनका लागि रोकिएको छ । यसबारे  केही महिना पहिले आफूले जानकारी पाएको र यसलाई नियन्त्रणका लागि जिल्लास्तरीय बैठकमा आफूले कुरा उठाएको सुठौली भंसार कार्यालयका प्रमुख नारायण गैरेले बताए ।

हथिहवा छोटी भन्सार कार्यालय हाल सञ्चालन नआएका कारण सो क्षेत्रमा हुने यस प्रकारका अवैध गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूसँग समन्वय गरी काम भइरहेको सुठौली भन्सार कार्यालयले जनाएको छ ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.