धानको उर्वर भूमिमा उखु खेती
गुलरिया : बर्दियाको राजापुर र गेरुवा क्षेत्र धान उत्पादनको दृष्टिले पकेट क्षेत्र मानिन्छ। देशकै अन्नको भण्डार मानिने राजापुरमा चिनी मिल स्थापनाले स्थानीय किसानको आकर्षण उखु खेतीमा बढेको छ।
कर्णाली र गेरुवा (कर्णाली) दुई ठूला नदीको टापुमा अवस्थित भौराक्षेत्र धान उत्पादनका लागि अब्बल मानिन्छ। किसानले उक्त क्षेत्रमा उखु खेती गर्न थालेपछि धान खेती घट्ने चिन्ता थपिएको छ। राजापुरका स्थानीय छप्पुराम थारूले भने, ‘राजापुर क्षेत्रमा चिनी मिल सञ्चालनका लागि अनुमति नै नदिनु पर्ने हो।
खोइ सरकारले कसरी अनुमति दियो। किसानले उखु लगाउन सुरु गरेका छन्। वन्यजन्तु प्रभावित क्षेत्रसमेत भएकाले उखु बारीमा वन्यजन्तु लुकेर मानवीय आक्रमण गर्न सक्ने अर्को त्रास छ।’ थारूले थपे, ‘राजापुर नगरपालिकाको वडा नम्बर २, ४ र ८ र गेरुवा गाउँपालिकाका धानखेती योग्य जमिनमा उखुखेती गरिएको छ। धानको उर्वर क्षेत्रमा उखु खेती उपयुक्त भएन।’ धान उत्पादन हुने क्षेत्रमा यस्तो खेती गर्न अनुपयुक्त हुने उनको बुझाइ छ।
बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चैते धानको सुपर जोन तथा माछा र केराको जोन विस्तार गरिएको छ। जिल्लाका आठवटै पालिकामा कृषि उत्पादनको उत्पादकत्व वृद्धिको आधार छनोट गर्दै जोन तथा सुपरजोन विस्तार गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बर्दियाका अनुसार राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्र तथा ठाकुरबाबा नगरपालिका– ९ र बारबर्दिया नगरपालिका– ३ र ४ चैते धानको सुपरजोन हुन्।
राजापुरमा वर्षे र चैते गरी बाह्ैमहिना धान खेती गरिन्छ। उखु खेतीका कारण यस वर्ष राजापुरमा चैते धानको क्षेत्रफल र उत्पादन घटेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बर्दियाका कृषि अधिकृत ध्रुवराज जोशीले बताए। सुपरजोन तथा जोनमार्फत गत आर्थिक वर्षमा बर्दियामा ६ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको चैते धान खेतीबाट क्रप कटिङको आधारमा ३ हजार ४ सय ६ टन उत्पादन भएको छ।
उखु खेती गरिनुपूर्व आर्थिक वर्ष ०७९÷८० मा १ हजार १ सय ५० हेक्टर क्षेत्रफलमा ६ हजार ४ सय टन चैते धान उत्पादन भएको थियो। अधिकृत जोशीले थपे, ‘बाँकेको बैजनाथ गाउँपालिका– २, ३, ४, ७, ८, जानकी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्म र खजुरा गाउँपालिका वडा नम्बर २ र ४ लाई बर्खे धान जोन बनाई परियोजना एकाइ बर्दियामार्फत हेरिँदै आएको छ।
बाँकेमा २ हजार १ सय १० हेक्टर क्षेत्रफलमा गरिएको बर्खे धान खेतीबाट ८ हजार ९ सय २५ टन धान उत्पादन भएको छ। चैते धानका लागि पर्याप्त सिँचाइ सुविधा नहुँदा समस्या पर्ने गरेको जोशीले बताए। सडक पूर्वाधार निर्माणले सिँचाइ कुलोहरू मासिएका कारण खेतसम्म सिँचाइ पुर्याउन किसानले सास्ती व्यहोर्नु परेको छ।
धानसँगै माछा र केरा जोन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बर्दियामा धान सुपरजोन र बाँकेमा धान जोन सँगसँगै बर्दियामा केरा र माछाको जोनमार्फत उत्पादनलाई प्राथमिकता दिइएको छ। बाँसगढी नगरपालिका– १, २ र ३ गुलरिया नगरपालिकाको १ देखि ९ नम्बर वडा र मधुवन नगरपालिकाको ५ देखि ९ सम्मको वडा केरा जोन तोकिएको परियोजनाकी नायब सुब्बा विमला भण्डारीले बताइन्।
परियोजनाअन्तर्गत बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिकाको ४ देखि ९ नम्बर वडा, बारबर्दिया– ३, ४, ९ र १० गुलरिया– २, ४, ५ र ६, मधुवन– २, ३, ४ तथा ठाकुरबाबा नगरपालिका– १, ३, ४, ५, ६, ७, ८ र ९ लाई माछा जोन निर्माण गरिएको छ। उनले भनिन्, ‘गत वर्ष २ सय ९२ हेक्टर क्षेत्रफलमा गरिएको माछापालनबाट २ हजार १ सय ४५ टन माछा उत्पादन भएको छ।’