पार्टी प्रदूषित भयो, शुद्धीकरण अभियानमा जानैपर्छ : माओवादी अध्यक्ष दाहाल
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा शुद्धीकरण अभियान जारी रहेको बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठानिक विषयमा धारणा राख्दै दाहालले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले बताए।
'विभिन्न कारणले हाम्रो वर्गसँग सम्बन्ध टुटेको छ। संसदीय अभ्यासका क्रममा हामी कहीँ न कहीँ प्रदूषित भएका छौं। देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला लोकतन्त्र र जनताको जनजीविका खतरामा परिरहेका बेला पार्टी सबल हुनुपर्छ। त्यसका लागि शुद्धीकरण अभियान जरुरी छ,' अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले भने।
बैठकमा दाहालले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने र नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए। उनले स्पष्ट नीति, योजना नयाँ कार्यक्रमसहित जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए।
बैठक आइतबार पुनः बस्ने छ। जनपरिचालन, सङ्गठन निर्माण र विस्तारलगायतका एजेण्डमा केन्द्रित माओवादीले स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।