खुसी र सफलता कहाँ भेटिएला ?

खुसी र सफलता कहाँ भेटिएला ?

काठमाडौं : सफलता कहाँ पाइन्छ ? खुसी कसरी मिल्छ ? यस्तै प्रश्नहरूको जवाफको खोजीमा छन् आजका मानिस। झन् युवा पुस्ताको जीवनमा सफलता र खुसीले विशेष महत्व राखेको छ। कारण स्पष्ट छ, देश बनाउने अभिभारा आफ्नो काँधमा हुनु। तर, उनै युवा स्वदेश छोडेर अध्ययन र आम्दानीका लागि हरेक दिन बिदेसिइरहेछ।

यही वास्तविकता चिर्न सायद जीवन विज्ञानले काठमाडौंमा राष्ट्रिय युवा नेतृत्व सम्मेलनको आयोजना गर्‍यो। अनि पहिल्यायो खुसी र सफलता प्राप्तिको बाटो। कार्यक्रमका विशेष वक्ताहरूले युवालाई हौसल्ला प्रदान गर्दै भने, ‘आफूलाई आफैंले चिन्नुपर्छ। त्यसका लागि जीवनलाई आत्माशाग जोड्नुपर्छ। अनि भेटिन्छ खुसी र सफलता।’ ख्यातिप्राप्त व्यक्तित्वहरूले युवा सम्मेलनमा अनुभव, विचार र सफलताका कथा यसरी साटे कि युवालाई एकपटक गहिरिएर आफू र देशका लागि सोच्न बाध्य बनाए।

सांसद विनोद चौधरीले खुसी र सफलता प्राप्त गर्नका लागि जीवनलाई अन्तरआत्मासँग जोड्नुपर्ने र उक्त सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘स्वस्थ दिमागसँग र स्वस्थ शरीरलाई जोड्न सक्यौं भने मात्रै जीवन सफल र खुसी बन्छ।’ नेपालका युवाहरूको दिमाग विश्वका युवाभन्दा कम नभएको सांसद् चौधरी जिकिर गर्छन्। ‘विज्ञान प्रविधिलाई देशको वातावरणले छेक्न सक्दैन’, उनी सुनाउँछन्, ‘नेपालमै बसेर युवाहरूले विश्वका कम्पनीहरूमा काम गरिरहेका छन्। हाम्रै देशमा अवसरको कमी छैन।’ सफल उद्योगपति हुनका लागि उद्योगपतिकै घरमा जन्मिनुपर्ने अवस्था हराएर गएको उनी सुनाउँछन्। ‘पुराना व्यापारीहरू हराएर गएको अवस्था छ तर, पहिलोपटक व्यापार र उद्यम गर्नेहरू नयाँ सोच र प्रविधिका कारण चर्चा कमाइरहेका छन्’, उनले उत्साह थप्दै भने, ‘सपना देख्न र पछ्याउनेहरू सफल नबनेर सुखै छैन।’

डा. भगवान कोइरालाले अहिलेका युवाहरू देशको नेतृत्व गर्न सक्षम रहेकोमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘समाजमा अरूलाई पछाडेर आफू अगाडि बढ्ने विकृति देखिएको छ।’ यसो नगर्न सबैलाई आग्रह गर्दै उनले थपे, ‘हामी जन्मेको अरूलाई घोच्नलाई होइन। समाजलाई रूपान्तरण गर्न यो धर्तीमा आएका हौं।’ जहिले पनि खुसी भएर जीवन बाँच्न सक्नुपर्नेमा उनको जोड छ। ‘म सक्छु भन्ने विचार अघि बढ्नु पर्छ’, उनी भन्छन्, ‘हामी इमान्दार बन्नु पर्छ। लक्ष्यमा कडा मेहनतसाथ उत्रिनु पर्छ। हामीले हरेक दिन नयाँ सोच्नु पर्छ, त्यसलाई व्यवहारमा उर्तान अघि सर्नुपर्छ।’

बैंकिङ क्षेत्रमा सफल अनिल केशरी शाहले थपे, ‘युवा र नेतृत्व मेरो मन होइन, आत्मालाई छुने यी दुई चिज हुन्। अरूले केही नयाँ गर्न खोज्दै छन् भने खुट्टा नतानौं, काँधमा काँध र हातमा हात दिएर अघि बढौं।’ सबै क्षेत्रका अग्रज नेतृत्वले युवाहरूलाई नेतृत्व नदिएका कारण देश अघि बढ्न नसकेको उनले सुनाए। ‘युवाहरू नेपालमा बस्न खोजिरहेका छैनन्। तर, उनीहरू कहाँ जाने र के गर्ने ? भन्ने पनि निश्चित छैन। तर, युवाहरूलाई आफ्ना गाउँ र देशमा बसेर भविष्य बनाउन बढी जोखिमपूर्ण लाग्छ’, युवा देशमा बस्न नसक्ने कारण पेश गर्दै शाहले भने, ‘देश अन्धकारमय छ। तर, ज–जसको हातमा बलेको मैनवत्ति छ उनीहरूले उज्यालो लुकाएर हिँडिरहेका छन्। त्यसै नगरौं। बलेका मैनवत्तिबाट नबलेका मैनबत्तीहरू बालौं। देश झलमल हुन्छ।’

जीवन विज्ञानका संस्थापक रमेश नेपालले युवाले आफूभित्रको सम्भावना र नेतृत्वदायी क्षमता चिन्न सक्नुपर्ने बताए। ‘जे गर्नु छ, त्यो खुसी भएर गर्नुस्। जहाँ शन्ति छ त्यहाँ क्रान्ति हुन्छ। जहाँ शक्ति छ त्यहाँ क्रान्ति हुन्छ’, उनले भने, ‘जीवनमा अगाडि बढ्न आफ्नो गन्तव्य पहिल्याउनुपर्छ।’ अरूलाई सहयोग गर्दा प्राप्त भएको खुसी नै साँचो अर्थमा मानव जीवनको खुसी रहेको उनले बताए।

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले मानवले आफूभित्र खुसीभन्दा पहिला ऊर्जा खोज्नुपर्ने बताए। ‘बाल्यकालको याद अनि भविष्यको आशा लिएर युवाहरू जाग्नुपर्छ। संसारलाई सफल बनाउने साँचो युवाहरूको हातमा छ’, उनले समग्र देशको अवस्था विश्लेषण गर्दै भने, ‘युवा क्रान्तिको शक्ति हो, युवा परिवर्तनको शक्ति हो।’ उनका अनुसार सारा संसारलाई शान्ति चाहिएको छ। त्यो शक्ति नेपालसँग छ। नेपाल आध्यात्मिक देश हो भन्ने परिचय विश्वलाई दिन जरूरी रहेको उनी बताउँछन्।

काठमाडौंं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चित्त शुद्ध राखेर समाज र देश विकासमा युवाले सकारात्मक पहल र प्रयास गर्दै जानु पर्ने बताइन्। उनले पद भन्दा पनि प्रतिष्ठा ठूलो भएकोले सबैले असर विचार र व्यवहारले समाजमा प्रभाव जमाउनु सक्नु पर्ने बताइन्। त्यसबाटै जीवनमा खुसी र सफलता भेट्न सकिनेमा उनले जोड दिइन्। ‘लोभ गर्न थाल्यो भने जीवन दुर्गतीमा फस्छ। त्यसैले यसप्रति गम्भीर हुनुपर्छ। जुन बिरुवाको बीउ रोप्छौं, त्यस्तै फल पाउँछौं’, उनले भनिन्, ‘चित्त सफा भयो भने दिमागमा राम्रा विचार उत्पन्न हुन्छन्। त्यो विचारलाई कार्यान्वयनमा लैजान स्वस्थ शरीर चाहिन्छ। योग र ध्यान गर्दा स्वस्थ शरीर र दिमाग प्राप्त गर्न सकिन्छ।’

युवामा सबै थोक हुँदाहुँदै आत्मविश्वासको कमी रहेको आइएमई ग्रुपका को–फाउन्डर एण्ड म्यानेजिङ डाइरेक्टर हेमराज ढकाल औंल्याउँछन्। ‘जहिले पनि हामी फेल हुन्छौं कि भन्ने डरले नयाँ काम गर्न आँट गर्दैनौं। डरलाई नचिरेसम्म हामी अगाडि बढ्न सक्दौनौं’, उनी अनुभव सुनाउँछन्, ‘अझ युवाले सपना देख्न डराउनु हुँदैन। देखेको सपना पूरा गर्न संकल्प सहित लागिरहनु पर्छ।’ जीवनका असफताको कथाबाट पाठ सिकेर सफल बन्न प्रयास गर्नु पर्नेमा उनी जोडदिन्छन्।

ह्यापी म्यान्डस्का फाउण्डर म्यानेजिङ डाइरेक्टर श्रीया गिरीले ‘म गर्न सक्छु, हामीले गर्न सक्छौं’ भन्ने भावनासहित काम गर्नुपर्ने बताइन्। ‘आफ्नो काम के हो, आफ्नो धर्म के हो, आफ्नो कर्म के हो ? भन्ने कुरा पहिल्याऔं। अनि त्यो प्राप्त गर्न अरूले सहयोग गर्छ भन्ने अपेक्षा अरू सित नगरौं’, उनी सुनाउँछिन्, ‘अनि यसरी प्राप्त सफलताले जीवनमा ठूलो खुसी मिल्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.