जंगी अड्डामा रक्षामन्त्री राई
काठमाडौं : रक्षामन्त्री मानवीर राईले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले नेपाली सेनाले देखाएको दृढताको प्रशंसा गरेका थिए।
'समग्र राष्ट्रको, सेनाप्रतिको भरोसालाई कायमै राख्दै आफूलाई प्राप्त संविधान प्रदत्त जिम्मेवारीहरू एवं अन्य सबै प्रकारका चुनौतीपूर्ण कार्यहरू निर्वाह गर्न भविष्यमा पनि नेपाली सेना सफल हुनेमा विश्वस्त छु,' उनले भने।
नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा संगठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
मन्त्री राईलाई कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए। उनले सेनाको संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूबारे मन्त्री राईलाई जानकारी गराएका थिए। मन्त्रीसँगै रक्षा सचिव रामेश्वर दंगाल पनि निरीक्षणमा सहभागी थिए।