भयावह बन्दै मानव–सर्पद्वन्द्व

भयावह बन्दै मानव–सर्पद्वन्द्व
सुन्नुहोस्

गुलरिया : केही दिनअघि आमासँगै राति विस्तारामा सुतिरहेका बर्दियाको गुलरिया नगरपालिका—१ का नौमहिने बालक मायरा चौधरीलाई विस्तारामै सर्पले डस्यो। तीन घण्टापछि उपचारका लागि बर्दिया अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरे। उसैदिन सोही वडाको अर्को घरमा ११ वर्षीया सोनिमा चौधरीलाई सुतिरहेकै अवस्थामा सर्पले डसेपछि अस्पताल पुर्‍याउँदा उनलाई पनि चिकित्सकले मृत घोषणा गरे। 

सोही दिन सोही वडास्थित मामाघरमा बस्दै आएकी ६ वर्षीया रिया चौधरी राति एक्कासी बिरामी परिन्। स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचारपश्चात् उनलाई पाँच घण्टापछि बर्दिया अस्पताल गुलरिया पुर्‍याइयो। चिकित्सकले बालिकालाई सर्पले डसेको आशंकामा थप उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लगियो। बर्दियाको मधुवन नगरपालिका—२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका— १ गाउँ नम्बर १५ मन्दिरटोलस्थित मामाघरमा बस्दै आएकी बालिकाको तीन दिनपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्याल बताउँछन्।  

एकै दिन एकै वडाका एकै गाउँमा तीन जना बालबालिकालाई सर्पले डसेर ज्यान गएपछि बर्दियामा सर्वत्र त्रास बढेको छ। घटना केलाउँदा बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे ५ घण्टापछि परिवारले अस्पताल पुर्‍याएको देखिन्छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अर्यालले जनाए। 

  • बर्दिया सर्पको जोखिममा छ। मानिस बाघ, हात्ताीलाई मात्र त्रासको रूपमा लिने गरे पनि सर्पको पनि उत्तिकै जोखिम छ।
  • नेपालमा ८० प्रजातिका सर्पहरू पाइन्छन्। जसमध्ये १९ प्रजातिका सर्प विषालु छन्।

पछिल्लो समय बर्दियामा सर्पको बिगबिगी बढेको छ। सर्पको टोकाइबाट ज्यान जाने क्रम बढेको छ। सर्पबाट जोगिन झुल लगाएर सुत्ने, घरमा भएका प्वालहरू टाल्ने, झाडीहरू सफा गर्दै सजग रहनुपर्ने चिकित्सकको सुझाव छ। गत वर्ष बर्दिया अस्पतालमा ४० पुरुष, ४७ महिला गरी ८७ जनाले सर्पदंशको उपचार गरेको बर्दिया अस्पतालका प्रमुख डा. सुवास पाण्डेयले बताए। जसमध्ये १७ जनालाई विषालु सर्पले डसेको छ। सर्पले टोकेपछि समयमै उपचारमा पुगे जोखिम टर्छ। सर्पले टोकेपछि झारफुकतिर लाग्न नहुने उनले बताए।

 आर्थिक वर्ष ०७९।८० मा ३ महिला र ४ पुरुष गरी ७ जनालाई विषालु सर्पले टोकेको छ। चालू वर्षको साउन अन्तिमसम्म करिब १० जनाको हाराहारीमा उपचार भएको छ। त्यस्तै सर्पदंश उपचार केन्द्र ठाकुरबाबामा गत वर्ष २५ जनाको सर्पदंशको उपचार भएको छ। जसमध्ये दुई जनालाई विषालु सर्पले टोकेको उपचार केन्द्रले जनाएको छ। 

बर्दिया सर्पको जोखिममा छ। मानिस बाघ, हात्तीलाई मात्र त्रासको रूपमा लिने गरे पनि सर्पको पनि उत्तिकै जोखिम छ। बर्दियाको ठाकुरबाबा, बारबर्दिया नगरपालिकामा सर्पदंश उपचार केन्द्र छन्। बर्दिया अस्पतालमा पनि सर्पदंशका बिरामीहरूको चाप हुने गर्छ।

तराईमै विषालु सर्प
नेपालमा ८० प्रजातिका सर्पहरू पाइन्छन्। जसमध्ये १९ प्रजातिका सर्प विषालु छन्। अधिकांश विषालु सर्प तराईमै पाइने स्नेक कन्जरभेसन नेपाल पोखराका अध्यक्ष रामजी गौतमले बताए। करेत (गडैंचा), राजगोमन, गोमन, बागे र आँधो सर्प विषालु हुन्छन्। मानिस सर्पको आहारा शृंखलामा पर्दैन तर पनि टोकेर आक्रमण गर्छ। उनले भने, ‘सर्पले आफूलाई खतरा भएको महसुस गरेपछि मात्र टोक्ने गर्छ अन्यथा टोक्दैन।’

स्पर्स भयो भने मात्र सर्पले टोक्ने उनले प्रष्ट्याए। धेरैजसो विषालु सर्प तराईमै पाइन्छन्। पहाडमा पाइने सर्प अधिकांश विषालु छैनन्। सर्पबाट जोगिन उसलाई खतरा नहुने गरी सावधानी अपनाउनु पर्छ। ‘सर्पले टोकेपछि मानिसको शरीरमा विषको मात्रा कति छोड्छ त्यही अनुपातमा विष बढी वा कम लाग्ने हुन्छ’, गौतमले थपे, ‘हामीले धेरै सर्पहरू उद्धार पनि गरेका छौं। सर्पले मानवीय क्षति गरे पनि राज्यको राहत निर्देशिकाले कुनै पनि सम्बोधन गरेको पाइँदैन।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.