सोलुखुम्बु बाढी : एक जना बेपत्ता, विद्यालय र स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने दर्जन बढी घरहरू बगेका छन्। शुक्रबार खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार घटनामा थामेको सात वटा घर, पाँच वटा होटल, एउटा विद्यालय र एउटा क्लिनिक बगाएको छ। सोही क्षेत्रका ७ वटा घर जोखिममा रहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थम्बुचे र नाम्चेबाट प्रहरी परिचालन भइ स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी काम गरिरहेका छन्।
बेपत्ता भएका भनिएका ब्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। कोशीमा पानीको बहाब घट्दै गएको छ भने नदी कटानका कारण तटीय क्षेत्रका बस्तीहरू जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ। उक्त बाढीले जिल्लाको तल्लो क्षेत्रमा हालसम्म कुनै क्षति पुर्याएको छैन।
वर्षात बिना नै आएको बाढीको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। थामेभन्दा माथिको हिमताल फुटेर कोशीमा बाढी आएको स्थानीयको अनुमान छ।