त्रिवेणी भगवती मन्दिरदेखि मनकामना मन्दिरसम्म जलयात्रा
![त्रिवेणी भगवती मन्दिरदेखि मनकामना मन्दिरसम्म जलयात्रा](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_qKoT0EIiXc_MD3bgPU6Fs.jpg)
गोरखा : पहिले–पहिले त्रिशूली र मर्स्याङ्दीको संगममा अवस्थित त्रिवेणी भगवती मन्दिरको कुण्डमा रहेको जल लगेर चढाएपछि मात्र मनकामना माताको पूजा गर्ने प्रचलन थियो। तर लामो समय भयो, यो परम्परा रोकिएको। यही परम्परा पुन निरन्तरताको अपेक्षा गर्दै भदौ १ गते शनिबार बिहान करिब दुईसय जनाले मोटरसाइकल र्यालीसहित सो कुण्डको जल लगेर मनकामना मन्दिरमा अर्पण गरेका छन्।
सहिद लखन गाउँपालिका-३ स्थित त्रिवेणी भगवती धार्मिक तथा पर्यटकीय स्थल विकास व्यवस्थापन समितिको आयोजनामा सो जलयात्रा गरिएको हो। पृथ्वीराजमार्गको मुग्लिन बजार, करनटार, नेवारे लगायतका गाउँबस्तीका बासिन्दाहरू करिब सयवटा मोटरसाइकलमा करिब दुईसय जनाले जल मनकामनामा जल पुर्याएका थिए।
सो जलयात्राको उद्घाटन समारोहमा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, वडा अध्यक्ष दीपक पाण्डे, त्रिवेणी, इच्छाकामना, मनकामना, छिम्केश्वरी धार्मिक सर्किट विकास अभियानका संयोजक रामबहादुर लामा, व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर गुरुङ, जलयात्रा मोटरसाइकल र्याली कार्यक्रमका संयोजक काजीमान थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
१३ किलोमिटर लामो सडकमा आयोजित मोटरसाइकल र्यालीका सहभागीहरूलाई करनटार, नेवारे, ग्याजा, सिलिङ, मनकामना लगायतका टोलका बासिन्दाले स्वागत गरेका थिए। सो जलयात्रा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले त्रिवेणी भगवती कुण्डको जल लगेर मनकामनाको पूजा गर्नेलाई मनको इच्छा पूरा हुने बताए।
गाउँपालिकाका अध्यक्ष रमेश थापाले मुग्लिनबाट सो मन्दिरसम्म पक्की पुल बन्ने भएकाले अब भक्तजनले त्यहाँको जल ल्याएर मनकामनामा चढाउन सम्भव हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)