जोखिममा हिमाल र हिमताल

जोखिममा हिमाल र हिमताल
फाइल तस्बिर।

इसिमोडले सन् २०२० मा गरेको अध्ययनले नेपालमा २१ हिमताल फुट्न सक्ने जोखिम औंल्याएको छ।

पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म फैलिएको लगभग २४०० किलोमिटर लामो पर्वत शृंखला नै हिमालय पर्वत हो। विश्वका विभिन्न पर्वत शृंखलामध्ये यो सबैभन्दा कान्छो, सक्रिय र गतिशील पर्वत शृंखला हो। यी पर्वत शृंखलामा दक्षिणबाट उत्तरतर्फ जाँदा क्रमशः जमिनको उचाइ बढ्दै जान्छ। उत्तरतर्फको माथिल्लो भेगका अग्ला पहाडहरूमा सदाबहार हिउँ परिरहन्छ। यस भेगमा जम्मा भएको हिउँ विस्तारै पग्लेर बनेको नदीलाई हिमनदी भनिन्छ। हिउँ र हिमनदी पग्लिएर बनेका तालहरूलाई हिमताल भनिन्छ।

अध्ययनअनुसार विश्वका ४४ प्रतिशत हिमनदी एसियामा अवस्थित छन्। हिमालय क्षेत्रमा मात्रै पनि हिमनदीको संख्या बढी छ। नेपालमा हिमाली तथा उच्च हिमाली भेगमा धेरै संख्यामा हिमताल छन् र जलवायु परिवर्तनका कारण हिउँ पग्लने दर बढेसँगै नयाँ हिमताल बन्ने क्रम पनि चलिरहेको छ। नेपालले सन् १९७७ पछि हिमताल बिस्फोटले निम्त्याउने विपद् सामना गर्न थालेको हो। २०७९ सम्ममा नेपालले हिमताल बिस्फोटका २६ घटना बेहोरिसकेको छ।

विश्वमा शक्ति राष्ट्रबीच औद्योगिक विकासको प्रतिस्पर्धा चलिरहेको छ। जसकारण उद्योग, कलकारखानाबाट निस्कने धुलो, धुँवालगायत अन्य कारण उच्च मात्रामा कार्बन उत्सर्जन भई वायुमण्डल ढाक्दा पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली भेगमा हिउँ पग्लने क्रम तीव्र छ, जसको कारण नयाँ–नयाँ हिमताल बन्ने र पुराना हिमताल ठूलो हुने प्रक्रिया चलिरहेको छ।

जलवायु परिवर्तनको प्रभावित क्षेत्रमध्ये हिमालय क्षेत्र बढी प्रभावित छ। जसको प्रभावले दिनानुदिन हिमालमा हिउँको सतह क्रमशः घटिरहेको छ भने त्यो पग्लेर बनेको हिमनदी र हिमतालमा पानीको मात्रा बढी भई हिमताल बिस्फोटको जोखिम बढिरहेछ। हिउँ बिस्तारै पग्लिरहँदा हिमाल आरोहण र हिमाली क्षेत्रमा हुने पदयात्रामा जोखिम बढ्ने र हिमाली सौन्दर्य नै घट्ने हँुदा यसले पर्यटन व्यवसायलाई समेत प्रत्यक्ष असर पारिरहेको छ।

तल्लो तटीय क्षेत्रमा हिमबाढी र हिमपहिरोको समस्या बढिरहेको छ। हिमताल बिस्फोटपछि आउने आकस्मिक बाढीले मानव क्षतिसहित जलविद्युत् आयोजना, सडक, मोटर पुल, झोलुंगे पुल र मानव बस्तीलगायतको पूर्वाधारहरूमा ठूलो क्षति गर्छ। प्राकृतिक प्रकोपमध्ये हिमताल बिस्फोट एउटा यस्तो प्रकोप हो जसले अन्य केही प्रकोपलाई समेत सँगै निम्त्याउँछ। जस्तो माथिल्लो हिमाली क्षेत्रमा हिमताल बिस्फोट हुँदा यसले तल्लो भूभागमा बाढी, पहिरो, डुबान, कटान जस्तो प्रकोप निम्त्याउँछ। इसिमोडले सन् २०२० मा गरेको अध्ययनले नेपालमा २१ वटा हिमताल फुट्न सक्ने जोखिममा रहेको औंल्याइएको छ।

तापमान वृद्धिका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिँदा समुद्री सतहसमेत आकलन गरेभन्दा द्रुत गतिमा बढिरहेको विभिन्न अनुसन्धान रिपोर्टमा उल्लेख छ। यही हिसाबले तापक्रम बढ्ने र हिउँ पग्लने हो भने अबको केही दशकमा हिमाल नांगा हुने र समुद्री सतहको उचाइ बढेर समुद्री तटमा रहेका देश तथा सहर पानीमा डुब्ने चेतावनी दिइरहेका छन्। नेपालका धेरैजसो जलविद्युत् निकाल्ने नदीहरूको उद्गम स्थल हिमाली भेग र त्यही हिउँ पग्लेर जाने नदी भएको हुँदा त्यस्ता हिमनदी र हिमतालहरूको अवस्थाबारे अध्ययन तथा नियमन गर्न आवश्यक छ। अन्यथा यसले तल्लो पहाडी भेगमा निर्माणाधीन, निर्माण भइसकेको वा भविष्यमा निर्माण हुने जलविद्युत् आयोजना, सडक, पुल र बस्तीहरूसमेत प्रभावित हुन्छन्।

हिमालय क्षेत्रमा हिमताल बिस्फोटका कारण तल्लो तटीय क्षेत्रको जलविद्युत् आयोजनामा प्रत्यक्ष असर पुगेको घटना नेपालमा पनि घटेको थियो कुनै समय। हिमताल बिस्फोटबाट हुने हानि कम गर्न वा हानि हुन नदिन पूर्वसूचना तथा सचेतना अपनाउनु आवश्यक छ। विश्वका सम्पन्न देशहरूले हिमपहिरो र हिमताल बिस्फोटको जोखिमबाट बच्न वैज्ञानिक पद्धति प्रयोग गरी पूर्वसूचना जडान गरेर सम्भाव्य जोखिम कम गरिरहेका छन्। नेपालमा पनि आजको वैज्ञानिक युगमा विभिन्न यन्त्र तथा उपकरणको प्रयोग गरी अध्ययनले जोखिम देखाएको ठाउँमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्छ। साथै तल्लो तटीय क्षेत्रमा पूर्वसचेतना दिने किसिमको कार्यक्रम गर्नुपर्छ।

बेला–बेलामा नियामक निकायमार्फत पूर्वसूचना प्रणाली तथा जोखिम क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरी त्यसको जानकारी समुदायमा दिन सकेमा मात्रै पनि जोखिम धेरै घट्छ। नेपालमा दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालमा पूर्वसूचना प्रणाली जडान गरिएको छ। यही पूर्वसूचना प्रणालीअनुसार हिमतालमा पानिको मात्रा बढेको थाहा भएपश्चात् पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको अनुभव पनि छ। तर, हिमतालमा पानीको सतह घटाउने काम ज्यादै खर्चिलो हुन्छ। त्यस समय इम्जाको पानी घटाउन करिब ३३ करोड रुपैयाँ खर्च भएको थियो।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्र प्राकृतिक प्रकोपको हिसाबले उच्च जोखिममा छ। बढ्दो जलवायु परिवर्तनको कारण हिमालय क्षेत्रमा मौसम प्रणाली खल्बलिएर बेमौसममा अतिवृष्टि भएर बाढी, पहिरो जाने, अन्नबालीहरू बेमौसममा पाक्ने, लामो समय खडेरी पर्ने लगायतका अप्राकृतिक गतिविधि भइरहेका छन्। अहिलेकै गतिमा हिमालय क्षेत्रमा तापक्रम बढिरहने हो भने अबको केही दशकमा नेपालका हिमालहरू कालापत्थरमा परिणत हुने विभिन्न अध्ययनले देखाएको छ। अहिले विश्वव्यापी तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ, हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा ५ गुणा बढी अर्थात् बर्सेनि ०.००६ प्रतिशतले बढिरहेको छ।

यदि विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्न सकियो भने पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने (इसिमोड)को अध्ययनले देखाएको छ। हिमताल र तिनीहरूका बाँधका विशेषता, हिमनदीका स्रोतहरूको गतिविधि, ताल वरपरको भौगर्भिक अवस्था र भूकम्प वा अन्य कारण जमिनमा हुने कम्पनको गतिविधिलाई आधार मानेर हिमतालको जोखिम पहिचान गर्नुपर्छ।

पछिल्लो समय नेपाललगायत कम कार्बन उत्सर्जन गर्ने देशहरूले बढी कार्बन उत्सर्जन गर्ने देशहरूलाई यो विषयमा अन्तर्राष्ट्रिय सभा सम्मेलनमा गहनताको साथ कुरा उठाउने गरे तापनि बढी कार्बन उत्सर्जन गर्ने शक्ति राष्ट्रहरूको ध्यान यसमा भन्दा पनि आफ्नो देशको विकासको सूचक बढाउनमै मात्रै रहेको देखिन्छ।

तर, पनि कम कार्बन उत्सर्जन गर्ने राष्ट्रहरू मिलेर क्षतिपूर्तिको कुरा उठाउनुको साथै, कम कार्बन उत्सर्जन गर्ने रणनीतिक योजना बनाउनु आजको आवश्यकता हो। विश्वले नै जलवायु परिवर्तनको विषयलाई गहनताको साथ लिइ त्यसको समधानतर्फ लाग्नुपर्छ। अन्यथा अबको केही शताब्दीमा जलवायु परिवर्तनका कारण पृथ्वीका प्राणी, वनस्पति र पर्यावरण अस्तित्वको संकटमा जानेछ।

गौतम नास्टका अनुसन्धानकर्ता हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.