मेची प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु
झापा : भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नवनिर्मित भवनबाट आफ्नो सेवा सुरु गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खडकाले आइतबार बिहान दुई तले सुविधा सम्पन्न भवनको पूजाआर्चना गरी सेवा शुभारम्भ गरेका हुन्।
अस्पताल प्रशासनले पहिलो चरणमा बहिरंग अर्थात् ओपिडी सेवा नयाँ भवनबाट सुरुवात गरेको हो। हाडजोर्नी र आँखा उपचारबाहेकका सम्पूर्ण ओपिडी सेवाहरू नयाँ भवनमा सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खडकाले जानकारी दिए।
‘मेडिसिन सेवा माथिल्लो तलमा राखेका छौँ। अन्य ओपिडी सेवाहरू भुईँ तलमा छ। पुर्जा काट्ने काउन्टर पुरानै भवन छ। अन्य स्वास्थ्य परीक्षणहरि पनि पुरानै भवनको यथास्थानमा छ। बिरामीको अत्यधिक चापका कारण पहिलो चरणमा ओपिडी सेवा मात्र सारेका छौँ,’ उनले भने। बिस्तारै अन्य सेवाहरू पनि नयाँ भवनमा लैजाने उनको भनाइ छ।
‘भवन त बन्यो तर फर्निचर लगायतको अन्य कामहरू बाँकी नै छ,’ उनले भने, ‘अब स्वास्थ्य सामग्री, उपकरण, औजारहरू पनि खरिद गर्नुपर्ने हुन्छ, त्यसको लागि आवश्यक बजेट चाहिन्छ।’ बजेटका लागि कोसी सरकारसँग माग गरिरहेको उनले बताए।
गत असार २९ गते सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलले प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खडकालाई नवनिर्मित भवन हस्तान्तरण गरेका थिए। भवन गुणस्तरहीन बनाएको भन्दै यसको चौतर्फी विरोध भएको थियो। जसकारण भवन हस्तान्तरण हुन सकेको थिएन। निर्माण व्यवसायीसँग भएको ९ बुँदे सर्तनामा पश्चात् भवन हस्तान्तरण गरिएको थियो।
आयोजनाका तत्कालीन प्रमुख रूपक आचार्यले सो भवन अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरलाई २०८१ जेठ २२ गते हस्तान्तरण गरेका थिए। हस्तान्तरण भएको नवनिर्मित भवन उद्घाटन नहुँदै छतबाट पानी रसाउन थालेपछि विरोध सुरु भएको थियो।
रंगरोगन गरी बाहिरबाट चिटिक्क बनाइएको अस्पतालको भवनभित्र छतको पानी रसाएर चुहिन थालिएको, ठाउँ–ठाउँमा वाल चर्किएको, आल्मुनियमका झ्याल ढोका कमसल लगाएको, पानीका पाइप र विद्युतीय जडानमा समेत लापरबाही भएको भन्दै स्थानीयसहित राजनीति दलका प्रतिनिधिहरू समेत त्यसको प्रतिकारमा उत्रिएपछि हस्तान्तरण प्रक्रियाबाट सबैपछि हटेका थिए। त्यसपछि उनीहरूले भवनको गुणस्तरमाथि प्रश्न उठाउँदै सम्बन्धित निकायमा ज्ञापनपत्र समेत बुझाएका थिए।
चौतर्फी विरोध पश्चात् भवन निर्माण आयोजनाले निर्माण कम्पनीलाई बोलाएर पुनः त्रुटिपूर्ण कामहरू गर्न लगाएका थिए। श्री कन्टेक प्रालि काठमाडौंले २०७४ साल कार्तिक ३० गते भवन निर्माणको ठेक्का लिएको थियो। निर्माण कम्पनीले सो भवन २०७९ साल भाद्र २५ गते सम्पन्न गरेको थियो। ५० शय्याको अस्पताल बनाउन निर्माण कम्पनीले २२ करोड ६१ लाख ३७ हजार ३५२ रुपैयाँमा ठेक्का लिएको थियो।
अस्पतालको नयाँ भवनमा ६ वटा ब्लक बनाइएको छ। भवनमा देखिएका त्रुटिपूर्ण कामहरू निर्माण कम्पनीले पुनः मर्मत सम्भार गरी बनाइसकेको बताउँदै आयोजना प्रमुख पौडेलले भने, ‘भवन हस्तान्तरण भए पनि एक वर्षभित्र पुनः भवनमा कुनै पनि समस्या देखिए त्यसलाई सच्याएर अघि बढ्ने गरी सर्तनामा गरिएको छ।’
भवन निर्माण भएको झन्डै २० महिनापछि हस्तान्तरण भएको उनको भनाइ छ। नवनिर्मित अस्पताल भवनको तला थप्नका लागि सरकारले थप दुई करोड बढी बजेट छुट्टाइसकेको छ। यसै वर्ष भवनको ठेक्का लगाएर निर्माण कार्य अघि बढाइने जनाइएको छ।