पर्यटनमन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफल
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ।
पर्यटनमन्त्रीलाई बधाइ तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याइनुपर्नेमा जोड दिएको छ। यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिएको छ।
परिसंघकोतर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका उपाध्यक्ष राज बहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए। पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउँदै उनले समाधानका उपाय समेत सुझाए।
पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उनको आग्रह थियो। उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मूल्य धेरै भएकोले लक्ष्य अनुरूप पर्यटकहरू भित्र्याउन गाह्रो हुने बताए। समिति सदस्य अशोक पोखरेलले पर्यटन विकासका लागी नेपालले पहुँच वृद्धि गर्नु जरुरी रहेको बताए।
सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अगाडी बढ्ने बताए। २०८३ भदौ सम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले जानकारी दिए। पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाडै आउने समेत जानकारी गराए।