सिन्धुलीमा मल कारखाना, केयूको सहयोग
धुलिखेल : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिक सहयोगमा वार्षिक दुई लाख टन क्षमताको रसायनिक मल कारखाना खोल्ने भएको छ। यसका लागि केयू र गाउँपालिकाबीच हालै यसको पूर्वसम्भाव्यता अध्ययनका लागि सम्झौता भएको हो।
गाउँपालिकामा रासायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पार्ने कच्चा पदार्थहरू (हाइड्रोजन, नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन गर्ने छ। कारखाना स्थापनाका लागि गाउँपालिकाले जग्गा, बिजुली र पानी उपलब्ध गराउने छ।
गाउँपालिकामा प्राविधिक र आर्थिक रूपमा रासायनिक मल कारखाना स्थापनाको उपयुक्तताबारे विस्तृत अध्ययन केयूले गर्ने छ। जसका लागि ३ महिनाभित्र केयूले रसायनिक मल कारखाना स्थापनासम्बन्धी पूर्वसम्भव्यता अध्ययन प्रतिवेदन तयार गर्ने भएको छ।
- केयू र हरिहरपुरगढी गाउँपालिकाबीच मल कारखानाको पूर्वसम्भाव्यता अध्ययनका लागि सम्झौता
- केयूले ३ महिनाभित्र रसायनिक मल कारखाना स्थापनासम्बन्धी अध्ययन प्रतिवेदन तयार गर्ने
सम्झौतापत्रमा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेल र गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष बज्रध्वज वाइबाले हस्ताक्षर गरे। साक्षीमा केयूको ग्रीन हाइड्रोजन ल्याबका टिम लिडर डा. विराजसिं थापा र गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार पैकरा छन्।
अध्ययन प्रतिवेदन केयू र गाउँपालिकाले संयुक्त रूपमा लगानी बोर्डमा प्रस्तुत गर्ने केयुको एकेडेमिया इन्डस्ट्री कोअपरेसनका संयोजक डा. राम लामाले जानकारी दिए। लगानी बोर्डले स्वीकृत गरेपछि कारखानाको सम्भाव्यता अध्ययनका लागि बाटो खुल्ने छ। हरिहरपुरगढी गाउँपालिकामा स्थापना हुने मल कारखानामा थाइल्यान्डको एक निजी कम्पनीले लगानी गर्ने भएको छ।
एकेडेमिया इन्डस्ट्री कोअपरेसनको समन्वयमा भएको सम्झौता कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे, सांसद सुष्पा भुजेल, केयूका उपकुलपति प्रा.डा. भोला थापा, रजिष्टार प्रा.डा अच्युत वाग्ले, स्कुल अफ साइन्सका डिन प्रा.डा. जनार्दन लामिछाने, स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालकृष्ण लुइँटेल, इन्जिनियर लक्ष्मण लामालगायत केयु र गाउँपालिकाका पदाधिकारीहरू सहभागी थिए।
कार्यक्रममा उपकुलपति प्रा.डा. थापाले यसलाई उच्च प्राथमिकतामा लिइएको उल्लेख गर्दै विश्वविद्यालयले नयाँ–नयाँ खोज, अनुसन्धान र अध्ययन गर्दै जाने बताए।