शिक्षामन्त्री भट्टराईलाई सञ्चारकर्मीको सुझाव
काठमाडौं : शिक्षा क्षेत्रको सुधार तथा देखिएका समस्या पहिचानका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा पत्रकारहरूसँग सुझाव माग गरेकी छन्।
बुधबार सञ्चारकर्मीसँगको भेटमा मन्त्री भट्टराईले शिक्षामा सुधार कसरी गर्न सकिन्छ भन्ने कुरामा सुझावका लागि छलफल गरेकी हुन्। कार्यक्रममा उपस्थित शिक्षा पत्रकारहरूले शिक्षा क्षेत्रको भएका विकृति सुधाार गर्नुपर्ने कमी कमजोरीहरूलाई मन्त्री भट्टराईसमक्ष औंल्याइदिएका थिए। उनले ती समस्या समाधानका लागिसम्बन्धित निकायका व्यक्तिहरूको समर्थन र सहयोग आवश्यक हुने बताइन्। पत्रकारहरूको छलफलपछि उनले आफूमन्त्री भएपछिका काम र योजनाका बारेमा पत्रकारहरूलाइ जानकारी गराइन्।
मन्त्रालयले विश्वविद्यालयको निर्देशन दिन सक्दैन
मन्त्रालयले विश्वविद्यालयलाई सधैँ मन्त्रालयले हस्तक्षेप गर्न नसक्ने मन्त्री भट्टराईले बताइन्। उनले विश्वविद्यालयका आफ्नै जिम्मेवारी दायित्व भएको बताइन्। सबै कुरा मन्त्रालयले गर्ने भए उपकुलपति, रेक्टर, रजिस्ट्रार, विभागीय प्रमुख, पाठ्यक्रम निर्देशकहरू किन चाहियो ? भन्दै प्रश्न गरिन्। शिक्षाका सबै निकायमा नेतृत्व गर्नकै लागि पदाधिकारी बनाएर पठाएको भन्दै विश्वविद्यालय कस्तो बनाउने र कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट योजना विश्वविद्यालयसँग हुनुपर्ने बताइन्।
शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप रोक्न राजनीतिक दलहरूको प्रतिबद्धता नआएसम्म मन्त्रालयले केही गर्न नसक्ने बताएकी छिन्। त्यसका लागि राजनीतिक दलहरूसँग छलफल गरेको उनले बताइन्।
उनले शैक्षिक सुधारका विषयमा राजनीतिक दलका शीर्ष तहका नेताहरूसँग छलफल गरेको जानकारी गराउँदै त्रिभुवन विश्वविद्यालयभित्र भइरहेको अवस्थालाई राजनीतिक दलहरूको प्रतिबद्धता नआउन्जेलसम्म मन्त्रालयले मात्र केही गर्न नसक्ने उनको भनाइ छ।
‘शिक्षा मन्त्रालयले विश्वविद्यालयलाई धेरै हस्तक्षेप गर्न सक्दैन। यसमा हामी स्पष्ट पनि हुनुपर्छ। आफ्नो ऐन एउटा छ। उसको कानुन छ। अनि हामीले जतिबेला पनि हस्तक्षेप गर्न सक्दैनौं। अफ्ठ्यारो पर्दा साथ दिने हो। सहयोग गर्ने हो। उहाँहरूले गर्नुभएको कामको निगरानी गर्ने हो। यहाँनेर कमी गर्नुभयो भन्नेकुराको इन्टर्नभेन गर्ने हो। तर जतिबेला पनि मन्त्रालयले निर्देशन दिन सक्दैन। पदाधिकारीको दायित्व के हो ? जिम्मेवारी के हो ? भिसी किन चाहियो ? सबैंकुरा मन्त्रालयले गर्ने हो भने भिसी किन चाहियो ? रेक्टर, रजिस्टार किन चाहियो ? डिन किन चाहियो ? विभागीय प्रमुख, पाठ्यक्रम निर्देशकहरू किन चाहियो ? त्यो सबै भनेको त्यहाँँ नेतृत्व गर्नुहोस् भनेर जिम्मेवारी दिइएको हो नि त। उहाँहरूले नेतृत्व गर्ने हो भने उहाँहरूसँग योजना हुनुपर्छ। अस्ति त्यही थ्रेट ठान्ने र आज उहाँहरूलाई नै साथी बनाउने कुराको जवाफ उहाँहरूले दिने हो।’ मन्त्री भट्टराईले भनिन्।