गोरखा : गण्डकी गाउँपालिकाको तरकारी बालीबाट उत्पन्न स्वास्थ्य समस्याबारे अध्ययन गर्न कृषि मन्त्रालयले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले मंगलबार आकस्मिक बैठक बोलाएर पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका हुन्। कार्यदलमा नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक काशिनाथ चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत रिजन कार्की, केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनार, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्ट रहेका छन्।
बैठकमा गोरखाको गण्डकी गाउँपालिकाका ६१ जना तरकारी किसानहरुलाई क्यान्सर भएको र १५ जनाको मृगौला फेल भएको विषयमा अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारबारे छलफल भएको थियो। साथै सो समस्या समाधान गर्न अध्ययन गर्ने गरी कार्यदल बनाउने निर्णय भएको हो। ‘गण्डकी गाउँपालिका, गोरखामा देखिएको विषादी दुरुपयोग सम्बन्धी समस्याको बारे अध्ययन गरी प्रतिवेदन पेस गर्न यस मन्त्रालयका माननीय मन्त्रीज्यूको समुउपस्थितिमा मिति २०८१ भदौ ११ गते बसेको आकस्मिक बैठकको निर्णयअनुसार तपसिल बमोजिमको पाँच (५) सदस्यीय कार्यदल गठन गरिएको छ,’निर्णयमा भनिएको छ।
कार्यदलले स्थलगत अध्ययन गर्न सुरु गरिसकेको कार्यदलका संयोजक पोखरेलले जानकारी दिए। ‘हामीलाई अध्ययन, विश्लेषण गरी प्रतिवेदन तयार गर्न एक महिनाको समय अवधि दिइएको छ’, उनले भने, ‘हामीले काम सुरु गरेका छौँ। बुधबार त्यस क्षेत्र आसपासको एग्रोभेटहरुको अध्ययन गरेका छौँ। निर्धारित समय अवधिभित्र कार्य सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछौँ।’
बैठकमा अन्तर्राष्ट्रिय नाकाहरुमा क्वारेण्टाइन कार्यालय, चेकपोस्ट एवं विषादीको दुरुपयोगसम्बन्धी छलफल भएको थियो।
गोरखाको गण्डकी गाउँपालिकाका ६१ जना अहिले क्यान्सरपीडित छन्। अरू कतिपयलाई मिर्गौला रोग लागेको छ। ती ६१ जनाको अर्को समानता भनेको सबै किसान हुन्। जनप्रतिनिधिहरू गाउँसभामा गाउँलेको क्यान्सर र मिर्गौला रोग प्रभावबारे आवाज पनि उठाउँछन्। तर,उपायको खोजी हुन सकेको छैन।
सबैले व्यावसायिक खेती किसानी गर्दै आएका छन्। व्यावसायिक खेती किसानी गर्दा विषादीको प्रयोग अत्यधिक हुने गरेको छ। छिटो फल्ने, ठूलो फल्ने र रोगकीराबाट बचाउने हुँदा किसान विषादीमा आकर्षित छन्। तर विषादीले त्यतिमात्रै गर्दो रहेनछ, क्यान्सरै पनि लगाउँदो रहेछ, वा मिर्गौला नै फेल गराउँदो रहेछ भन्ने उनीहरूलाई पत्तो भएन।