अनधिकृत स्पेयर्स पार्ट्सले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न गाह्रो

अटो उत्सव

अनधिकृत स्पेयर्स पार्ट्सले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न गाह्रो
सुुरेन्द्रकुुमार उप्रेती - महासचिव, नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) । तस्बिर : सुनिता डंगोल

सरकारले दीर्घकालीन नीति बनाएर नेपाली उद्योगलाई संरक्षण र प्रोत्साहन गरे विस्तारै टायर उद्योग खुल्दै जान्थे। ६ महिनामा बहुराष्ट्रिय कम्पनीको पनि उत्पादन सुरु हुन्छ।

सवारीसाधनका पार्टपुर्जा (लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू) मा कत्तिको आत्मनिर्भर छौं ? 

लुब्रिकेटमा नेपाल आत्मनिर्भर हुन खोजेको छ। किनभने, नेपालमै १२–१३ वटा लुब्रिकेन्टका उद्योग सञ्चालनमा छन्। उद्योगहरू पूर्ण क्षमतामा आउने हो भने अबको पाँच वर्षलाई धान्न सक्ने क्षमताको पूर्वाधार तयार छ। योसँगसँगै अरू बहुराष्ट्रिय कम्पनीको उद्योग पनि स्थापना हुँदैछ। ६ महिनामा बहुराष्ट्रिय कम्पनीको पनि उत्पादन सुरु हुन्छ। टायरसम्बन्धी २ वटा उद्योग छन्।

मोटरसाइकल र ट्रकलगायतका सवारीका टायरहरू बनाइरहेका छन्। सरकारले दीर्घकालीन नीति बनाएर नेपाली उद्योगलाई संरक्षण र प्रोत्साहन गरे विस्तारै टायर उद्योग खुल्दै जान्थे। यसैगरी नेपालमा पाट्र्सका उद्योग पनि छन। हेल्मेटका उद्योग साना–ठूला गरेर २०–२२ ओटा छन्। यसैले विस्तारै पाट्र्सका केवलहरू पनि बन्न थालेका छन। अब अन्य अटो कम्पोनेन्ट उद्योगहरू पनि खोल्ने तर्खरमा छन्।

स्पेयर्स पार्ट्समा ठूलो गाडीका नटबोल्टका पुराना उद्योगहरू पनि छन्। ब्याट्री उद्योगमात्रै १२–१३ ओटा छन्। हाल यो उद्योगले झन्डै ३० प्रतिशत आयातलाई विस्थापित गरिरहेको छ। यसकारण सरकारको प्रोत्साहन भयो भने अरू धेरै उद्योग खुल्न सक्छन्।

अटोमोबाइल्सहरूका पार्टपुर्जा उत्पादन गर्ने कम्पनीको उत्पादन क्षमता र बजार कस्तो छ ? 

अटोमोबाइल्सको पार्टपुर्जा बजार र उत्पादन क्षमता पनि राम्रो छ। अब सरकारले यो क्षेत्रलाई उचित स्थान दिनु पर्‍यो। अटो मोबाइल्स होस् वा कुनै पनि औद्योगिक क्षेत्रको लागि नीतिगत रूपमै निर्णय गर्न जरुरी छ। हामीले पनि नयाँ औद्योगिक क्षेत्र बनाइरहेका छौं। औद्योगिक क्षेत्रमा अटो कम्पनी, उद्योग, बाइक र कार एक्सचेन्जिङ लगायतलाई निश्चित स्थान दिने हो भने विस्तारै स्वदेशमै स्वरोजगारी सिर्जना हुन्छ। उत्पादन लागत पनि कम हुन्छ। यसबाट उद्योगको पनि संरक्षण हुने र रोजगारी पनि प्रदान गर्दै जान सक्छ। स्वदेशी कम्पनीलाई सरकारको साथ कस्तो छ त ? 

सरकारले यातायातका सवारीसाधन उत्पादन गर्दा भन्सार, अन्त : शुल्कमा छुट दिएको छ। तर त्यस्ता सवारीमा लाग्ने कन्पोनेन्टहरूको उत्पादन गर्ने उद्योगलाई भने सरकारले कुनै पनि छुट र सुविधा दिएकै छैन। अहिलेसम्म नत बैंकिङ ब्याजदर न त भन्सारमा सुविधा छ। अटो मोबाइल्स क्षेत्र अर्थतन्त्रमा सहयोग गर्न सक्ने ठूलो क्षेत्र हो। यो भोलि पर्यटन उद्योगको उत्थानको लागि होस् वा कुनै पनि सवारीसाधनमार्फत आवतजावतदेखि ढुवानी गर्नका लागि चाहिने अपरिहार्य वस्तु हो। तर सरकारले सवारीसाधनलाई अनुत्पादक क्षेत्रमा राखेकाले हेलाँ गरेको जस्तो छ। यो क्षेत्रलाई उत्पादनमूलकमै राखेर प्राथमिकता दिएर अघि बढे देश विकास हुन्छ। 

स्वदेशी उत्पादनका लुब्रिकेन्ट, टायर, ब्याट्री कत्तिको गुणस्तरयुक्त छन् ? 
कुनै कारणले त्रुटि भएमात्रै नत्र नेपालमा उत्पादन भएका यस्ता पार्टपुर्जा गुणस्तर छन्। तर नेपालमा उत्पादित पार्टपुर्जा गुणस्तर छैनन् कि भन्ने हाम्रो परम्परागत मानसिकतामा परिवर्तन गर्नुपर्‍यो।

कुनै उद्योगीले सामान बनाइरहेको छ भने आवश्यक सुरक्षा, गुणस्तर सबैको जाँच गरेर मात्रै उत्पादन गरेको हुन्छ। सामान बजारमा जानुअघि पनि गुणस्तरीयदेखि सबै परीक्षण गरिन्छ। यसले गर्दा आयातीत सामानमा गुणस्तर हुने नेपालको उत्पादनमा नहुने भन्ने हाम्रो गलत बुझाइ छ। यसलाई सुधार्नु पर्छ।

स्वदेशमै भएका यस्ता उत्पादनको परीक्षण गर्ने संयन्त्र नहुँदा कत्तिको अप्ठ्यारो परेको छ ? 
हामीसँग गुणस्तर तथा नापतौल विभाग छ। विभागसँग यस्ता उत्पादनको परीक्षण गर्ने पूर्वाधार हुनुपर्ने हो, तर छैन। हाम्रो विडम्बना सरकारसँगै परीक्षण गर्ने पूर्वाधार नहुँदा कुनै उद्योगीले सामान उत्पादन गरेर बजारमा जानलाई नेपाल गुणस्तर चिह्न पाउन सकेको छैन। जस्ले गर्दा धेरैको विश्वास गुमाउनु परेको छ।

सरकार आफैं नेपालमा यस्ता उद्योग फस्टाऊन भन्ने चाहँदैन । यदि सरकार चाहन्छ भने यसलाई गुणस्तर चिह्न दिन अगाडि आउनुपर्ने हो। नेपालमा आयात भएका यस्ता सामान पनि गुणस्तर वा गुणस्तरहीन छ भनेर वास्तवमा एउटा क्राइट एरिया तोक्नुपर्ने हो नि। हरेक सामानका लागि नेपाल डम्पिङ साइड त बनाउनु भएन। यत्तिको सामान नेपालमै उत्पादन भएको छ भने यस्मा एन्टिडम्पिङ लगाउनुपर्छ भनेर हरेक छिमेकी राष्ट्रले गरिरहेको छ।

सरकारले गुणस्तर चिह्नको प्रयोेग नगरिदिँदा छिमेकी राष्ट्र पठाउन पाइरहेका छैनौं। त्यसकारण हामीले बजार पनि गुमाइरहेका छौं। हामीले घाटा व्यहोरिरहेका छौं। 

त्यसो भए सरकारले यसबारे सोच्न ढिला नै भइसक्यो त ? 

हो, धेरै ढिला भइसक्यो। सरकार भनेको अभिभावक हो, योबिना कुनै काम हुन सक्दैन। कि त सरकारले यो पूर्वाधार बनाउन सक्दैनौं भन्नुपर्‍यो। अर्थात्, यसमा लगानी गर्न सक्दैनौं भनेर कुनै नेपाली संघसंस्थालाई भन्छ भने नाडा जस्तोले त्यो किसिमको पूर्वाधार बनाउन सक्छ। बरु कुनै पनि परीक्षण गर्न अटोमोबाइल्सका पूर्वाधार तयार गर्न नाडा तयार छ। तर नाडालाई सरकारले स्वीकृति दिनुपर्‍यो, यसले दिएको प्रमाणपत्रलाई सरकारले मान्यता दिनुपर्‍यो। 

स्वदेशी उत्पादनसँग आयातीत उत्पादनले कत्तिको प्रभाव र प्रतिस्पर्धा गर्नु परेको छ ? 
हामीलाई प्रभाव परिरहेको छ। एक त नेपाल सानो देश भएकाले उत्पादन क्षमता कम हुन्छ। हामीसँग हरेकको लागत बढी छ। हामीले अप्रेटर चलाउनुपर्‍यो भने छिमेकी राष्ट्रबाट ल्याउनुपर्छ। त्यसलाई इन्जिनियर चाहियो भने पनि छिमेकी राष्ट्रबाटै सबै खर्चेर राख्नु परिरहेको छ।

भारत र चीनमा भने मास प्रोडक्सन हुन्छ। यसले गर्दा उनीहरूको लागत कम छ। उनीहरूलाई सरकारले लगानी गर्दा सहुलियत दिएको हुन्छ। निर्यात गर्दा पनि इन्सेन्टिभ दिएको हुन्छ। तर यहाँ हाम्रो सम्पूर्ण लगानीमा स्थानीयको विरोधदेखि सरकारको साथ नहुँदा जस्तोसुकै तनावको परिस्थितिमा पनि व्यवसाय गर्नु परिरहेको छ। 

नाकामा अनधिकृत रूपमा स्पेयर्स पार्ट्स कत्तिको भित्रिने गरेको छ। यसबारे सरकारले कत्तिको ध्यान दिएको छ ? 
खुला सिमानाका कारण २५–३० प्रतिशत अनधिकृत रूपमा स्पेयर्स पार्ट्स भित्रिरहेका छन्। जबसम्म यस्ता अनधिकृत भित्रिन रोकिँदैनन्, नेपालका उद्योगले प्रतिस्पर्धा गर्न गाह्रो छ। किनकि, भारतमा पुराना, बिग्रेका गाडीहरू कबाडीले काटेर पाट्र्सहरू बेच्छन्।

ती पार्ट्सहरू उताबाट ढिक्का भएर चोरीबाटो हुँदै बजारमा पुग्छन्। त्यस्ता सामान सस्तोमा पाइन्छन्, त्यसले बजार बिगारेको छ। यस्ता सस्ता र पुराना सामान सुरक्षाको हिसाबले रोड असुरक्षित हुने र दुर्घटनाको खतरासमेत निम्त्याउँछन्। यसबारे सरकारले ध्यानै दिएको छैन। 

१६औं संस्करण नाडा अटो शो चलिरहेको छ। यसले हाम्रा उत्पादनलाई बजारीकरणमा कस्तो सेवा पुग्नेछ ? 
यो मेला हाम्रा लागि धेरै महत्र्वपूर्ण छ। हामीले उत्पादन गरेका तथा आयात गरेका वस्तुहरू मेलामा देखाउन पाइन्छ। आउने भिजिटरहरूले नेपालमा के–के बन्दोरहेछन्, कस्तो रहेछ भन्नेबारे जानकारी पाउँछन्।

मुख्यत :  व्यापारमात्र नभई प्रडक्टबारे जानकारी दिन, देखाउन र देख्न पाउनु पनि ठूलो कुरा हो। नेपाली उत्पादन छन् भने त्यसैलाई प्राथमिकता दिऔं। यसमा सबैको सहज पहुँच पुग्छ तर आयातीत सामानहरू भोलिको दिनमा कुन कम्पनीको कस्ता गुणस्तरको भन्ने सरकारी संयन्त्र नहुँदा उपभोक्ता ठगिने सम्भावना बढी हुन्छ। 

पार्टपुर्जा परिवर्तन गर्दा मुख्य केमा ध्यान पुर्‍याउनु पर्छ ? 
सवारीसाधनको पार्टपुर्जा परिवर्तन गर्दा सबैभन्दा पहिला आफूले कुन पार्ट्स फेर्न लागेको, त्यो कत्तिको टिकाउ छ, त्यो कुन कुन कम्पनीको पाइन्छ, कुन गतिलो वा गुणस्तर छ ? त्यसको बजार मूल्य कति छ लगायतबारे बुझ्न आवश्यक छ। फेर्ने पार्ट्सको बारेमा चासो राख्ने बानी गरे धेरै मर्मत लागत कम आउन सक्छ। आफूले फेरेको पार्टसबारे जानकारी लिँदा धेरै हदसम्म सवारीचालकले खर्च कटौतीदेखि रोडमा हुने दुर्घटना र अनावश्यक झन्झटबाट टाढा रहन सकिन्छ।

सवारीको चेकजाँच गर्न कत्तिको आवश्यक हुन्छ ? 
हामीले जसरी फिटनेस कायम राख्न समय–समयमा स्वास्थ्यको चेकजाँच गर्छौं। त्यसैगरी एउटा सवारीसाधनको पनि फिटनेस जाँच गर्नुपर्छ। नेपालमा सरकारी फिटनेस सेन्टर पनि छ। यसले सवारीको कुन पार्टस्ले के काम गरिरहेको छ ? त्यसको आयु कति छ ? ब्रेक, इन्जिनमा के समस्या छ ? भनेर पनि भेहिकलको जाँच गरे जीवन बच्छ। किनभने सवारी भनेको लाइफलाइन हो। यसले साथ दिए जीवन बच्छ र धोका दिए ज्यानै जाने जोखिम हुन्छ।

यसर्थ समयसमयमा भेहिकल टेस्ट गर्न आवश्यक छ। भेहिकलको रनिङको आधारले सर्भिसिङ गर्नुपर्छ। हरेक पार्टस्को निश्चित आयु हुने भएकाले त्यसबारे सजग हुनुपर्छ। 

कोभिडपछि अटोमोबाइल्स क्षेत्र कत्तिको चलायमान छ ? 
कोभिडपछि सबैभन्दा ठूलो समस्या अटोमोबाइल्सले नै भोग्नु पर्‍यो। कोभिडपछि अर्थतन्त्र जुन हिसाबले चलायमान हुनुपर्ने हो, त्यो भएको छैन। 

प्रस्तुति  :  ममता थापा


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.