द्वन्द्वकालको विस्फोटक पदार्थ बच्चाले भेटाएपछि...

बम विस्फोटबाट एकै घरका २ नाबालकको निधन

द्वन्द्वकालको विस्फोटक पदार्थ बच्चाले भेटाएपछि...
सुन्नुहोस्

फिदिम : पाँचथरको फालेलुङ गाउँपालिका— ५ स्थित कालिका माध्यमिक विद्यालय प्राङबुङको कक्षा ६ मा अध्ययनरत ११ वर्षीय दिप्सन साँवा बिहीबार सबेरै घर फर्किए । विद्यालयमा परीक्षा चलिरहेकाले दिप्सनजस्तै डाँडागाउँका अरू थुप्रै केटाकेटी चाँडै घर पुगेका थिए ।

घरमा पुगेर दिप्सनले दुई वर्षीया बहिनी प्रिन्सालाई लिएर छिमेकी आइतबहादुर केरुङको घरमा गए । आइतबहादुर सदरमुकाम फिदिममा बस्दै आएको निकै वर्ष भयो । आइतबहादुरको घरमा ज्ञानबहादुर राई बस्दै आएका थिए । ज्ञानबहादुर सदरमुकाम फिदिममा मजदुर गर्छन् । उनी घरमा थिएनन् । ज्ञानबहादुरका ११ वर्षीय छोरा पवन राई दिप्सनका खेल्ने साथी हुन् । पवनका ७ वर्षीय भाइ दीपेश पनि घरमै थिए । उनीहरू चार जनाको समूहमा थिए ।

नानीका आमाहरू मेलापात गएका थिए । दिप्सनका बुवा दिलीप साँवा वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । घरमा ठूलो मान्छे नभएको बेला चार जना केटाकेटी जम्मा भएर रमाइलो गर्दै खेलिरहेका थिए । तर, उनीहरूको त्यो रमाइलो पल क्षणभरमै खोसियो ।  

मध्य दिउँसो एक्कासी जमिन थर्किने गरी विस्फोटको आवाज आयो । मेलापातमा रहेका गाउँलेहरू आतंकित भए । छिमेकमा रहेकी सोनी केरुङ विस्फोटको आवाज पछ्याउँदै आइतबहादुरको आँगनमा पुगिन् । ‘आँगनमा केटाकेटीहरू जलिरहेका थिए,’ घटना स्मरण गर्दै सोनीले भनिन्, ‘उनीहरूको शरीरबाट धुवाँ उडिरहेको थियो । कोही चिच्याइरहेका थिए, कोही नानीहरू बेहोस थिए ।’ 

केही क्षणमा गाउँलेहरू घटनास्थलमा जम्मा भए । प्रहरीहरू पनि घटनास्थलमा पुगे । गम्भीर घाइते दिप्सन साँवा, प्रिन्सा साँवा र पवन राईलाई जिल्ला अस्पताल फिदिम पठाइयो । सामान्य अवस्थामा रहेका दीपेश राईको प्राङ्बुङ स्वास्थ्य केन्द्रमा उपचार गरियो । 

घाइतेहरूलाई जिल्ला अस्पताल फिदिम ल्याइ पुर्याउँदा निकै अबेर भइसकेको थियो । अवस्था गम्भीर देखेपछि चिकित्सकहरूले दिप्सन र प्रिन्सालाई तत्काल झापाको बी एन्ड सी अस्पताल रेफर गरे । प्रिन्साको बाटोमै निधन भयो । उनका दाजु दिप्सनको बी एन्ड सीको बेडमा मध्यरातमा निधन भयो । घाइते पवनलाई पनि जिल्ला अस्पताल पाँचथरले शुक्रबार बी एन्ड सी रेफर गरेको छ ।

ग्रिनेट बिस्फोट हुँदा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ‘घटनास्थलमा खोजतलास गर्दा अर्को विस्फोटक पदार्थ भेटियो,’ जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त क्षेत्रीले भने, ‘उक्त वस्तु होममेड ग्रिनेट भएको हाम्रो अनुमान छ ।’ घटनास्थलमा भेटिएको अर्को बम फिदिमस्थित नेपाली सेनाको रणशेर दल गणको टोलीले शुक्रबार डिस्पोज गरेको छ ।  

घाइते दीपेशका अनुसार खेल्दाखेल्दै घर नजिकै एउटा मज्जाको डल्लो भेटियो । त्यसलाई फुटाएर हेर्ने उनीहरूलाई मन भयो । उनीहरूले फुटाउने कोसिस गरे । कसैगरी डल्लो फुटेन । हेम्मर ल्याएर उनीहरूले डल्लोलाई जोडले प्रहार गरे । ‘हेम्मरले हानेपछि ठूलो पडकएको थियो,’ घटना स्मरण गर्दै पवनले भने । 

घटनाको विषयमा विभिन्न किसिमको बहस सुरु भएको छ । द्वन्द्वकालका अवशेषको रूपमा रहेका विस्फोटक पदार्थ बच्चाले भेटाएपछि अप्रिय घटना भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले बताए । ‘यो द्वन्द्वकालकै विस्फोटक पदार्थ हो भन्ने लागेको छ,’ कोइरालाले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.