कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध, ८ करोड बढीको स्याउ कुहियो

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध, ८ करोड बढीको स्याउ कुहियो

कालीकोट : कर्णाली राजमार्ग चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ। दैलेख र कालीकोटको सिमानामा रहेको पक्की पुल र गगनेखोलाको पहिरोले सडक बगाउँदा कर्णाली राजमार्ग बन्द भएको हो। 

जुम्लाबाट स्याउ बोकेर आएका मालबाहक ट्रक बाटोमै अलपत्र परेका छन्। जुम्ला जिल्ला कनका सुन्दरी गाउँपालिका-८ निवासी किसान गोर्ख भट्टले ८ करोड रुपैयाँ बराबरको स्याउ कुहिएको बताए।

उनले भने,  ‘एक गाडीले ८ सय क्विन्टल स्याउ बोकेको छ। जुम्लाका विभिन्न स्थानबाट स्याउ लोड गरी फर्केका १ सय ६० वटा मालबाहक ट्रक रोकिएका छन्। ट्रकले बोकेको स्याउ गर्मीका कारण बाटोमै कुहिएको छ। कालीकोटको ताडीमा मात्र ६० वटा गाडी रोकिएका छन्। राजमार्गका विभिन्न स्थानमा प्रहरीले सुरक्षित स्थानमा रोकेका अझै सय वटा मालवाहक ट्रकको पनि व्यथा यस्तै होला।’

जुम्लाका किसानले स्याउ टिपेर बिक्री गर्ने बेलामा यस्तो विपद हुनु दुःखको कुरा भएको कनका सुन्दरी गाउँपालिका-८ कै देविलाल सञ्ज्यालले बताए। उनले भने, ‘एउटा मालबाहक ट्रकले १२ लाख बराबरको स्याउ बोकेको छ। बाटोका कारण यस्तो हालत भयो। सडकका सरोकारवाला निकाय तथा स्थानीय जनप्रतिनिधि र माननीयहरूले अझै समस्या बुझेका छैनन्।’

गएको बुधबार राति आएको भीषण वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेका छैनन्। सुर्खेतदेखि खिड्किज्युला र हुल्मदेखि मान्म हुँदै जुम्लासम्मका साना ठूला पहिरो पन्छाएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पोषण थापाले बताए।

उनले भने, ‘पहिरोले कर्णाली राजमार्गको गगनेखोलामा सडक नै नरहने गरी बगाएको छ। दहिखोलामा पहिरोले पक्की पुल बगाउँदा निर्माण गर्न अझै केही दिन लाग्ने भएकाले यात्रुहरूलाई निक्कै गाह्रो भएको छ। बिहीबार बिहानैदेखि पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा डोजर, स्काभेटर तथा अन्य उपकरणहरू परिचालन गरेका छौ। गगनेखोला र केही ठाउँमा भिर फुटाल्नु पर्ने भएकाले राजमार्ग खुल्न समय लाग्छ।’

सुर्खेतदेखि जुम्लाका लागि हिँडेका यात्रुहरू बाटोमै अलपत्र परेको चार दिन भयो। उनीहरूसँग केही किनेर खाने पैसा छैन। सुर्खेत भैरवस्थान-४ का विष्णु पाण्डेले करिब चार पाँच सय गाडीहरू अलपत्र परेको बताए। उनले भने, ‘सम्बन्धित निकायले अहिले सम्म सुनेको देखिँदैन। यति धेरै गाडी चार दिनसम्म रोकिँदा गाडी साहु तथा चालक र अन्य मजदुरलाई समेत सास्ती भएको छ।

यस्तै हिमा गाउँपालिका जुम्लाका पुन्न सार्कीले स्याउ बोकेर बेच्न हिँडेको एक हप्ताको भएको बताए। उनले भने, ‘शहर बजारका मानिसले जुम्लाको स्याउ खान भरोषा गरेको बेला राजमार्ग अवरुद्ध भयो। करोडौंको स्याउ बाटोमै स्याउ कुहियो। यसको क्षतिपूर्ति राज्यले दिनुपर्छ। माननीय ज्ञानेन्द्र बहादुर शाहीलाई धेरै पटक फोन गरे उहाँले उठाउनु भएन। चुनावमा फेरी भोट माग्न आउनुहोला त्यतै भेटौँला।’

गगने खोलामा अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ। सडक निर्माण गर्न पनि निकै गाह्रो छ। युवा निर्माण व्यवसायी खम्ब बहादुर शाहीले गगने खोलामा बेलिब्रिज पुल नलगाई समस्या समाधान नहुने बताए। उनले भने, ‘सडक कहिले बन्छ र स्याउले बजार पाउँछ। सहरकारीबाट रकम निकालि स्याउ खरिद गरेर बेच्न हिँडेका स्याउ मालिकहरू सदरमुकाम मान्मको ताडीमा निरास छन्। उनीहरू भन्छन्, ‘हाम्रो लाखौँ रुपैयाँ पाँच दिनमै लिलाममा गयो अब कसरी घर फर्कने हो।’

सडक डिभिजन कार्यालय जुम्लाले हेर्ने दैखोला–जुम्लाको १०४ किमी क्षेत्र भित्र निरन्तर आइरहेको पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ। शुभकालिका गाउँपालिका-१ छाती जानका लागि निर्माण गरिएको ग्रामीण सडकबाट पानी पर्ने बित्तिकै आउने ढुंगा सहितको भीषण पहिरोले राजमार्गको गगने खोलामा समस्या आइरहने सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए।

उनले भने, ‘गगने खोलामा सडकको नमुना नै छैन भिर परेकाले सडक खुलाउन अझै ५ दिन लाग्ने देखिएको छ। २ सय ३२ किमि लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुने गर्छ। हाल सम्म राजमार्गमा पाँच दर्जन भन्दा बढी पहिरो खसे पनि यस वर्षको हालसम्मकै ठूलो पहिरो गगने खोलामा गएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपालीले बताए।

उनले भने, ‘गगने खोला, दहिखोला, खिड्की ज्युला र हुल्म, सदरमुकाम मान्मको ताडीमा बाटो खर्च सकेर अलपत्र परेका यात्रुहरूलाई स्थानीय सरकारले विकल्प सोचि दिन अनुरोध गरेको छु।’ स्याउ ढुवानीका लागि हेलिकोप्टर प्रयोग गर्ने हो भने महंगो पर्ने र त्यति स्याउ भण्डारका लागि स्याउ कोल्ड स्टोर कालीकोटमा छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.