माओवादीभित्र विवाद र तरंग

‘माओवादी फुट्छ ?’ प्रश्नले प्रचण्ड हैरान

‘माओवादी फुट्छ ?’ प्रश्नले प्रचण्ड हैरान
फाइल तस्बिर।

नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मका एजेन्डाहरू उपमहासचिव जनार्दन शर्मासहितले लिखित रूपमा उठाएका थिए। जसले पार्टीभित्र र बाहिर ‘माओवादी फुट्दै छ’ भन्ने अर्को तरंग पैदा भएको थियो।

काठमाडौं : माओवादी केन्द्रका नेताहरू देश दौडाहामा छन्। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी पदाधिकारीको सिंगो टिम लिएर मैदानमा उत्रिएका छन्। माओवादी पार्टी नै लथालिंग र भत्ताभुंग छ। यसबारे पदाधिकारी र स्थायी कमिटीमा हालै चर्को बहस भएको थियो। त्यसमा प्रचण्डको कडा आलोचना पनि नभएको होइन।

नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मका एजेन्डाहरू उपमहासचिव जनार्दन शर्मासहितले लिखित रूपमा उठाएका थिए। जसले पार्टीभित्र र बाहिर ‘माओवादी फुट्दै छ’ भन्ने अर्को तरंग पैदा भएको थियो। 

पार्टी संगठनको ‘नाडी छाम्न’ अध्यक्ष प्रचण्ड यतिखेर पश्चिम नेपालमा छन्। ‘पार्टी फुट्दै छ?’ भन्ने प्रश्न गम्भीर ढंगले त्यता पनि उठिरहेको छ। यो प्रश्नले पछिल्लो समय दाहाल हैरान छन् पार्टीभित्र र बाहिर पनि। यसलाई चिर्न माओवादी मुख्यालयले ‘पार्टी एक ढिक्का’ रहेको नेता कार्यकर्तालाई नयाँ सर्कुलर नै जारी गर्नु परेको छ। 

पार्टी शुद्धीकरण र रूपान्तरणका लागि पदाधिकार र स्थायी समितिमा विहंगम छलफल भएको स्पष्ट गर्दै सर्कुलर आएको महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले पुष्टि गरेका छन्। पार्टी उपमहासचिव शर्माले पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने बैठकमा लिखित रूपमा एजेन्डा पेस गरेका थिए। त्यसपछि माओवादीभित्र जकडिएको विवाद, मतभेद बाहिर आएको हो।

‘पार्टी फुट्न लागेको हो ?’ भन्ने कार्यकर्ता र नेताहरूको प्रश्नलाई माओवादी मुख्यालय पेरिसडाँडाले स्पष्ट पार्दै भनेको छ, ‘त्यसो होइन। पार्टी एकताबद्ध छ।’ यसअघि स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले सबै कुरा स्पष्ट पारिसकेकाले त्यस्तो कुनै सम्भावना नरहेको माओवादीले दाबी गरेको छ। 

‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदैछ भनी जसरी चर्चा, परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँदै छन् भन्ने प्रचारमा कुनै सत्यता छैन’, पार्टी सर्कुलरमा भनिएको छ, ‘तर, पार्टीभित्र निजी स्वार्थ केन्द्रित गुट, उपगुटजन्य प्रवृत्तिहरू छन्।’ त्यसलाई निरुत्साहित गर्दै पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै लैजानुपर्ने आवश्यकतामाथि जोड दिइएको छ।

पार्टीको बैठकका क्रममा बाँके पुगेका अध्यक्ष प्रचण्डले नयाँ पुस्तालाई साथमा लिएर अघि बढ्ने विश्वास दिलाएका छन्। उनले सबै क्षेत्रमा युवालाई साथमा लिएर मात्रै नयाँ एजेन्डा पूरा गर्न सकिने जिकिरसमेत गरे। ‘पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच छ’, उनले भने, ‘मैले पार्टीको नेतृत्व गरेको ३५—३६ वर्ष पुगिसक्यो। पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्यांकनबाट तय हुन्छ, विधिबाट आउँछ।’ पार्टीमा नयाँलाई स्थान दिन कन्जुस्याइँ नगरेको प्रचण्डको कथन थियो। ‘सधैं म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने पनि होइन, सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘पार्टीको आवश्यकता, साथीहरूको जोडबल र जनभावनाले गर्दा ३५/३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु।’ 

पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको रहेको अध्यक्ष प्रचण्डले स्पष्ट पारे। त्यसअघि प्रचण्डले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चारकर्मीहरूसँग पार्टी अन्तरविरोध अन्त्य भएको दाबी गरेका थिए। पार्टीको बैठकमा अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्मासहित अरू नेताहरू पनि सँगसँगै छन्। ‘पार्टीमा नेतृत्व हस्तान्तरणको विषयमा जहिले पनि छलफल भइराखेको छ। तर अहिलेको समयमा नेतृत्व हस्तान्तरण गर्न समय भएको छैन भन्ने मेरो भनाइ छ’, उनले ठोकुवा गर्दै भने, ‘तथापि म ७० वर्ष कट्दैछु। अब त मलाई अध्यक्ष पद ठूलो लाग्दैन। नेपालको परिवर्तनको ठूलो नेता भनेर दुनियाँले स्वीकार गरेको छ। समय आएपछि म आफैं पार्टीको नेतृत्वबाट फरक जिम्मेवारीमा जाने तयारीमा छु।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.