स्थायी समिति बैठक

जनार्दन शर्माको प्रस्ताव : प्रचण्डले नेतृत्व छाड्नुपर्छ, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छान्न मिति घोषणा गरौं (पूर्णपाठ)

जनार्दन शर्माको प्रस्ताव : प्रचण्डले नेतृत्व छाड्नुपर्छ, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छान्न मिति घोषणा गरौं (पूर्णपाठ)

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व छाड्नुपर्ने प्रस्ताव गरेका छन्। माओवादीको स्थायी समिति बैठकमा लिखित प्रस्ताव राख्दै सम्बोधन गर्दै शर्माले पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन्।

‘हाम्रो पार्टी र आन्दोलनमा अन्तरसंघर्ष र दुई लाइन संघर्ष संचालन गर्ने सन्दर्भमा एकथरीले अन्धसमर्थन गर्ने र अर्को थरिले वर्गसंघर्षकै रुपमा बुझ्ने प्रवृत्ति हावी छ। यसलाई पार्टी निर्माण र नयाँ परिस्थिति अनुसार रुपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिबृद्धि गर्न जरुरी छ। त्यस अर्थमा पुरानालाई सम्मान नयाँलाई प्रोत्साहनको मान्यतामा रही विकल्पमा जानुपर्छ’उनले भनेका छन्।

उनले बैठकमा तीनवटा प्रस्ताव अगाडि राखेका छन्। जसमा नेतृत्व हस्तान्तरणका लागि अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्नुपर्ने माग गरेका छन्। 

त्यसैगरी नेतृत्व पुस्तान्तरणका लागि अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने र हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्न दिनुपर्ने बताएका छन्।

उनले हालको केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्नेसमेत प्रस्ताव गरेका छन्। उनले आफ्ना प्रस्तावलाई कुनै आग्रह पुर्वाग्रहको रुपमा नलिई पार्टी निर्माणको लागि गरिएको बहसको विषयका रुपमा ग्रहण गरिनेछ भन्ने विश्वास लिएको बताएका छन्। 

जनयुद्ध तथा जनआन्दोलनमा लागेका वर्ग र समुदाय टाढिए

​​​​​उपमहासचिव शर्माले राष्ट्रियता र जनजिविकाको मुद्दा संवर्द्धन गर्न नसक्दा आज जनतन्त्रमाथि नै धावा बोल्ने परिस्थिति पैदा हुँदै गएको उल्लेख गरेका छन्।

‘राष्ट्रियता, कुनै पनि राष्ट्रका लागि सबैभन्दा संवदेनशील विषय हो। यसको सुदृढीकरणका लागि आर्थिक आत्मनिर्भरताको नीति चाहिन्छ। आर्थिक आत्मनिर्भरताको लागि उत्पादनमुखी अर्थतन्त्र जरुरी हुन्छ। यसको लागि आय प्रतिस्थापन र निर्यात प्रवर्द्धनको प्रभावकारी नीति चाहिन्छ।’ शर्माले भने,‘आम जनसमुदाय राष्ट्रिय स्वाभिमानको भावनाले शिक्षित हुन जरुरी छ। त्यसका लागि राष्ट्रप्रति इमान्दार, सबल र सुदृढ नेतृत्व र कुटनीति चाहिन्छ, जसले राष्ट्रियताको संवर्द्धनमा प्रभावशाली भुमिका निर्वाह गर्न सकोस्। तर आज सिद्धान्तहीन सहकार्य तथा हचुवा परराष्ट्र नीतिका कारण नेपालको राष्ट्रियता सुदृढ हुन सकेको छैन जनजीविकाको प्रश्न, जनताको आर्थिक जीवनसँग जोडिएको अर्को महत्वपूर्ण प्रश्न हो।’ 

उनले पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग र समुदायका दैनिक जीवनका समस्याहरु समाधान गर्न नसकेको कारण टाढिदै गएको निष्कर्ष निकालेका छन्। 

एकलौटी नेतृत्वको अभ्यास गरिँदा समस्या

उनले सामूहिक नेतृत्वको कम्युनिष्ट अवधारणालाई संकुचित गर्दै एकलौटी नेतृत्वको अभ्यास गरिँदा समस्या भएको उल्लेख गरेका छन्। शर्माले भने,‘सामूहिक नेतृत्वको कम्युनिष्ट अवधारणालाई संकुचित गर्दै एकलौटी नेतृत्वको अभ्यास गरियो। युद्धकालिन प्राधिकार सामूहिक विचार संश्लेषणको रूपमा थियो तर शान्ति प्रक्रियामा आउदै गर्दा वैचारिक संश्लेषणलाई खारेज गरेपछि नेतृत्वको प्राधिकार मात्र बाँकी रह्यो जसले पार्टीलाई उल्टो दिशातर्फ डोर्यायो। शान्ति सम्झौतासँगै बदलिएको परिस्थिति अनुरूप पार्टीलाई संगठनात्मक संरचना र विधि पद्दति अनुसार चलाउने काम गरिएन।’  

यो पनि पढ्नुहोस


 कम्युनिष्ट पार्टीमा सामुहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको मर्म विपरीत पार्टीमा हाइरार्की सिष्टम स्थापित गरिनु समस्याको जड भएको उनको भनाई छ। ‘ कम्युनिष्ट पार्टीमा सामुहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको मर्म विपरित पार्टीमा हाइरार्की सिष्टम स्थापित गरियो।’  शर्माले भने,‘सचिवभन्दा उपमहासचिव, उपमहासचिवभन्दा महासचिव, महासचिवभन्दा उपाध्यक्ष, उपाध्यक्षभन्दा वरिष्ठ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षभन्दा अध्यक्ष माथि हुने र एकअर्कोलाई उँचो – निचो देखाउने वेयष्ट मिनिष्टरियल सिष्टम पार्टीमा लागू गरियो तर बिग्रेको कामको नैतिक जिम्मेवारी नलिने प्रवृत्ति हावी हुँदै गयो। बहुलवादी सांगठनिक संरचना र केन्द्रीकृत सोंच आफैंमा अन्तरविरोधी कुरा हो।’

पार्टी शुन्यतर्फ उन्मुख

उपमहासचिव शर्माले पार्टी शुन्यतर्फ उन्मुख भएको उल्लेख गरेका छन्। पार्टीभित्र भएको कमजोरीको जिम्मेवारी अहिलेको मूल नेतृत्वले लिन किन आनकानी गरिरहेको भन्दै बैठकमा प्रश्न गरेका थिए।

‘२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्राय सबै हामीबाट खोसिएका छन्। हामी शुन्यतर्फ उन्मुख छौं। पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ। र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं।’ शर्माले भने,‘ बिडम्बना के छ भने, आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन्। यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनाकानी गरिरहेका छौं ? हाम्रो पार्टीको साँघुरिदै जानुको मूल कारण जनता नभएर हामीले उठाएका नारा, दिएका आश्वासन हामी सरकारमा हुँदा पूरा नभएर हो।’ 

नेताहरुको बसाई उठाई, रहनसहन राजा महाराजाको जस्तो भएकाले जनताले मन नपराएको उनको दाबी छ।  शर्माले भने,‘शान्ति प्रक्रियामा आए यता हाम्रो तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क वा हाम्रा च्यानलहरु सही नभएको, हाम्रो बसाई उठाई, रहनसहन राजामहाराजाको जस्तो भएको जनताले मन पराएनन्। न हामीलाई अँगालो हाल्न चाहने आफ्नै वर्गले त्यो गर्न सक्ने अवस्था छ न सुमसुम्याउन चाहनेहरुले त्यो अवसर पाउने स्थिति छ। सीमित मान्छेको घेरामा टाढैबाट दर्शनभेट हुने वातावरणमै हामी रमाउन थाल्यौं।’

हेर्नुहोस् शर्माको लिखित प्रस्ताव

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.