२०८४ को चुनावमा एमालेले कसैसँग गठबन्धन नगर्ने

२०८४ को चुनावमा एमालेले कसैसँग गठबन्धन नगर्ने
सुन्नुहोस्

काठमाडौं : एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को आवधिक निर्वाचनमा एमालेले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेका छन् । त्यसका लागि पार्टीको एकल बहुमत ल्याउने गरी काममा जुट्न पार्टीका नेताहरूलाई निर्देशन पनि दिएका छन् ।

पार्टीको मंगलबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन र २०८४ को निर्वाचनका लागि पार्टीलाई बलियो बनाउन निर्देशन दिए । 

‘एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन,’ ओलीले बैठकमा भनेका थिए, ‘एक्लै लड्छ । त्यसका लागि पार्टी बलियो बनाउन जुटौं ।’ अध्यक्ष ओलीले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा पनि पार्टी एक्लै लड्ने बताएका थिए । ‘स्थानीय तहको उपचुनावमा हामी एक्लै लड्ने हो । त्यसैअनुसार अहिलेबाटै तयारी गर्नुपर्छ’, उनले भने । 

एकल बहुमतका लागि पार्टीका राजनीतिक, सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीको निर्देशन थियो । ‘संगठनहरू चुस्त दुरुस्त हुनुपर्‍यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन’, अध्यक्ष ओलीले भने, ‘ग्राउन्डमा योजना बनाएर अघि बढ्नुपर्‍यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्‍यो ।’

अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाएर सशक्त बनाउन निर्देशन  दिएको पोलिटब्युरो सदस्य विशाल भट्टराईले जानकारी दिए । अध्यक्ष ओलीले पार्टीमा भएका अन्तरविरोधलाई समाधान गरी स्थानीय तहको निर्वाचन र ०८४  निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिएको भट्टराईले जानकारी दिए । ‘समयमा नै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छौं ।’ 

बैठकमा अध्यक्ष ओलीले सहमतिअनुसार नै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने जानकारी गराए । ‘समयमा नै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छौं, त्यसमा यता उता हुने कुरै छैन, उनले भने । गत शनिबार क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’को पुस्तक विमोचन कार्यक्रममा पनि ओलीले आफ्नो नेतृत्वको सरकारको कार्यकालको मिति तोकेका थिए । त्यस बेला ओलीले आफू नेतृत्वको सरकारको कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताएका थिए । 

अराजकता दुस्साहसलाई निस्तेज पारिने 

बैठकमा ओलीले एमाले सरकारमा गएदेखि नै पार्टी र सरकारमाथि प्रहार भइरहेको विश्लेषण सुनाएका थिए । सामाजिक अराजकता निम्त्याएर भाँडभैलो गराउने माओवादी अध्यक्ष प्रचण्डको चाहना पूरा नहुने ओलीको दाबी थियो । बैठकमा ओलीले भनेका थिए, ‘विद्रोह गराउने, सामाजिक अराजकता फैलाउने प्रयास भइरहेको छ तर यो सफल हुँदैन ।’ 

बंगलादेश र श्रीलंका बन्दै छ भनेर प्रचार गरिएकोमा ओलीले असन्तुष्टि पोखेका थिए । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बंगलादेश र श्रीलंका हुनसक्ने अभिव्यक्ति सत्ता बाहिर निस्किएपछिको पीडामात्र भएको बताए । ‘सरकारमा भइञ्जेल आफैं उपद्रो गर्ने, अनि अहिले बाहिर निस्केपछि असन्तुष्टहरू उचाल्ने र ओराल्ने काम भइरहेको छ’, ओलीले भनेका थिए, ‘जसरी बंगलादेश र श्रीलंकाको उदाहरण दिएर सदनमा बोलेको सुनियो, त्यो एउटा जिम्मेवार नेताले बोल्ने भाषा थिएन ।’ उनले गौरा पर्वको अवसरमा टुँडिखेलमा गएको गतिविधि पनि नियोजित भएको उनको भनाइ थियो । 

सरकारको काम कारबाही 

प्रधानमन्त्री ओलीले सरकारको कामकारबाही राम्ररी चलिरहेको बिफ्रिङ गरेका थिए । उनले भने, ‘सरकार अहिले राम्ररी चलिरहेको छ । उद्देश्यअनुसार जनताका काम गरिरहेको छ । जनतालाई केन्द्रबिन्दुमा राखेर सरकार र पार्टी दुवैले काम गर्नुपर्छ ।’

पोलिटब्युरो सदस्य भट्टराईले अध्यक्षको समसामयिक परिस्थितिको बिफ्रिङका साथै बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेस गरेको बताए । महासचिवको कार्ययोजनामाथि बुधबारको बैठकमा छलफल हुनेछ । 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले महासचिव पोखरेलद्वारा प्रस्तुत कार्ययोजनामामाथि बुधबारको बैठकमा छलफल गरेर नेताहरूलाई जिम्मेवारीसहित देशैभर परिचालन गर्ने तयारी भएको बताए । प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तारलगायत छन् । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.