दोधारा चाँदनीलाई मुलुककै ठूलो नाका बनाउँछौं : गृहमन्त्री लेखक
महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रूपमा विकास गर्ने बताएका छन्।
बुधबार दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रूपमा विकास गरी देशको सबैभन्दा ठूलो नाकाका रूपमा विकास गर्ने बताए। 'महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण हुन्छ,' उनले भने, 'यो नाकालाई भारत र चीनसँग जोडेर देशकै ठूलो नाकाका रुपमा विकास गर्छौ।'
उनले निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिङ्करबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताए। 'उद्योग, व्यापार वाणिज्य,पर्यटन सबैका लागि महत्वपूर्ण नाकाका रूपमा दोधारा चाँदनीलाई विकास गर्छौं। यो त्यसै गफ गरेको होइन, उहिले महाकालीमा झोलुङ्गे पुल बनाउँछौ भन्दा हास्ने गरेको मैले सुन्या छु। अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ। गरेपछि त बन्दो रहेछ त,' उनले भने।
उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए। 'दुई/तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ,' उनले भने। दोधारा चाँदनी क्रमिक रूपमा विकास भइरहेकाले चिन्ता गर्नुपर्ने विषय नभएको उनको भनाइ छ।