पहिलो ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने एमालेको मार्गचित्र

पहिलो ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने एमालेको मार्गचित्र

काठमाडौं : दुईदिन चलेको एमालेको पोलिटब्युरो बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने ‘रोडम्याप’ बनाएको छ। महासचिव शंकर पोखरेलद्वारा प्रस्तावित ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गर्दै कार्यान्वयनमा जाने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिए।

पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउनका लागि आगामी वर्ष २०८२ भित्र १० लाख पार्टी सदस्य बनाउने कार्ययोजनामा उल्लेख छ। यस्तै, पार्टीमा भूमिकाविहीनलाई जिम्मेवारी प्रदान गर्ने, अन्तरविरोधको हल गर्ने, मन्त्री र जनप्रतिनिधिलाई परिचालन गर्ने लगायतका कार्यक्रम रोडम्यापमा समेटिएका छन्। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि नेता/कार्यकर्तालाई भूगोलमा खट्न निर्देशन दिएका छन्। ‘अहिले पनि हामी राष्ट्रिय शक्ति हौं, आगामी निर्वाचनपछि हामी निर्णायक राष्ट्रिय शक्ति बन्छौं’ ओलीले बैठकमा भनेका थिए। राजधानीमा बसेर कुरा काट्ने काम बन्द  गर्न पनि ओलीले निर्देशन दिएका थिए। 

‘सबै आफ्नो कार्य क्षेत्र जानु होला,’ ओलीले भनेका थिए,‘काठमाडौं बसेर नेताको वरिपरि घुमेर हुँदैन। धेरैले मलाई कुरा लगायो भन्नु हुन्छ, त्यस्तो होइन। मसँग सुन्नलाई कान मात्र छैन, खोपडी पनि छ, विवेक छ। भूगोलमा गएर जनताका काम गर्नुहोस्।’ उनले जनतासँग जोडिएर काम गर्न निर्देशन दिए। सामाजिक सञ्जालमा पनि सक्रिय हुन उनको निर्देशन थियो। 

यस्तै, एमालेले नेता/कार्यकर्ताको नैतिकता, अनुशासन र चारित्रिक विषयमा कठोर बन्ने निर्णय गरेको छ। अनुशासनहीन र चरित्रहीन कार्यबाट टाढै रहन बैठकले निर्देशन दिएको छ। बैठकको समापनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि बढे भनेर  गुनासो बढेको छ। कि राजनीति गर्नुहोस् कि इन्जोय गर्नुहोस्।’ राजनीति र इन्जोेय दुवै गर्न पाइँदैन। चरित्र, आचरण, अराजक, नैतिकहीन कुरा पार्टीलाई सह्य छैन।’

वामपन्थी मोर्चा पनि नबनाउने स्थायी समिति सदस्य शेरबहादुर तामाङले एमाले चुनावमा एक्लै जाने र कुनै पनि मोर्चा नबनाउने निर्णय भएको जानकारी दिए। ‘एमालेले कुनै मोर्चा बनाउँदैन,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै तामाङले भने, ‘न वाममोर्चा न अन्य मोर्चा, एमाले एक्लै जान्छ।’

आगामी निर्वाचनमा एक्लै जानेमा अध्यक्षको जोड थियो। ओलीले अब कांग्रेस पनि एक्लै चुनाव लड्ने ठाउँमा पुगेकाले एमालेका लागि एक्लाएक्लै प्रतिस्पर्धाको मौका आएको बताए। हालैको केन्द्रीय समितिको बैठकमा कांग्रेसले पनि एक्लै चुनाव लड्ने निर्णय गरेको थियो। उनले भने, ‘नेपाली कांग्रेसले एक्लै चुनाव लड्छु भनेको छ। एमाले हिजो पनि एक्लै गठबन्धनसँग लडेको र आज पनि एक्लै चुनाव लड्छौं। आफ्नो नीति तथा कार्यक्रम लिएर वामपन्थीका नाममा कुनै मोर्चा बन्ने सम्भावना छैन।’

सरकारको काम कारबाही विषयमा प्रधानमन्त्री ओलीले बिफ्रिङ गरे। ओलीले भ्रष्टाचारको नियन्त्रण गर्न एमाले र एमाले नेतृत्वको सरकार लागि परेको बताए। उनले  भ्रष्टाचारका विषयमा कुनै कम्प्रोमाइज नगर्ने  स्पष्ट पारे। 

‘सरकार र एमाले पार्टीले कुनै पनि भ्रष्टाचार सहँदैन। भ्रष्टाचार न्यूनीकरण गर्न सरकार कुनै कसर बाँकी राख्दैन’, ओलीको भनाइ उदधृत गर्दै प्रचार विभाग प्रमुख गौतमले भने। अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट धोका हुन लागेको थाहा पाएरै कांग्रेससँग सहकार्य गरेको बताएका थिए। ‘प्रचण्डले छुरा तिखारेर बसेका थिए। तर, मैले एक राउन्ड किक दिएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले असन्तुलित भएर बोल्दै छन्।’

प्रचण्डले अनेक नाममा धोकाको राजनीति गर्ने गरेको ओलीको आरोप थियो। समाजवादी मोर्चा भनेर पनि धोकाकै राजनीति गर्न खोजिरहेको  ओलीको आरोप थियो। ‘समाजवादी मोर्चाको प्रस्ताव प्रचण्डले गरेका थिए, तर मैले मानिनँ। किनभने त्यसको उद्देश्य सही थिएन’, ओलीले भने, ‘तपाईंहरू कतिपय अझै पनि वाम एकता भन्नु हुन्छ, सुन्दा प्रिय पनि लाग्छ। तर, त्यो मोर्चा धोकाको मोर्चा हो।’ 

उनले सहकारी ठगी गर्नेलाई पनि कडाइका साथ कारबाही गरिने स्पष्ट पारे। दुई दिनसम्म चलेको बैठकका ५१ जना पोलिटब्युरो सदस्यले बोलेका थिए। बैठकले १५ बुँदै समसामयिक प्रस्ताव पारित गरेको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.