भाद्र २८ देखि ३० गतेसम्म सार्कस्तरीय अन्तर्राष्ट्रिय सेमिनार, हिमालय क्षेत्रमा वातावरण परिवर्तनबारे छलफल हुने
काठमाडौं : हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सेमिनार भाद्र २८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ। नीति अनुसन्धान प्रतिष्ठान, नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र २८ देखि ३० गतेसम्म सार्कस्तरीय अन्तराष्ट्रिय सेमिनार आयोजना गर्न लागिएको जनाएको हो।
सेमिनारमा नेपाल, भारत, बंगलादेश, म्यानमार र भुटानबाट प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत सरकारी तथा गैह्रसरकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागीता रहने सेमिनार आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले जानकारी दिए।
२५ भन्दा बढि कार्यपत्रको प्रस्तुतीकरण रहने सेमिनारबाट काठमाडौं घोषणा पत्र जारी गर्ने र सरोकारवाला निकायलाई वातावरण संरक्षण र जलवायु परिवर्तनका असरमा बारेमा जानकारी गराउने योजना रहेको उनले बताए।
स्थानीय र परम्परागत ज्ञान, बौद्धिक अध्ययन अनुसन्धान र प्रभावकारी नीति तर्जुमा गर्दै राष्ट्रहरुबीचको नियमित संवादमार्फत प्राकृतिक स्रोत साधनहरुको समुन्नत सदूपयोग गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ सेमिनारको आयोजना गरिएको आयोजकले जनाएको छ।