गुडविभको २९औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण
काठमाडौं : नेपाल गुडविभ फाउन्डेसनले २९ औं वार्षिक साधारणसभा तथा वार्षिक सामाजिक परीक्षण सम्पन्न गरेको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच संस्थाले आफ्नो वार्षिक साधारण सभाका साथै सामाजिक परीक्षण गरेको हो।
वर्षभरी गरेका सामाजिक तथा आर्थिक क्रियाकलापका बारेमा जानकारी गराउने उद्देश्यले सामाजिक परीक्षण कार्यक्रम गरिएको संस्थाका महासचिव किरण थापाले बताए। कार्यक्रम एक नियमित प्रक्रिया भएको संस्थाका उपाध्यक्ष बलराम गुरुङले बताए। फाउन्डेसनका अध्यक्ष उवराज भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका कार्यक्रम प्रबन्धक हेमबहादुर मोक्तानले संस्थाले वर्षभरी गरेका विभिन्न क्रियाकलाप र बजेटको विषयमा प्रकाश पारे।
गलैंचा उद्योगहरूमा हुने अवैध बालश्रमलाई रोकथाम गर्ने उद्देश्यले संस्था स्थापना भएको उनले जनाए। संस्थाले सञ्चालन गरेको आवधिक बालगृहका बारेमा कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलमा अध्ययनरत सुनमाया मोक्तानले सबै बालबालिकाको प्रतिनिधित्व गर्दै आफ्नो अनुभव सुनाइन्। उनले गलैंचा कारखानादेखि बालगृहसम्मको यात्रा सुनाइन्। उनले १२ कक्षाभन्दा माथि अध्ययन गर्नका लागि सहयोग गरिदिन संस्थालाई आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस !