रोगका कारण घट्दै चौरीपालन व्यवसाय
![रोगका कारण घट्दै चौरीपालन व्यवसाय](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_NeByejsWyN_HEUOeorFYP.jpg)
सिन्धुपाल्चोक : जलवायु परिवर्तनले विभिन्न रोग लागेपछि सिन्धुपाल्चोकको हिमाली क्षेत्रका चौँरी गोठमा अहिले चौँरीको संख्या घट्दै गएको छ।
सिन्धुपाल्चोकको उत्तरी भेगका लिस्ती, तातोपानी, गोल्चे, चन्द्रकु, अन्थली, कर्थली, ज्याङमादिङ, घोर्थली, तेम्बाथान, मैदान, च्योज्योडाँडा, पाउगुम्बालगायत एक दर्जनभन्दा बढी हिमाली गाउँका स्थानीयले वर्षौदेखि चौँरीपालन व्यवसायलाई आम्दानीको स्रोत बनाइरहेका छन्। दुई वर्षअघिसम्म जिल्लामा तीनसयभन्दा बढी चौँरी र ५० को संख्यामा याक थिए।
अहिले चौँरीको संख्या आधाभन्दा बढी घटेको छ। मौसममा आएको परिवर्तन र हिमाली भेगका युवा विदेशिन थालेपछि चौँरीपालन सँगै चौँरीको संख्या घटेको हो। बदलिँदो समयपछि यस ठाउँका युवाहरू अहिले चौँरी गोठमा बस्न छोडेका छन्। विकट बस्ती र गाउँमा रोजगार नहुँदा युवा पुस्ताले गाउँमा बसेर यो पेशा गर्न छोडेका छन्। भोटेकोशी नदीबाट ४५ सय मिटर उचाइमा रहेको मार्मिङको चन्द्रकु, गोल्चे र अन्थलीका स्थानीयले ३० गोठ चौँरी पालेका छन्।
मार्मिङको ढुङ्रेखोला, देउढुङ्गा, घोर्थलीको दोलंसा र ठिङ्साङमा ३५ गोठ चौँरी छन्। गुम्बाको तेम्बाथान, भोटेनाम्लाङको च्योज्योडाँडा र मैदानमा ३० भन्दा बढी चौँरी गोठ छन्। फुल्पिङकट्टी र लिस्तीको हिमाली चौँरीखर्कमा २० भन्दा बढी चौँरी गोठ छन्।
आफ्नो आम्दानीको मुख्य स्रोत आलु खेती बनाएका यस भेगका स्थानीयको अर्को स्रोत चौँरीपालन हो। आलु खेतीबाट जीविकोपार्जन गरेका मार्मिङ उच्च भेगका तामाङहरूले चौँरीपालनबाट समेत घर खर्च चलाउने गरेको छन्। जलवायु परिवर्तनले चौँरी धमाधम मर्न थालेपछि त्यस ठाउँका स्थानीय चिन्तामा परेका छन्।
‘बजारमा पाइने औषधिले बिरामी चौँरीलाई निको भएन,’ सिन्दुर्चेमा चौँरी व्यवसाय गर्दै आएका लावाङ शेर्पाले भने, ‘मौसममा आएको परिवर्तनले चौँरीहरू बिरामी परेर मरिरहेका छन्।’ उनीहरूको आम्दानीको मैख्य स्रोत आलुखेति, चौँरी पालन हो। चौँरीहरू बिरामी भएर मर्ने अवस्थामा पुगेका कारण आम्दानी घट्ने भएपछि उनीहरू चिन्तामा छन्।
मार्मिङ ढुङ्रेखोलाकी भक्ती तामाङ भन्छिन्, ‘बजारको अभाव र रोजगारको समस्या भएको यस्तो विकट हिमाली बस्तीमा हामीले आफ्नो जीवन धान्नका लागि चौँरी पालिरहेका छौं, यसपालि चौँरीमा रोग आएपछि आम्दानी होलाजस्तो छैन।’ चिसो र लेकमा बस्ने भएकोले बजारमा पाइने औषधि जति खुवाए पनि चौँरीलाई निको नभएको उनको भनाइ छ। चौँरीमा र्याल काढ्ने, झ्याउरो हुने र नउग्राउने समस्या देखिएको तामाङको भनाइ छ। यस्तो समस्या देखापरेका चौँरीहरूलाई जति उपचार गरेपनि निको नभएको उनले बताइन्।
‘अहिले हामी चौँरी पालेर बस्नेलाई एउटै समस्या आइपरेको छ’, तामाङ भन्छिन्, ‘कसरी निको पारेर बेच्ने भन्ने समस्या परेको छ।’ हिमाली भेगमा बसोबास गरेका स्थानीयले चौँरीपालन गर्न विभिन्न समस्या भएपछि आफूसँग भएको आधाजसो चौँरी दोलखालगायत अन्य बाहिरी जिल्लामा बेचेका छन्। हिमाल डाँडामुनिका खर्कमा पानी सुकेपछि चौँरीलाई विभिन्न रोग लाग्न थालेको चौँरी गोठाला मिङमार तामाङले बताए। चौँरीबाट जन्मिएका तोल्बो, बागेम, याक र लोकल गाईबाट जन्मिएका चौँरी र जोप्क्याक, डेमो चौँरी बढी बिरामी हुने गरेका तामाङ बताउँछन्। ‘कतिपय चौँरी अहिले व्याउँछन् तीनका बाच्छालाई हुर्काउन समेत चिसोका कारण निकै समस्या परेको छ’, तामाङले बताए।
हिउँको चिसो र जाडो मौसममा गोठ रहने तलका खर्कमा पनि पानीको मुहान सुक्दै गएको छ। चौँरी गोठमा बस्ने मानिसले पिउने पानी ल्याउनका लागि एक बिहानभर जस्तो हिँड्नुपर्ने समस्या रहेको देउढुङ्गाकी छेवी तामाङले बताइन्। पानी अभावले चौँरीलाई बिहानबेलुका दाना पानी दिन पनि समस्या रहेको उनले बताइन्। ‘हामीले चौँरीलाई दाना पानी दिदाँ सबैलाई विभिन्न ठाउँमा भएको खोल्सामा सानो खाल्डो खनेर सोही ठाउँमा ढुङ्गाको चारकुने आड बनाएर पानी तताएर दिने गरेको छौं’, उनले भनिन्।
हिमाली गोठका स्थानीय चौँरीलाई दाना लिन बिहानभर हिँडेर बाह्रबिसे, जलबिरे र मेलम्ची आउने गर्छन्। किनमेलका लागि बजार हिँडेको रात बजारमै बित्छ। गोठालाहरू भोलिपल्ट चौँरीका लागि सखर, तोरीको पिना, नुन, पीठो र आफूलाई चाहिने दाल चामलको भारी बोकेर बजारबाट चौँरी खर्क फर्कन्छन्। चिसो र हिउँको ढिस्कोमा टेक्दै भारी बोकेर बजार आएका चौँरीगोठालाहरू साँझपख मात्रै चौँरी गोठ पुग्छन्। चौँरी गोठमा पुरुषको खासै काम हुँदैन।
५६ वर्षीय कुमारी तामाङले भनिन्, ‘हामी महिलाहरू बिहान उठेदेखि चार घण्टा भन्दा बढी समय चौँरी दुहुनमा व्यस्त हुनपर्छ।’ कुमारीका अनुसार महिलाहरूले दूध दुहुने, घ्यू र छुर्पी बनाउने, खाना पकाउने, चौँरीलाई दानापानी दिने, बच्चाको स्याहारसुसार गर्नेजस्ता गोठभित्रका सबै काम गर्नुपर्छ। खाद्य सामग्री जुटाउने, चौँरीलाई रुखबाट खर्सु झार्ने र तयारी अवस्थामा रहेको घ्यू र छुर्पी बेच्न लाने काम पुरुषले गर्छन्। चौँरीबाट अहिले भन्दा बढी कमाइ वर्षामा हुन्छ। त्यो समयमा बढी चौँरी दुहुना हुन्छ। तर अहिले हिउँदमा कमै मात्रामा आम्दानी हुने चौँरी व्यवसायी वाके तामाङ बताउँछन्।
‘अहिले खासै आम्दानी हुँदैन’, उनी भन्छन्, ‘बर्खामा चौँरीले दूध पनि अलि बढी नै दिन्छ, स्याहार पनि कम गरे पुग्छ।’ उनले ६० चौँरी र याक पालेका छन्। आफूले १ वर्षमा ३ लाख बराबरको आम्दानी चौँरी पालन व्यवसायबाट गर्ने गरेको उनी बताउँछन्। चौँरी, याक र भेडाका लागि लेकाली क्षेत्रमा जङ्गलको बीचमा खर्कमा गोठ बनाएर, त्यही घाँस पानी गर्ने प्रचलन छ। वर्षको तीन महिना जाडो समयमा मात्र मानव बस्ती छेउछाउ पुग्ने उनीहरू अधिकांश समय हिमाली खर्कमा बिताउँछन्।
खर्कमा चौँरी र याकसँगै फिरन्ते जीवन बिताउने तेम्बाथनका पासाङ शेर्पाको अनुभवमा हिमाली क्षेत्रमा आएको मौसमी परिवर्तनका कारण यो पेशालाई चुनौतिपूर्ण बनाइदिएको छ। खर्कहरूमा पहिले जस्तो घाँस नपाइने भएका कारण चौँरीलाई घाँस पुर्याउन हम्मेहम्मे पर्छ। ऋण गरेर चौँरी पालेका पासाङ वर्षौँसम्म ऋणमुक्त हुन सक्नुभएको छैन। पाँचपोखरी क्षेत्रको खर्कमा हुर्केर आफ्नो जीवन भेँडा गोठले धानेका लागर्चेका ईन्द्रबहादुर खड्का भने यो पेशाबाट पलायन भएका छन्। छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारी लागि खाडी मुलुक पुगेका छन्। भेडा धमाधम मर्न थालेपछि ईन्द्रबहादुरको पुस्तौँदेखिको आयस्रोतको यो पेशामा पूर्णविराम लागेको छ।
लेकाली भेगका तामाङ र शेर्पा समुदायका नागरिकको मुख्य आम्दानीको स्रोत चौँरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी घिउ तथा भेडाको रौँबाट बन्ने राडीपाखी लगायतका सामाग्री हुन्। पछिल्ला वर्षमा मौसम फेरवदलका कारण घाँसको अभाव, विभिन्न रोगले पशु मर्नुका साथै आफ्नो उत्पादन सस्तोमा किनेर महङ्गोमा बिक्री गर्ने व्यापारीका कारण पुस्तौंदेखि गर्दै आएको यो पेशाप्रति युवा पुस्ताको निराशा बढ्दै गएको पशुपालक किसान दलु लामा तामाङको भनाइ छ।
तर चौँरी, याक र भेडाको संरक्षण गर्न पालिकाले बीमासहितका थुप्रै कार्यक्रम ल्याएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा बताउँछन्। पालिकाको प्रयासका बाबजुद पनि लेकाली खर्कहरूमा अहिले चौँरी गोठ घट्दै गएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)